अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा



२१ असार २०७५, वासिङटन

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बिहीबार बासिङ्टनबाट उत्तर कोरियाको राजधानी प्योंगयांगतर्फ लागेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताका लागि उनी त्यसतर्फ लागेका हुन् । अमेरिकी विदेश मन्त्रालयले सो जानकारी दिएको छ । पोम्पेओ उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि त्यसतर्फ लागेको बताईएको छ ।

अमेरिकी वरिष्ठ कूटनीतिज्ञ पोम्पेओसँग अमेरिकी विदेशमन्त्रालयका अन्य उच्च अधिकारी पनि साथमा रहेको बताइएको छ । अमेरिकी विदेशमन्त्री पोम्पेओ स्थानीय समयानुसार बिहीबार मध्याह्न २ बजे उत्तर कोरियाको राजधानी प्योंगयांग पुग्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत महिना सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो ।

सो समयदेखि नै राष्ट्रपति ट्रम्प उत्तर कोरियाकोतर्फबाट बारम्बार आउने गरेको आणविक युद्धको चेतावनीको अन्त्य भएको बताइएको छ ।
त्यस वार्तापछि उत्तर कोरियाली प्रायःद्वीपमा शान्तिको आशा बढेको विश्वास गरिएको बताइन्छ ।

यस वार्ताकाक्रममा उत्तर कोरियाले प्रतिबद्धता व्यक्त गरेको पूर्णनिशस्त्रीकरणका लागि उत्तर कोरियाले काम शुरु गरिसकेको पनि उसको दाबी छ ।
सिङ्गापुरमा दुई नेताबीच भएको शिखर वार्तापछि सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको थियो ।

सोही सम्झौतापत्रअनुरुप कोरियाली प्रायःद्वीपमा पूर्णनिशस्त्रीकरणको उद्देश्य प्राप्त गर्नको लागि अमेरिकी विदेशमन्त्रीको नेतृत्वमा उच्च अधिकारी त्यसतर्फ लागेको हो ।
वासिङ्टनले कोरियाली प्रायःद्वीपमा पूर्णनिशस्त्रीकरणको काम बढीमा एक वर्षभित्र पूराहुने आशा गरेको पनि बताउने गरेको छ ।

तर कैयौँ अमेरिकी विज्ञ, उत्तर कोरियालाई नजिकबाट हेरिरहेका केही अधिकारी र राष्ट्रपति ट्रम्पका आलोचकले भने किमले गरेको बाचामा कुनै वजन नरहेको आरोप लगाउने गरेका छन् ।

कोरियाली प्रायःद्वीपमा पूर्णनिशस्त्रीकरणको उद्देश्य पूराहुन कैयौँ वर्ष लाग्ने उनीहरुले बताउँदै आएका छन् ।

राजधानी प्योंगयांगमा शुक्रबार बिहान कोरियाली प्रायःद्वीपमा पूर्णनिशस्त्रीकरणको विषयमा विदेशमन्त्री पोम्पेओ र उनका उत्तर कोरियाली समकक्षीबीच वार्ता हुने कार्यक्रम छ ।

त्यसपछि विदेशमन्त्री पोम्पेओ जापान र दक्षिण कोरिया पनि जाने कार्यक्रम रहेको छ । उनले जापान र दक्षिण कोरियाली आफ्ना समकक्षीसँग पनि यसै विषयमा भेटवार्ता गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्