‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुदैछ’



२० असार २०७५, सोल

दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताएका छन् ।

यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उनले बताएका छन् । ह्वाले यसका लागि दक्षिण कोरिया ‘लचिलो’ बन्नु परेपनि तयार छ भनेका छन् ।

सोलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै काङले भने, “शान्ति सम्झौताको मध्यस्थता तथा कार्यान्वयन गर्ने आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढिएको छ, वातावरण निकै सकारात्मक छ ।”

दक्षिण कोरियाली समाचार संस्थाका अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको परामर्श र उत्तर कोरियाली नेतासँगको शिखर बैठकपछि अमेरिकी प्रशासनले पनि १९५०–५३ मा दुई कोरियाबीच भएको युद्धको औपचारिक अन्त्यका लागि सहयोग गर्ने बताएका छन् ।

उनले भने, “हुनत दुवै कोरियाले औपचारिकरुपमा युद्धअन्त्यको घोषणा गरिसकेका छन् तर पनि यो घोषणालाई दिगो बनाउन बाँकी छ र त्यो काम पनि हामी पूरा गर्नेछौँ ।”

राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ तारिखका दिन पहिलो पटक सिङ्गापुरमा शिखर वार्ता भएको थियो । उक्त वार्तापछि उत्तर कोरिया पनि कोरियाली प्रायद्वीपमा दिगो शान्तिका लागि सकारात्मक भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्