२४ असार २०७५,काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा सीप र उत्पादनमा आधारित प्राविधिक शिक्षा हुने बताएका छन् ।
मन्त्री गिरिराजमणि पोखरेलले एक कार्यक्रमकाबीच नेपालको शिक्षालाई विश्व शिक्षासँग जोड्न पनि प्राविधिक र व्यावहारिक शिक्षा आवश्यक रहेको बताए ।
मन्त्री पोखरेलले प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्लाई पुनर्गठन गर्ने तयारी गरिएको जानकारी दिए ।
सरकारले विद्यार्थी भर्ना अभियानअन्तर्गत आज देशभर ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको छ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आज जागरण अभियान सञ्चालन गरिएको हो ।
प्रभातफेरीमा शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, निजी प्राविधिक शिक्षालय महासंघलगायत प्राविधिक शिक्षासँग सरोकारवाला संस्था तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।