स्वास्थ्य क्षेत्र सुधारको माग राखी अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञिप्तमा स्वास्थ्योपचार जस्तो आधारभूत मानव अधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील बन्न भनिएको छ ।
साथै तत्काल डा केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी डा केसीको जीवन रक्षा गर्न माग गरिएको छ ।डा. केसी यही असार १६ गतेदेखि जुम्लामा अनशनरत छन् ।
आयोगले डा केसीलाई अनशनस्थलबाट तत्काल स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचारको व्यवस्था गर्न आयोगले यही असार १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्राचारसमेत गरेको छ ।