असार १५ को तमासा : माला लगाएर हिलोमा टेक्दैमा हुन्छ कृषि क्रान्ति ?



१६ असार २०७५, काठमाडौं

सरकारले १५ असारलाई धान दिवसको रूपमा मनाउन थालेयता हरेक वर्ष अनेक प्रकारका तमासा देखिन थालेका छन् । धान दिवस मनाउने क्रममा महिलालाई दुव्र्यवहार गरेको आरोपमा तीन वर्षअघि तत्कालीन कृषिमन्त्री हरि पराजुलीको मन्त्री पद खोसियो ।

हरि पराजुलीकृत्यको अर्को वर्ष हरिबोल गजुरलले अर्को तमासा देखाए, घरभित्र गमलामा धान रोपेर । गमलामा धान रोपेर कृषि क्रान्ति गर्न लागेको भन्दै मन्त्री गजुरेलको चर्को आलोचना भयो । केही समयपछि गजुरेल ‘राहदानी’ नामक नेपाली चलचित्र हेर्ने क्रममा डाँको छाडेर रोएको दृष्यले दृष्यले कृषि मन्त्रीलाई चर्चामा ल्याउने काम गर्‍यो । चलचित्रमा किसानको गाई मरेको दृष्य सम्भिएर गजुरेल रोएको समाचार आएको थियो ।

यस वर्षको धान दिवसमा कृषिमन्त्री चन्द्रप्रकाश खनाल बलदेवको टाउकोमा धान रोपाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । टाउकोमा धानको बिउ राखिएको कुरा पराजुली र गजुरेलको जस्तो विवादमा भने आइसकेको छैन । कतिपय स्थानमा धानको दाइँ गर्ने ठाउँमा बिउको मुठो रोप्ने र ‘मियो पूजा’ गर्ने चलन छ । त्यसक्रममा परिवारका वरिष्ठ सदस्यको टाउकोमा धानको बिउ राख्ने समेत गरिन्छ ।

कृषि पेशाको सम्मान गर्न मन्त्री खनालले टाउकोमा बिउ राखेका हुन् र कृषिलाई शिरोधार्य गरेका हुन् भने यो स्वागतयोग्य कमद हो । जबसम्म कृषि पेशालाई स्वागत गरिँदैन, नेपालको उन्नति र आर्थिक समृद्धि सम्भव छैन ।

तर यसवर्ष पनि अधिकाशं स्थानमा धान दिवसका अवसरमा भएका प्राय कार्यक्रम भड्किला र प्रचारमुखी देखिए । वास्तविक किसानले रासायनिक मल नपाएर धान रोप्न नपाएको र तराईका अधिकाशं जिल्लामा सिँचाइ अभावमा धानको बिउ खेतमा सुकेको समयमा सस्तो प्रचारका लागि रोपाइँ महोत्सव भए । प्रचारका लागि गरिएका कार्यक्रममा धानको बिउको माला लगाइयो, खानपिन र रमाइलो भयो । मानौं धानको बिउको माला लगाएर धान उत्पादन बढ्छ ।

…..

असार १५ कै दिन भक्तपुरमा अर्को तस्वीर सार्वजनिक भयो– पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले हिलोमा खुट्टा हालेको । घाँटीमा माला र खादा लगाएका देउवाले हिलोमा खुट्टा राखेर धान रोपेकोजस्तो अभिनय गरेका छन् । तर चारपटक प्रधामनन्त्री बनेका देउवाको धान रोप्ने शैलीले उनी नेपालको कृषि प्रणालीप्रति कति बेखबर छन् भन्ने दर्शाउँछ ।

देउवाले मुठीभरी बिउ एकै ठाउँमा रोपेका छन् । के धान यसैगरी रोपिन्छ ? देउवाले धान रोप्न नजानेको भन्ने कि नौटंकी भन्ने ? यसले नेपालका नीतिनिर्माता र सरकार सञ्चालन गर्नेहरू किसानका समस्याबाट कति बेखबर छन् भन्ने पनि जनाउँछ ।

