तीन विश्वविजेताको भिडन्त आज : खेलले फाइनलको झल्को दिने पक्का



२२ असार २०७५, काठमाडौं

रसियामा जारी विश्वकपमा क्वार्टरफाइनलका खेल आज शुक्रवारबाट शुरु हुँदैछ । शुक्रबार हुने दुवै क्वार्टरफाइनल खेल्ने टोलीको इतिहासलाई हेर्दा आजको खेलले फाइनलकै झल्को दिने पक्का छ ।

आज साँझ निझ्नी नोभगोरोद रंगशालामा हुने पहिलो क्वार्टरफाइनलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने हुँदैछन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । काजन रंगशालामा शुक्रबार राति हुने दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले पछिल्लो समय उच्च लयमा देखिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ ।

जारी विश्वकपमा बाँकी रहेका चारमध्ये तीन पूर्वविजेता शुक्रबार नै मैदानमा ओर्लंदै छन् । उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० को विश्वविजेता टोली हो । भने फ्रान्स १९९८ को विश्वकप विश्व विजेता हो । १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको हो । यसैगरी सधैं उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिसम्म पुग्न नसके पनि बेल्जियमले यसपटक सफलता चुम्ने हरसम्भव प्रयासमा रहेको छ ।

पक्कै पनि विश्वभरका करोडौं फुटबल पारखीका लागि यी खेलले छुट्टै आनन्द दिनेछन् । शुक्रबार यी चार टोलीबीच हुने दुई क्वार्टरफाइनल प्रतिस्पर्धा कुनै दृष्टिकोणबाट फाइनलभन्दा कम हुने छैनन् बरु फाइनलभन्दा पनि रोचक नै हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्