लुसाकामा नेपालको पर्यटन प्रबर्द्धनको लागि कार्यक्रम आयोजना



२६ असार २०७५, जाम्बिया

१ जुन २०१८ का दिन गैरआवासीय नेपाली संघ जाम्बियाले नेपाली दूतावास दक्षिण अफ्रिकाको सहयोगमा, मुलूंगुशी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुशाका, जाम्बियामा हालै नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धी एक बिशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा जाम्बिया विश्वविद्यालय, संयुक्त राष्ट्र एजेन्सीहरू, आईएलओ, युएनएड्स जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू र स्थानीय उद्यमी, वकील र संचारकर्मीहरुको प्रतिनिधित्व थियो ।

यस कार्यक्रममा जाम्बियाको परराष्ट्र मन्त्रालयको राजनैतिक र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक, विश्वविद्यालयका डेपुटी भाइस चांसलर र डीन, संयुक्त राष्ट्र संघ संस्थाका निर्देशक, प्रतिष्ठित ब्याक्तिहरु र जाम्बियामा रहेका नेपालीहरूको सहभागीता रहेको थियो । नेपालको राष्ट्रियगान गीतबाट सुरु भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्बियाका अध्यक्ष प्रोफेसर बिशाल नाथ उप्रेतीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अतिथिहरुलाई स्वागत गरेका थिए । आफ्नो स्वागत भाषणमा प्रोफेसर उप्रेतीले एनआरएनएको संक्षिप्त परिचय दिनुको साथै नेपालका गौरवपूर्ण इतिहास र संस्कृति र राजनीतिक घटना क्रमको बारे उजागर गर्दै नेपाल र जाम्बिया बीचको सुमधुर कूटनीतिक सम्बन्ध विकास र दुई देशबीचको वर्तमान उच्चस्तरी को सम्बन्धको विकासको संभावना पेश गरे ।

नेपालमा रहेको अद्वितीय पर्यटकीय आकर्षणका बारेमा प्रोफेसर उप्रेतीले उल्लेख गर्दै, उपस्थित पहुनाहरुलाई नेपाल आउन प्रोत्साहन गरे । उनले जाम्बियन सहभागीहरु विशेष गरी सरकारी प्रतिनिधिहरूलाई पर्यटकीय विकासका क्षेत्रहरुमा नेपालसँग एकसाथ काम गर्न सकिने सम्भावनाहरुबारे पनि उल्लेख गरे । नेपाल पर्यटन सम्बन्धी स्वागत भिडियोको एक प्रस्तुतीकरण पछि नेपालका प्रमुख पर्यटकीय स्थलहरूको झलकहरु आईएलओमा काम गर्ने नेपाली नागरिक श्री गुंजन डल्लाकोटिद्वारा प्रस्तुत गरेका थिए । युएनएड्स जाम्बियामा कार्यरत र एनआरएनए जाम्बियाका सल्लाहकार डा. नर्मदा आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । उनले सहभागीहरुलाई भूकम्पपछिको देशको पुनर्निर्माण कार्यमा पनि नेपाललाई सहयोग पुर्याउन अपील गरे ।

अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले बिगतका आफ्ना नेपालको भ्रमण बारेमा आफ्ना विचारहरु र अनुभवहरु आदान प्रदान गरेका थिए । सहभागीहरूले नेपालका बारे आफ्ना प्रश्नहरू / जिज्ञासाहरू पनि राखे जुन नेपाली सदस्यहरूबाट सम्बोधन गरिएको थियो। अंतत नेपालको प्राकृतिक सुन्दरताको आकर्षण, विभिन्न सांस्कृतिक र भौतिक वातावरणहरु, हिमालयको हिउचुली, विश्वको छत सगरमाथा, भगवान बुद्धको जन्मस्थान, गोर्खाली वीरताको इतिहास, विशिष्टता सहितको झण्डा, पौराणिक र सुन्दरताको भूमि आदि छलफलका मुख्य विषयहरू थिए । युएनएचसीआर जाम्बियामा कार्यरत र एनसीसी-जाम्बियाका सल्लाहकार श्री केशव श्रेष्ठले, “नेपालका जीवित देवी – कुमारी” को कथाको बारेमा व्याख्या गरे । कार्यक्रममा जाम्बिया राजस्व प्राधिकरणको एक अधिकारी (जसले नेपाल भ्रमण गरेका थिए) ले आफ्नो अनुभव सुनाउनुका साथै नेपालमा अत्याधिक प्रभावकारी राजस्व संकलन व्यवस्था लागू गरिएको र कर फिर्ता दाखिल गर्न निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्योग बाणिज्य महासंघको भूमिका र सहयोगको प्रशंसा गरे ।

अन्तमा, एनसीसी जाम्बियाका संस्थापक अध्यक्ष बिदुर खनालले उपस्थित अतिथिहरुलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरे । उनले यस महत्त्वपूर्ण कार्यक्रमको आयोजनका लागि नेपाली राजदुतावास प्रिटोरिया, दक्षिण अफ्रिकालाई आफ्नो कृतज्ञता व्यक्त गरे । उनले जाम्बियाका एक मात्र नेपाली उद्यमी श्री रोशन थापालाई उदार वित्तीय योगदानका लागि धन्यवाद दिए । साथै कार्यक्रम सफल बनाउन मद्दत गर्ने समस्त जाम्बियावासी नेपालीहरुको योगदानको प्रशंसा गर्दै, कृतज्ञता ब्यक्त गरे । कार्यक्रमको अन्तमा रात्रिभोजको आयोजना गरिएको थियो । सहभागीहरूले रात्रिभोजका बखत अनौपचारिक छलफल र विचारहरू आदान-प्रदान गरेका थिए । नेपाल र नेपाली जनताको बारेमा थप ज्ञान, तथा नेपाल र जाम्बिया बिच पर्यटनको संभावना बारे थाहा पाउँदा खुसी ब्यक्त गरेका थिए ।

अतिथिहरुद्वारा कार्यक्रमको सराहना गर्नुको साथै नेपाल र नेपाली जनताको बारेमा यस कार्यक्रम मार्फत धेरै जान्ने मौका पाउँदा खुशी थिए । सारांशमा, नेपालको परिचय, नेपालको पर्यटन प्रबर्द्धन गर्नका लागि आयोजना गरिएको यस कार्यक्रम अत्यन्त सफलतासाथ सम्पन्नभएको थियो ।

प्रतिक्रिया दिनुहोस्