सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह



२८ असार २०७५, ब्रसेल्स

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गरेका छन् ।

उनले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि चार प्रतिशतसम्म सुरक्षा खर्चमा बृद्धि गर्न आग्रह गरेका हुन् ।

ब्रसेल्समा मङ्गलबारदेखि नेटो गठबन्धन राष्ट्रहरुको बैठक जारी रहेको छ । सोही क्रममा उनले अहिले रकममा भारी मात्रामा बृद्धि गरेर यो रकम छुट्याउन आह्वान गरेको ब्रसेल्सबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

हाल हरेक देशले आफ्नो देशको कुल ग्राहस्थ्य उत्पादनको करिब २ प्रतिशत मात्र बजेट छुट्याउने गरेका छन् । यसमा अहिलेको लक्षित बजेटको दोब्बर बनाउन राष्ट्रपति ट्रम्पले आह्वान गरेको प्राप्त समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाका क्षेत्रमा अरु देशहरुको तुलनामा जर्मनीले भने कममात्र बजेट खर्च गर्ने गरेको भन्दै जर्मनीको आलोचना पनि गरेको बताइएको छ ।

नेटोका सदस्य राष्ट्रहरूले भने हालको दुई प्रतिशतको लक्ष्य पूरा गर्नेमा नै उनीहरूको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए ।

त्यसैगरी नेटोका महासचिव जेन्स स्टोलटनबर्गले भने अहिलेको लक्षित दुई प्रतिशतको लक्ष्यलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिएको सो समाचारमा जनाइएको छ ।

नेटो बैठकमा उठेको रक्षा क्षेत्रको बजेट रकम बृद्धिसम्बन्धी पत्रकारहरूको प्रश्नको जवाफमा उनले दुई प्रतिशतको लक्ष्य नै भेट्न नसकिएको अवस्थामा हालका लागि सो दिशातर्फ केन्द्रित हुनु नै राम्रो हो भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्