विश्वकपको उपाधि फ्रान्सलाई



३२ असार २०७५, काठमाडौं

रसियामा भएको विश्वकप फाइनलमा आइतबार राति शानदार जित हात पार्दै २२ वर्ष पछि दोस्रो पटक फ्रान्स फिफा विश्वकपको उपाधि जित्न सफल भएको छ । लुझनिकी स्टेडियममा सम्पन्न फाइनल भिडन्तमा पहिलो हाफमा २ गोल गरेको फ्रान्सले दोस्रो हाफमा २ गोल थप्दै ४–२ को जितसहित दोस्रो पटक उपाधि उचालेको हो । फ्रान्सले यसअघि सन् १९९८ मा पहिलो पटक विश्वकप उचालेको थियो भने इतिहासमै पहिलो पटक क्रोएसिया फाइनलमा पुगेको थियो ।

१८ औं मिनटमा ग्रिजमनले प्रहार गरेको फ्रिकिक क्रोएशियाका मारियो मान्डुकिचको आत्मघाती गोलबाट फ्रान्सले शुरुवाती अग्रता लिन पुगेको थियो ।त्यसको १० मिनेट पछि डामागोज विडाको पासमा इभान पेरिसिकले क्रोएशियाका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

तर क्रोएशियाले त्यो बराबरी गोलको खुशी पनि धेरै बेर मनाउन सकेन ।३८ औ मिनेटमा डी बक्स भित्र हेन्ड भएको भन्दै अर्जेन्टाइन रेफ्री पिटानाले भिडियो एसिस्टेन्स रेफ्री (भीएआर) को सहयोगमा पेनाल्टी दिएपछि ग्रीजमनले पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सले २–१ को अग्रता बनाउन सक्यो ।।

त्यस्तै खेलको ५९ औँ मिनेटमा युनाइटेडमा आबद्ध स्टार मिडफिल्डर पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे त्यसको ६ मिनेटपछि अर्थात् ६५ औँ मिनेटमा शानदार लयमा रहेका १९ वर्षीय स्ट्राइकर युवा फरवार्ड एम्बाप्पेले फ्रेन्च टोलीका लागि चौथो गोल गर्दै जित पक्का गरेका थिए । एम्बाप्पेको यो गोलसँगै उनी विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो युवा खेलाडी बनेका छन् ।

तर, क्रोएसियाले पनि हार मानेन । उसका लागि मारियो मान्जुकिजले खेलको ६९ औँ मिनेटमा गोल गरे। फ्रान्सका किपर ह्युगो लोरिसले डी एरियाबाट बल क्लियर गर्न खोज्दा मान्जुकिजल को खुट्टामा लागि बल गोल हुन पुगेको थियो । तापनि त्यो टोलीको हार टार्न प्रर्याप्त बनेन ।

यो उपाधिसँगै फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प खेलाडी र प्रशिक्षकका रुपमा विश्वकपको उपाधि जित्ने तेस्रो व्यक्ति बनेका छन् । यसअघि सन् १९९८ मा घरमै सम्पन्न फिफा विश्वकपको उपाधि फ्रान्सले डेसच्याम्प कै कप्तानीमा जितेको थियो ।

उपाधिसंगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसंगै २९ मिलियन पाउण्ड प्राप्त गरेका छन् । दोस्रो भएका क्रोएसियाले २१ मिलियन पाउण्ड र तेस्रो भएको बेल्जियमले १८ मिलियन पाउण्ड चित्त बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्