२० असार २०७५, काठमाडौं
यो सडकको यात्रा नै जीवनको दुखद क्षण हो जस्तो लाग्न थालेको छ, सडकको अवस्था देख्दा कार्यालय जानै दिक्क लाग्छ, दिनहुँ यात्रा गर्नेलाई त पानी परेको समयमा सडकमा कत्रो खाडल छ भन्ने थाहा हुँदैन, पहिलो पटक यात्रा गर्ने त अलमलमा पर्ने नै भए, यस्तै गुनासो गर्दै थिए हाल माकलबारी बस्दै आएका सिन्धुपाल्चोकका प्रदिप भण्डारी ।
चाबहिल साँखु, जोरपाटी सुन्दरीजल सडकमा दैनिक यात्रा गर्ने थुप्रै यात्रुहरुको गुनासो मोटरसाइकलमा यात्रा गरिरहेका प्रदिप भण्डारीको जस्तै छ ।
१३ किमी लम्बाईको यो सडकलाई यी दुई निकायले ५ खण्डमा विभाजन गरी युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स, बज्रगुरु–च्याङ्मिला–खानी जेभी, बिरुवा कन्ट्रक्सन, बिटी–सुनकोसी–वल्र्डवाइड जेभी, लामा–समानान्तर जेभीलाई छुट्टा–छुट्टै ठेक्का लिएका हुन् ।
विगत ३ वर्षदेखि सुरु भएको सडक विस्तारको काम विभिन्न वहानामा अलपत्र बन्दा यात्रु, स्थानीयवासी व्यापारी, पर्यटकले समेत निकै सास्ती व्यहोर्नु परेको छ ।
घाम लाग्दा धुलाम्य अनि पानी पर्दा हिलाम्य सडकमा कामको सिलसिलामा दैनिक यात्रा गर्न बाध्य यात्रुहरु र सवारी चालक सडकको दुरावस्थाले वाक्क बनेका छन् ।
भद्रबास, आलापोट बस्दै आएका भवानी चौलागाई भन्छन्, ‘सडकको दुरावस्थाका कारण हिलाम्मे हुँदा घण्टौं सवारी जाममा बस्नुपर्छ, बसमा आवतजावत गर्ने म जस्ता यात्रुहरुलाई कार्यालय समयमै नपुगिने होकी भन्ने ठूलो चिन्ता हुने गर्दछ । यस्तै कहिलेकाहीँ लिफ्ट मागेर मोटरसाइकलमा यात्रा गर्दा सडकको हिलोले हालत त खराब हुन्छ नै कार्यालय पुग्दा कपडा फेर्नु न के गर्नु ।
सडकमा परेको खाल्डाखुल्डी, सडक निर्माणका लागि छेउमै थुपारिएका सामाग्री, ढल निमार्णका लागि सडकको छेउ भत्काएर छोड्ने जस्ता विभिन्न कारण सवारी चलाउन निकै गाह्रो हुने गरेको सवारी चालकहरु बताउँछन् ।
२०७२ असोजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको उपत्यका सडक विस्तार आयोजना र शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरणले यो सडकखण्डको चौडाई विस्तार गर्ने जिम्मेवारी लिएका थिए ।
१३ किमी लम्बाईको यो सडकलाई यी दुई निकायले ५ खण्डमा विभाजन गरी युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स, बज्रगुरु–च्याङ्मिला–खानी जेभी, बिरुवा कन्ट्रक्सन, बिटी–सुनकोसी–वल्र्डवाइड जेभी, लामा–समानान्तर जेभीलाई छुट्टा–छुट्टै ठेक्का लिएका हुन् ।
सम्झौता अनुसार यो सडक विस्तारको पहिलो खण्डको काम गत वर्षको पुस र दोस्रो खण्डको काम यही वैशाखमा सम्पन्न भइसक्नुपर्ने थियो । सडक वितारका लागि १ करोड २० लाख खर्च भएसकेको छ तथापी काम भने २० प्रतिशत मात्रै सकिएको छ ।
गोकर्णेश्वर बस्दै आएका स्थानीय पत्रकार निर्मल अर्याल भन्छन्, ‘सडकमा पैदल हिड्नेहरुलाई सवारी साधनले हिलो छ्याप्ने गरेको छ । जताततै हिलो हुँदा बाटोमा गोडा टेक्ने ठाउँ समेत हुँदैन । अधिक मूल्यमा सटर भाडा तिरेर राखिएका पसलको व्यापार चौपट भएको छ ।’ उनी भन्छन्, ‘अर्थोपेडिक, मेडिकल कलेज जस्ता हस्पिटल यहि क्षेत्रमा छन्, विरामी लिएर एम्वुलेन्स ओहोरदोहोर गर्न समेत गाह्रो भएको देखिन्छ । जनतालाई यस्तो सास्ती हुँदा समेत राज्य मौन बसेको देखिन्छ ।’
सडकको दुरावस्थाका विरुद्ध सडकमा सवारी चलाउन कठिन भएपछि समय समयमा सवारी चालकहरुले यसको विरोधमा हड्ताल समेत गरेका छन् । बस चालक श्याम खड्का खाल्डाखुल्डीमा माटो हालेर पुर्ने बाहेक कुनै काम नभएको गुनासो गर्छन् ।
