अमेरिकी दूतावासको सहयोगमा नेपालकै पहिलो सार्वजनिक नीति कार्यक्रमको स्थापना



२४ असार २०७५, काठमाडौँ

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) मार्फत काठमाडौं विश्‍वविद्यालयसँगको सहकार्यमा नेपालकै पहिलो सार्वजनिक नीति कार्यक्रमको स्थापना भएको छ । अमेरिकी दूतावासको विशेष सहयोगमा उक्त सार्वजनिक नीति कार्यक्रमको स्थापना भएको हो ।

कार्यक्रमको औपचारिक उद्‌घाटनमा अमेरिकी राजदूत टेपलेट्जले, प्रतिनिधिसभा सदस्य गगनकुमार थापा, अर्थशास्त्री डा. स्वर्णिम वाग्लेका साथै अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो । विद्यार्थी, शोधकर्ता, नीतिनिर्माता र निजी क्षेत्रका सरोकारवालाहरूलाई सहकार्यमार्फत शिक्षा दिने गरी तय गरिएका सार्वजनिक नीतिसम्बन्धी कोर्सहरू उक्त कार्यक्रममा समावेश गरिएका छन्।

भविष्यमा नेपालको विकासमा सकारात्मक योगदान पुर्‍याउने जिम्मेवार नागरिक र नयाँ नेतृत्वपङ्‌क्ति तयार पार्नु नै अफ्नो प्रमुख लक्ष्य भएको दूतावासले बताएको छ। उक्त कार्यक्रमले कर्मचारीतन्त्र, गैरसरकारी संस्था र निजी क्षेत्रलाई अन्तरक्रिया गर्न, परिचित बन्न र आफ्नो पेशाबाहिरका विज्ञहरूका सुझावलाई अझै राम्ररी बुझ्नका लागि स्थान सिर्जना गर्न सहज हुने पनि दूतावासले जानकारी गरायो।

आगामी केही वर्षमै सार्वजनिक नीतिसम्बन्धी अध्ययन पूरा गर्ने नेपालकै पहिला विद्यार्थीहरूलाई बधाई दिन पनि दूतावास उत्सुक रहेको दूतावासले बताएको छ।

प्रतिक्रिया दिनुहोस्