अप्रत्याशित बन्दै विश्वकप २०१८



२१ असार २०७५, काठमाडौं

यति छिट्टै घर फर्कनुपर्ने र कमजोर भनिएका टोलीले दमदार प्रदर्शन गर्नेछन् भन्ने सायदै सोचेका थिएनन् दाबेदार राष्ट्रहरुले । साथै खेलाडी, खेलप्रेमी र खेल विश्लेषकहरुले पनि ।

प्रसंग हो ! रसियामा जारी विश्वपको २१ औँ संस्करणमा निस्किएको अप्रत्याशित नतिजा ।

अघिल्ला संस्करणमा कमजोर प्रदर्शन गरेका र विश्वकपमा डेब्यू टोलीको प्रदर्शनबाट विश्व विजेता टोली समुह चरणबाटै घर फर्कन विवश भए ।

जुन नजिताले विश्वकपका विश्लेषकहरुको विश्लेषण असफल सावित भयो । आफूले समर्थन गरेको टोली छिट्टै बाहिरिँदा समर्थकमा एक खालको नैराश्यता उत्पन्न भयो ।

चार पटकको विश्व विजेता जर्मनी आफ्नो पहिलो खेलमा मेक्सिकोसँग १-० र तेस्रो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियासँग २–० ले पराजित हुँदै समूह चरणबाटै घर फर्कनु अप्रत्याशित नजिता बन्यो ।

प्रतियोगिताको प्रि–क्वार्टर फाइनल खेल सकिँदासम्म घर फर्कने टोलीको सूचीमा तीनवटा पूर्वविजेताको नाम थपिइसकेको छ ।

प्रि–क्वार्टर फाइनलमा फ्रान्ससँग ४-३ गोलले पराजित हुँदै लियोनल मेसीको अर्जेन्टिनी टोली र आयोजक रसियासँग पेनाल्टी सुटआउटमा पराजित स्पेन पनि जर्मनीकै बाटोमा लागेका छन् ।

यस्तै अनुभवी खेलाडी लुइस स्वारेजको भरमा विश्वकप यात्रामा निस्किएको उरुग्वेले क्रिस्टियानो रोनाल्डोको युरोकप विजेता पोर्चुगललाई घरको यात्रा तय गरिदियो । यी सबै अप्रत्याशित नजिता बन्यो जारी विश्वकपको ।

यससँगै क्वाटर फाइनलमा उरुग्वे, फ्रान्स, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड, स्वीडेन, आयोजक रसिया र क्रोएसिया प्रवेश गरेका छन् ।

प्रि–क्वाटरको समाप्तिपछि अब चारवटा पूर्वविश्व विजेता फ्रान्स, उरुग्वे, ब्राजिल र इङ्ल्यान्ड उपाधि होडमा रहेका छन् ।

क्वार्टर फाइनलमा फ्रान्सले उरुग्वेको सामना गर्नुपर्ने भएकाले एउटा पूर्वविजेता सोही चरणबाट बाहिरिने निश्चित छ ।

पाँच पटकको उपाधि विजेता ब्राजिलको यात्रा पनि त्यति सहज छैन किनकी विश्वकप २०१८ को दावेदार मानिएको वलियो टोली वेल्जियमको सामना गर्नुपर्नेछ ।

जारी विश्वकपबाट  केही खेलाडीे उदय हुने देखिएको छ भने केही खेलाडीले अन्तराष्ट्रिय खेलबाट नै सन्यास लिएका छन् । फ्रान्सका १९ वर्षीय केलियन एमबाप्पे र २० वर्षीय ओसमान डेम्बेल, इङ्ल्यान्डका २२ वर्षीय डेल अली र २१ वर्षीय मार्कुस रासफोर्ड र ब्राजिलका २१ वर्षीय ग्याब्रियल जिससले उदाउने संकेत गरेका छन् ।

त्यस्तै अर्जेन्टिना उपाधि होडबाट बाहिरिएलगत्तै ३४ वर्षीय डिफेन्डर जाभियर मास्चेरानोले अन्तराष्ट्रिय खेलबाट सन्यासको घोषणा गरे । यस्तै स्पेनलाई विश्वकप र युरोकपको उपाधि जिताउने ३४ वर्षीय मिडफिल्डर आन्द्रेस इनिएष्टाले पनि आफ्नो टोली बाहिरिएसँगै  अन्तराष्ट्रिय खेल नखेल्ने बताइसकेका छन् ।

विश्वकपमा आजबाट क्वाटर फाइनलका खेलहरु सुरु हुँदैछन् । जसमध्ये उरुग्वे विरुद्ध फ्रान्स साँझ पौने ८ बजे र ब्राजिल विरुद्ध बेल्जियम राति पौने १२ बजे भिड्दैछन् । आजको खेल धेरैको प्रतिक्षाको बिषय बनेको छ ।

विश्वकपको अबको यात्रा कता जाने हो भन्ने कुरामा विश्लेषण शुरु हुन थालिसकेको छ । कतिपय नयाँले अवसर पाउने बताउन थालेका छन् भने कतिपयले पुरानै विजेतालाई विश्वकपको दावेदार मान्न थालेका छन् । विश्वकप कसको हातमा पर्ने हो भन्ने कुराले धेरैको ध्यान तान्ने नै भयो ।

हालै मात्र अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले  विश्वकपको उपाधि ब्राजिलले जित्ने भविष्यवाणी गरेका छन् ।

उनले विश्वकपमा ब्राजिलले गरिरहेका प्रदर्शन हेर्दा उपाधि जित्ने सम्भावना धेरै रहेको बताएका हुन् । ‘म यो विश्वकपको मजा लिइरहेको छु । मलाई लाग्छ ब्राजिल निकै बलियो छ र उनीहरु उपाधिको यात्रामा छन् ।’

नेपालका केही खेल विश्लेषकहरुले पनि यस पटकको खेल हेर्दा ब्राजिलले उपाधी उचाल्ने सम्भावना प्रवल रहेको बताउन थालेका छन् । अन्य टोली पनि बलिया छन् भन्ने कुरामा भने दुइमत छैन् ।

अब के हुन्छ भन्ने कुरा खेलको नतिजाले पनि देखाउने नै छ । सम्झना रहोस जारी विश्वकपमा अप्रत्याशित नतिजा निस्किएकै हो ।

प्रतिक्रिया दिनुहोस्