गत वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला चाबहिलदेखि हायातहोटल सम्मको करिब ५ सय मिटर सडक रातारात कालोपत्रे गरिएको थियो । भारतीय प्रधानमन्त्री मोदी हायात होटलमा बस्ने भएकाले त्यहाँसम्म कालेपत्रे गरिएको हो भन्ने त्यति बेलाको बुझाई सत्य सावित भयो ।
विदेशी पाहुना आउँदा रातारात कालोपत्रे गर्न सक्ने राज्य जनताको सास्तीमा मौन किन भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । हायातसँगैको टुसाल चोकबाट जोरपाटी साँखु र जोरपाटी सुन्दरीजलसम्मको सडकको अवस्था देख्दा दिक्क नलाग्ने सायद कमै मात्र होलान् ।
केही समय अघि सडकको दुरावस्था विरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशामा आवद्ध प्रतिनिधि सडकमा उत्रिएका थिए ।
नागरिक दबाब अभियानको नेतृत्वमा जोरपाटी चोकमा आयोजित कार्यक्रममा उनीहरुले वर्षौ अघिदेखि सडक जीर्ण भई लाखौं स्थानीयले चरम दु:ख कष्ट पाउँदा समेत सरोकारवाला निकाय मूकदर्शक बनेको बताएका थिए ।
उक्त अभियानमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, समता मानवअधिकार तथा नागरिक समाज, नवदुर्गा महिला समुह लगायतका संघ संस्थाले एैक्यबद्धता जनाए ।
यस्तै सडकको दुरावस्था विरुद्ध असार १५ गते सडकमा धान रोपी प्रतिकात्मक रुपमा सरकारको विरोध भएको थियो । जतिबेला गृहमन्त्री, रक्षा मन्त्री, मुख्य मन्त्री अन्य मन्त्रीहरु र जननिर्वाचित प्रतिनिधिहरू, विभिन्न दलका नेताहरु धान दिवसको अवसरमा धान रोप्ने कार्यक्रममा सहभागी हुँदै थिए ।
जोरपाटीमा रहेको साहित्यिक संस्था अभिनव साहित्य समाज लगायत अन्य ५ वटा संस्था मिलेर काठमाडौंको बौद्धदेखि जोरपाटी हुँदै साँखुसम्म पुग्ने सडकलाई बेहाल बनाएको भन्दै सडकमा धान रोपी प्रतिकात्मक विरोध गरेका थिए ।
उक्त कार्यक्रममा ५० भन्दा बढी कविहरुले सडकको हिलो, धुलो, धुँवा, जाम लगायत सडकका नराम्रा पक्षका बारेमा कविता वाचन समेत गरेका थिए ।
कालोपत्रे गरिएको सडकमा समेत ढलको उचित व्यवस्था हुन नसक्दा पानी परेको समयमा सडकमा जमेको पानीले जाम हुने, छेउका पसलमा पानी छिर्ने, छेउको घरमा पानी छिर्ने नौलो घटना होइन् । जुन कुरा ठूलो पानी परेको समयमा चावहिल छेउछाउमा प्रष्ट देख्न सकिन्छ । त्यस्तै घाम लाग्दा धुलो उडेर जात्रा हुन्छ ।
टुसाल चोक नजिकै रहेको अटो वर्कशप सञ्चालिका निशाा आचार्य भन्छिन्, ‘धुलोको कारण स्वास्थ्यमा समस्या भएकाले अस्पताल गएर फर्कदै छु । अलिक उता चोकमा जाँदा हिलाम्मे छ यहाँ यस्तो धुलो उडिरहेको छ । कतै हिलो कतै धुलो । यो कुरा मिडियाले जोडदार रुपमा उठाउनु पर्याे, यो अवस्थाले त यहाँ बासै नहुने भयो, मानिसहरु पसलमा आउनै छोडिसके उनले भनिन् ।
चाबहिल साँखु सडक खण्डमा उचित मुआब्जाको माग गर्दै स्थानीयले घर नभत्काउँदा, ठेकेदार कम्पनीले समयमा काम नगर्दा, सडकका पुराना बिजुलीका खम्बा हटाउन ढिलासुस्ती हुनु जस्ता विभिन्न कारणले सडक विस्तारमा ढिलाई भइरहेको छ । सडकमा जमेको पानीमा अन्दाजको भरमा सवारी साधन हाँक्नुपर्दा दुर्घटनाको समेत डर हुने गरेको सवारी चालकहरुको गुनासो रहेको छ ।
सरकारले केही समय अघि तोकिएकै समयमा काम नसक्ने ठेकेदारलाई कार्बाही गर्ने चेतावनी दिए पनि कार्यान्वयन भने हुन सकेको छैन् ।यो कुराले के स्पष्ट हुन्छ भने सरकार भन्दा ठेकेदार बलिया छन् । सम्वन्धित निकाय जनसरोकारको बिषयमा मौन रहँदा जनतामा नैराश्यता उत्पन्न हुनु स्वभाविक नै हो । आम मानिसको चासो बिषयमा सरोकारवालाको ध्यान जानु जरुरी छ ।
सडकको दुरावस्था विरुद्ध आवाज उठाउनेहरुको एउटै प्रश्न सुनिन्छ हामीले यस्तो सास्ती कहिलेसम्म भोग्ने ? साँच्चै टुसाल चोकमा पुगेपछि खाल्डाखुल्डीमा भरिएको पानी हेर्दा लाग्छ यो पनि सडक हो र ?