तामाङ समाज न्यूयोर्कको अध्यक्षमा सानुमाया तामाङ निर्वाचित



१८ असार २०७५, न्यूयोर्क

तामाङ समाज न्यूयोर्कको अधिवेशनले सानुमाया तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा सामान्य विवाद भएपनि बहुसंख्यक सदस्यहरुले सानुमाया तामाङको समूहलाई छानेपछि विवादकै विच नयाँ कार्यसमिति गठन भएको छ ।

नयाँ कार्यसमिति
अध्यक्ष :
सानुमाया तामाङ
उपाध्यक्ष : ब्रजेश मोक्तान
सचिव : बुद्धिमान तामाङ
सह–सचिव : विनिता तामाङ
कोषाध्यक्ष : फुरु तामाङ

सदस्यहरु :
पुनम थिङ
रेणु वाईबा
छोयोईसाङ तामाङ
विष्णुमाया तामाङ
भक्त तामाङ

संचार संयोजक
मानछिरिङ्ग तामाङ

तमाङ समाजले अमेरिकामा वसोवास गरेका तामाङहरुको भाषा, धर्म, संस्कार, संस्कृति लगायतको क्षेत्रमा विभिन्न लामो समयदेखि काम गर्दै आएको छ ।

नयाँ कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्ती

आदरणीय पत्रकार मित्रहरु,
फ्याफुल्ला, नमस्कार ।
अमेरिकाभरी छरिएर रहेका विभिन्न तामाङ संघ–संस्थाहरुलाई एकीकृत गर्दै समग्र तामाङहरुको उत्थान र विकासको निम्ति अमेरिकाभरी एउटा सशक्त साझा संस्था बनाउने प्रयास अनुरुप विभिन्न राज्यबाट पाल्नु भएका प्रतिनिधिहरुको उपस्थितिबाट गठित तामाङ सोसाइटी अफ नर्थ अमेरिकालाई उक्त सम्मेलनले दिएको निर्देशन मुताबिक तामाङ सोसाइटी अफ न्युयोर्कको गठनको क्रममा सोसाइटीको बिधान बमोजिम अध्यक्ष र सचिव क्रमश गोमा योन्जन र दिपेन्द्र लामा निर्वाचित भई बाँकी नौ जना (२ जना मनोनित हुने बाहेक) को हकमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको कारण ९ जनाको पद क्रमश उपाध्यक्ष, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, सह–सचिव र ५ जना बोर्ड सदस्यहरुको पद रिक्त भइ आएकोमा उक्त पदपूर्ति गर्ने वैधानिक र वैज्ञानिक उपाय पुन–निर्वाचन प्रक्रिया अवलम्बन नगरी उत्तर अमेरिका तामाङ समाज (टि.एस.एन.ए.) का अध्यक्ष लक्यान लामा र तामाङ समाज न्युयोर्क (टि.एस.एन.वाई.) का अध्यक्ष र सचिव लगायत तत्कालिन निर्बाचन प्रमुख निमा पाख्रिनको अबांछित र अवैधानिक हस्तक्षेपबाट उक्त ९ जनाको पदपूर्ति तथाकथित निर्वाचन प्रमुखको आदेश उल्लेख गरी २ जनाको कार्यसमितिको सामान्य बैठकबाट उक्त पदपूर्ति गरिएको बारेमा बहुमत सदस्यहरुले विरोध र आपत्ति जनाउँदा जनाउँदै पनि नेतृत्व पंक्ति समस्या निराकरण गर्ने तर्फ नगई एकलौटी तानाशाही शैलीमा विधानको ठाडो उपहास गरी नौ जनाको पदपूर्ति गर्ने निर्णय लादिएपछि हामी सम्पूर्ण बहुमत सदस्यहरु उक्त अवैधानिक सपथ ग्रहण कार्यक्रमलाई बहिष्कार गरी बाहिरिएका हौँ ।

