पाँच वर्ष पछि एउटा मात्र कम्युनिष्ट पार्टी हुने भट्टराईको दावी



१७ असार २०७५, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताएका छन् ।

प्रेस चौतारी नेपालले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ, अबको पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुनेछ ।’

नेता भट्टाराईले दुई ठूला कम्युनिष्ट पार्टी एक भइसकेकाले अब साना कम्युनिष्ट पार्टीलाई पनि एकताको मूलधारमा ल्याइने बताउँदै समानुपातिकबाट तीन प्रतिशत र प्रत्यक्षबाट एउटा सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनसक्ने संवैधानिक व्यवस्था रहेकाले साना दललाई मिल्नुको विकल्प नरहेको बताएका छन् ।

“अब नेपालको राजनीति वामपन्थी र गैरवामपन्थी कित्तामा विभाजन हुन्छ,” उनले भने, “मुलुकको राजनीति अब सही दिशामा जाँदैछ, स्वस्थ प्रतिस्पर्धा हुन्छ ।” चुनावसँगै ७० वर्षदेखिको राजनीतिक अस्थिरताको अन्त्य भएको उल्लेख गर्दै यो अवस्था अब एक शताब्दीसम्म रहने बताए ।

सरकारले ल्याएको बजेट विकासमुखी भएको बताउँदै उनले सरकारले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको रु एक लाख सम्मको बीमा गर्ने योजना ल्याएको जानकारी दिएका छन् । नेता भट्टराईले सरकार पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने, आर्थिक वृद्धि दर दुई अंकमा पुर्याउने गृहकार्यमा लागेको चर्चागर्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा भारत र चीनसँग समान सम्बन्ध राख्ने बताएका छन् ।

अबको तीन महिनाभित्र केन्द्रदेखि जिल्लासम्म सबै जनवर्गीय संगठनबीच एकता भइसक्ने बताउँदै उनले सातै प्रदेशमा एकता गर्न कार्यदल बनिसकेको छ, तीन महिनाभित्र एकताको काम सकिन्छ, यो वर्षको दशैँ एकताको दशैँका रुपमा मनाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्