गृहमन्त्री बादल र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता



२९ असार २०७५, काठमाडौँ

गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरेका थिए ।

उनले देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गरेका थिए ।

गृहमन्त्री थापाले उत्तर कोरियाले गार्मेन्टलगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरिरहेको आफूले सुनेको भन्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्राउन आफूहरु इच्छुृक रहेको बताए ।

राजदूत हकले नेपाल र उत्तर कोरियाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।

उनले नेपालमा रोजगारीका लागि आउने कोरियाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटिलो हुँदा समस्या रहेको बताएका थिए ।  जवाफमा गृहमन्त्री थापाले, “सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चालिने बताए”।

राजदूत हकले गृहमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गइरहेको आफूहरुकोे राष्ट्रिय दिवसमा उत्तर कोरिया भ्रमणका लागि गृहमन्त्री थापालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्