हाम्रो बहिस्कारपछि संस्थापन पक्षका प्रेस विज्ञप्ति र विभिन्न मिडियामा देखिएको अत्यन्तै निकृष्ट र निन्दनीय भाषामा हाम्रो स्वाभाविक मागप्रति गैर–जिम्मेवार ढंगबाट प्रेसित भएकोमा हामी अत्यन्तै दुखित र मर्माहत भएका छौ । त्यस्तो निकृष्ट शब्दहरु प्रयोग नगर्न नेतृत्व पंक्तिलाई हामी सचेत गराउन चाहन्छौ । हाम्रो उद्देश्य कुनै पद प्राप्ति होइन । कुनै व्यक्तिको नियुक्ति प्रतिको पूर्वाग्रह पनि होइन । सबै हाम्रा दाजुभाई दिदीबहिनी हनुहुन्छ । वहाँहरु प्रति सधै सम्मान छ र रहिरहने छ, हाम्रो विशुद्ध उद्देश्य भनेको संस्थाको हरेक कार्य बिधानबाट निर्देशित होस् भन्ने हो । टि.एस.एन.ए.का अध्यक्ष लामाले भने जस्तो भागबण्डा माग हाम्रो होइन । हाम्रो माग भनेको सबैजनाको सम्मानजनक उपस्थिति र बिधानको अक्षरस पालन गर्नु र गराउनु नै हो ।

प्रजातान्त्रिक पद्धतीको शिरोधार्य गर्ने हामी एक्काईसौं शताब्दीको नागरिक समाजका सदस्य कुनै पनि बहानामा तानाशाही र अवैधानिक निर्णयको साक्षी बन्न सक्दैनौ । हामी साथीहरु त्यस्ता कदमको घोर भत्र्सना गर्दै प्रजातान्त्रिक र सभ्य समाज निर्माणको लागि संस्थापन पक्षको तानाशाही कदमको विरुद्धमा हामी तमाम साथीहरुको उपस्थितिमा निकट भविष्यमा चुनावी प्रक्रियाबाट तामाङ समाज न्युयोर्क गठन गर्ने गरी हाललाई तामाङ समाज न्युयोर्कको तदर्थ समिति गठन गर्न बाध्य भएका छौ । यस तदर्थ समिति गठनको उद्देश्य संस्था बिखन्डन गर्ने नियत कदापि होइन, यसको मूल उद्देश्य भनेको तानशाही प्रवृत्तिको अन्त्य र वैधानिक प्रक्रियाको सम्मानमा सबैलाई सहभागी गराउनु हो । यस तदर्थ समितिको गठनको बाबजुद संस्थापन पक्षसँग समाज र संस्थाको एकताको लागि हाम्रोतर्फ सम्बादको लागि वार्ता समिति समेत गठन गरी सबै सम्भावनाहरु खुला राखेको कुरा यसै प्रेस बिज्ञप्ति मार्फत अपिल गर्न चाहन्छौ ।
समाज र संस्थाको एकताको लागि अवलम्बन गरिएको हम्रो प्रयास, धैर्यता र सहिष्णुतालाई कमजोरी ठानी मेलमिलापमा कुनै बिलम्ब गरे त्यस परस्थितिबाट निस्किने ऐतिहासिक परिणामको जिम्मेवार संस्थापन पक्ष रहने कुरा स्पष्ट पार्न चाहन्छौ । मानव आफैमा त्रुटीरहित हुन सक्दैन, काम गर्ने क्रममा कयौं त्रुटीहरु हुन्छन् र त्यस्ता त्रुटिहरुलाई आत्मा–समिक्षा गरेर अगाडी बढ्न सक्यो भने भोली त्यस्ता त्रुटिहरु दोहोरिन नसकिने हुन्छ । यद्धपी एउटा त्रुटी लुकाउनको निम्ति नेतृत्व पंक्तिले हजार त्रुटिहरु दोहोराउदै आफ्नो सदस्य साथीहरुलाई एक्काइसौं शताब्दीमा गुमराहमा राख्न खोज्ने कुनै पनि तानाशाहको अन्त्य अवस्यम्भाबी छ र यस्तो वर्तमान तानाशाही नेतृत्वको अवैधानिक कार्यको साक्षी नबन्न र नियोजित रुपमा हाम्रो बिरुद्धमा गरिएका प्रचारवाजीको भ्रममा नपर्न सम्पूर्ण न्युयोर्कवासी तथा सम्पूर्ण तामाङहरुलाई हार्दिक अनुरोध गर्दछौ । आत्मासम्मान सहित समाज र संस्थाको एकताको लागि मिल्ने सवालमा हाम्रोतर्फबाट सम्भावनाका सम्पूर्ण ढोकाहरु खुला रहेको पुन: स्मरण गराउन चाहन्छौ ।

भवदीय
सानुमाया तामाङ
अध्यक्ष
तामाङ सोसाइटी अफ न्युयोर्क
मिति: जून ०१, २०१८

प्रतिक्रिया दिनुहोस्