कृषि प्रधान भनिए पनि नेपाल अन्य खादान्न बालीजस्तै धानमा आत्मनिर्भर छैन । खाद्यान्नको परनिर्भरता बढ्दै छ । हरेक सरकारले कृषिमा आत्मनिर्भरताको नारा फलाकिरहेका छन् । तर आर्थिक वर्षको अन्तिममा आउने आर्थिक सर्वेक्षणको तथ्याङ्क कहालीलाग्दो देखिन्छ ।

यस्तो किन नहोस्, धानको बिउ त दुईतीनवटा धर्सा पो रोप्छन् । कृषिप्रधान देशको प्रधानमन्त्री बनिसकेको व्यक्ति धान मुठीभरी रोप्छन् ! सायद धानको परनिर्भरता हटाउन धान उत्पादन बढाउनका लागि एकै ठाउँमा बिउको मुठो रोपेको पो हो कि !

…..

पछिल्ला दिनमा धान रोपाइँको चटक हुन थालेको छ । सुकिला कपडा लगाएर हिलोमा टेक्ने र सेल्फी खिच्ने ‘फेसन’ नै चलेको छ । ‘चामल कहाँ फल्छ ? भन्दा बोरामा र दूध कहाँबाट आउँछ ? भन्दा ‘पोकोबाट’ भन्ने पुस्ताहरूले पनि वर्षको एकदिन सेल्फी खिचाउने दिनको रूपमा स्मरण गर्न थालेका छन् । मानौं असार १५ धान दिवस नभई सेल्फी दिवस हो !

धान दिवसको अवसरमा तामझामपूर्ण तमासा भइरहेको समयमा प्रतिमहिना २ अर्बको धान आयात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । राष्ट्रिय उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । कृषि क्षेत्रबाट प्राप्त कुल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान मात्र १२ प्रतिशत छ । तर खेतीयोग्य जमिन खण्डीकरण भई घडेरीमा रूपान्तरण हुनु पर्याप्त सिञ्चित जमिन नहुनु, उन्नत जातका बीउ बिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सही प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरूको भनाइ छ ।

राससमा बिहीवार प्रकाशित एक समाचार अनुसार नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालमा धानको उत्पादन सरदर ५२/५३ लाख मेट्रिकटन रहेको छ । तर गतवर्ष भने यसको उत्पादन ४२ लाख मेट्रिकटनमा मात्र खुम्चन पुग्यो । नेपालीहरू २ छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । हाल प्रतिमहिना २ अर्ब रूपैयाँको चामल आयात हुन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् पकेट, ब्लक, जोन र सुपरजोनमार्फत् क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने र ५ वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने कृषि मन्त्रालयको लक्ष्य छ ।

किसानका समस्या ज्युँकात्युँ छन् । खेती गर्ने समयमा मल पाइँदैन । राज्यको अनुदान व्यापारीसँगको मिलेमोतोमा सरकारी निकायका कर्मचारीले हजम गरेका छन् । किसानलाई गुणस्तरीय बिउ छैन । सिँचाइ अभावमा बोरिङ गरेर धान रोप्छन् । महङ्गा कामदार लगाएर धान रोप्छन्, गोड्छन् र धान काट्छन् । तर धान बेच्ने बेलामा उपयुक्त मूल्य पाउँदैनन् । उनीहरू बिचौलियाले दिएको मूल्यमा धान बेच्न बाध्य छन् । सरकारले समर्थन मूल्य तोक्न सक्दैन ।

यस्तो बेला असार १५ को दिनमा सुकिला लुगा लगाएर धान रोपेको चटकले वास्तविक किसानलाई प्रोत्साहन होइन गिज्याइरहेको आभास हुन्छ ।

सेल्फी खिच्न र प्रचारका लागि गरिने यस्ता सस्ता क्रियाकलाप कृषि क्रान्तिका बाधक हुन् । (साभार : लोकान्तरडटकम)

प्रतिक्रिया दिनुहोस्