२२ असार २०७५, काठमाडौं
सस्तोमा गुरस्तरीय शिक्षा दिदै आएको बूढानीलकण्ठ नगरपालिका भरिकै उत्कृष्ट सामुदायिक विद्यालय मध्येको एक बालउद्धार स्कूलले +२ अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा धमाधम भर्ना लिईरहेको छ ।
आर्थिक रुपमा कमजोर स्थितिका विद्यार्थीहरुको मात्र छनोट रहेको बालउद्धारमा नयाँ प्र.अ.को आगमनसँगै विद्यालयको व्यवस्थापनमा गुणात्मक परिवर्तन आएको र शैक्षिक व्यवस्थापनमा सफल/ योग्य विनोद पण्डितको कामबाट प्रभावित विद्यालयका शिक्षक शिक्षिकाहरुले सहि व्यक्ति उपयुक्त पदमा पुगेको (Right Person in Right Place) भन्न थालेका छन् । प्र.अ. पण्डित भने अर्को वर्षदेखि प्रवेश परीक्षामा पास हुने विद्यार्थीहरुलाई मात्र भर्ना लिने योजनाका साथ शैक्षिक गुणस्तरमा लागेको बताए । तपाईकोको दावीको आधार के हो ? भन्ने हाम्रो प्रश्नमा भौतिक पूर्वाधार, योग्य र तालिम प्राप्त शिक्षक/शिक्षिका, सक्रिय तथा उद्देश्य प्रेरित विद्यालय व्यवस्थापन नै आधार भएको उनको जवाफ थियो । हामी अझ उच्च मनोबलका साथ समर्पित भएर पढाउने र व्यवस्थापन गर्ने विषयमा लागेका छौं। उनले अझ जोड दिदै भने,”बालउद्धार स्कूलमा आगामी वर्षको नतिजा निजी विद्यालयको भन्दा राम्रो आउनेछ।”
आफैँमा योग्य र दुरादृष्टि भएका विनोद सरले नेतृत्व लिएपछि शिक्षक व्यवस्थापनमा निकै सुधार आएको, आन्तरिक प्रशासनमा आमूल परिवर्तन भएको र हाजिर गरेर दिनभरी हराउने अनि फेरी विद्यालय छुट्ने बेलामा हाजिर गर्न आईपुग्ने शिक्षक प्रवृति अन्त्य हुँदै शिक्षा गुणस्तरको बाटोमा लागेको सहायक प्र. अ. राजन रेग्मीले बताए ।
हुनपनि निजी विद्यालयको तुलनामा सरकारी विद्यालयका शिक्षक/शिक्षिकाको शैक्षिक योग्यता, अनुभव, तालिम र विद्यालयको भौतिक पूर्वाधार लोभलाग्दो देखिन्छ । सरकारी विद्यालयका शिक्षक/शिक्षिकालाई सामान्य निजी विद्यालयको तुलनामा ३ गुणा वढी सेवासुविधा छ। त्यति मात्र हैन उनीहरुको जागिरको ग्यारेन्टी छ र जागिरपछि पेन्सनको समेत ग्यारेन्टी छ । तर राजनीति गर्ने शिक्षकहरु, प्र. अ. नियुक्ति र विद्यालय व्यवस्थापन समितिको छनोटमा हुने अत्याधिक राजनीतिले सरकारी विद्यालयको स्तर सरकारले गरेको लगानीको प्रतिफल शून्य जस्तै देखिन्छ । किनभने शिक्षकहरु गुरु भन्दापनि पार्टीका कार्यकर्ता बन्न रुचाउने परिपाटी हावी देखिन्छ।
अर्को ठूलो समस्या भनेको सरकारी विद्यालयमा पढाउने शिक्षकहरुले संचालन गर्ने निजी विद्यालय हो । सरकारी विद्यालयमा राम्रो तलब खाने। सकेसम्म नपढाउने, पढाउनै परेपनि १ पिरियडसम्म पढाएर आफ्नो निजी विद्यालयको लागि सबै समय विताउने प्रवृति धेरै विद्यालयहरुमा देखिन्छ । अझ विद्यालयको प्रधानाध्यापकले नै निजी विद्यालय संचालन गरे सरकारी विद्यालयको हालत के होला ? हामी सजिलै अनुमान गर्न सक्छौं ।
काठमाडौं उपत्यकामा नै सयौँ सरकारी विद्यालयले यो पिडा भोग्दै आएका छन् । यसको अपवाद बन्न सकेन – बालउद्धार मा.वि. पनि । १० वर्ष भन्दा लामो समय बालउद्धार स्कुलमै प्र.अ. भएका पूर्व प्र.अ. ले नै विद्यालयबाट करिब ५०० मिटरमा भित्रै निजी विद्यालय संचालन गरिरहेका छन् । यसको प्रत्यक्ष असर बालउद्धारको शैक्षिक गुणस्तरमा पर्यो। पढाउने शिक्षक/शिक्षिकाहरु पढाएको पढाई गर्ने र नपढाउने शिक्षक/शिक्षिकाहरु हाजिर गरेरै विद्यालयमा बसिरहने वा आफ्नो व्यवसाय चलाउने गर्थे ।
सरकारी शिक्षण पेशालाई विना लगानीको दुहुनु गाई बनाएरै लाखौंलाख गरिव बालवालिकाको भविष्य अन्धकार बनाउने देशै भरिका शैक्षिक भ्रष्टहरुलाई नियन्त्रण गरी सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने तर्फ स्थानीय सरकारले योजनावद्ध रुपमा काम गर्न ढिला भै सकेको छ ।