योगमायालाई राष्ट्रिय विभूति बनाउने अभियानमा मेरो तर्फबाट सक्दो सहयोग हुनेछ: प्रचण्ड



२२ असार २०७५, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विधुषी योगमायालाई राष्ट्रिय विभूति बनाउने प्रक्रियामा आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताएका छन्।

आज राजधानीको राष्ट्रिय सभा गृहमा योगमाया सामाजिक आन्दोलन अभियान समितिले गरेको योगमाया सामाजिक आन्दोलन सतवार्षिकी तथा ७८ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन्।

योगमाया एउटा ऐतिहासिक विरंजना जसले सामाजिक जागरण र रुपान्तरणको निम्ति विलक्षण प्रतिभा सहित योगदान ,संघर्ष र बलिदान गर्ने योगमाया जस्तो व्यक्तिलाई सम्मान गर्दै उनको योगदानलाई अझ धेरै राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा स्थापित गर्ने अनि त्यसबाट शिक्षा र प्रेरणा लिदै अगाडी बढ्ने कार्य गरेकोमा आयोजकलाई प्रचण्डले विशेष धन्यवाद समेत दिए।

यतिबेला हामी जुन मोडमा आइपुगेका छौ त्यसमा योगमायाको योगदान र बलिदानको खेर नगएको बताउदै प्रचण्डले भने आजको दिनमा हामि बढो गर्वको साथ राष्ट्रको नीति निर्माण गर्ने तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व छन भन्न सक्ने अवस्थामा छौ । त्यतिबेला योगमायाको योगदान हुदैन थियो भने अहिले यो ठाउमा नेपाल आउदैन थियो भन्दै योगमायाले गरेको कार्यको खुलेर प्रशंशा गरे।

कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित प्रदेश १ का मुख्यमन्त्री सेरधन राईले संघिय सरकारले योगमायाको सम्मानमा योगमाया आयुर्वेदिक विश्व विद्यालय स्थापना गर्ने निर्णय गरेर सारै राम्रो कार्यको थालनी गरेको बताए। प्रदेश सरकारले पनि योगमायाले तपस्या गरेको स्थल भोजपुर जिल्लाको नेपाले डाँडा स्थित मझुवाबेसिमा विकासको निम्ति केही रकम छुट्टाएको मुख्यमन्त्री राईले जानकारी गराए।

योगमाया सामाजिक आन्दोलन अभियान समितिको संयोजक जयन्ती राईको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा योगमाया फाउन्डेसन नेपाल, योगमाया शक्तिपीठ तपोभूमि विकास तथा व्यवस्थापन सस्था, योगमाया स्मृति प्रतिष्ठान लगायतका केहि सस्थाहरुलाई सम्मानित गरिएको छ। त्यसैगरी योगमायाको बारेमा विद्यावारिधि गर्ने डा. दिपेश न्यौपाने , योगमाया उपन्यासकी लेखिका निलम कार्की निहारिका, प्रा. डा. गोविन्दमान सिं कार्की लगायतका ब्याक्तिहरुलाई पनि सम्मानित गरिएको छ।

कार्यक्रममा योगमाया विषयमा विद्यावारिधि गर्ने डा. दिपेश न्यौपानेद्वारा लिखित पुस्तक अमर ज्योति योगमायाको पनि विमोचन गरिएको थियो।

कार्यक्रममा उपस्थितहरुले हाल भरिभराउ थियो भने ढिलाई भए पनि योगमायाको खोजि र सम्मान हुन थालेकोमा खुसि लागेको अधिकांसको भनाई छ।

प्रतिक्रिया दिनुहोस्