३२ असार २०७५, काठमाडौं
पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ ।
९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर ‘सहमति’ जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यले बताए ।
विगतमा एमालेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइन्थ्यो । पार्टी एकतापछि केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाउने व्यवस्था विधानमा गरिएको उच्च स्रोतले बतायो ।
‘केन्द्रीय सदस्यलाई २ वटा स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिने व्यवस्था विधानमा गरिएको छ’, स्रोतले भन्यो ।
केन्द्रीय सदस्यको संख्या ४ सय ४१ बनाइएपछि सबै केन्द्रीय सदस्यलाई भूगोलको जिम्मा दिन स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिने तयारी गरिएको नेताहरूले बताएका छन् ।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।