विश्वकप अवार्ड केन, मोड्रिच, कोर्टीयस र एमबाप्पेलाई, स्पेन अनुशासित टिम बन्न सफल



३२ असार २०७५, काठमाडौं

रसियामा सम्पन्न विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियालाई ४-२ को अन्तरमा पराजित गर्दै उपाधिसंगै १८ क्यारेटको सुनको ट्रफी सहित फ्रान्सले ३९ मिलियन डलर अर्थात करिव नेपाली ४ अर्ब रुपैयाँ प्राप्त गरेको छ।

जारी खेलमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरे बापत छुट्टाइएको अवार्ड इंग्ल्याण्डका ह्यारी केन, फ्रान्सका एमबाप्पे , क्रोएसियाका लुका मोड्रिच र बेल्जियमका थिबाउट कोर्टीयसले हात पारेका छन्। स्पेनले भने अनुशासित टिमको अवार्ड हात पारेको छ।

जारी विश्वकपमा ब्याक्तिगत ६ गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केनले सर्वाधिक गोलकर्ता बन्दै विश्वको उत्कृष्ट स्टाइकरको रुपमा गोल्डेन बुट (सुनको जुत्ता ) हात पारेका छन्। त्यसैगरी बेल्जियामका गोल रक्षक थिबाउट कोर्टीयसले उत्कृष्ट गोल रक्षक बन्दै गोल्डेन ग्लभ्स (सुनको पंजा) हात पारेका छन्।

त्यसैगरी क्रोएसियाका कप्तान लुका मोड्रिच उत्कृष्ट खेलाडी घोषित बनेका छन्। जारी विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पर्याउन मोड्रिचले महत्वपूर्ण भूमिका खेलेको भन्दै फिफाले उनलाई उत्कृष्ट खेलाडी घोषणा गरेको थियो। मोड्रिचले उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल (सुनको बल) हात पारेका छन्।

फ्रान्सका १९ बर्षे युवा स्टाइकर केलियन एमबाप्पे उत्कृष्ट युवा खेलाडी बन्दै अवार्ड हात पारेका छन्। क्रोएसियासँगको फाइनलमा १ गोल गरेका एमबाप्पे विश्वकपको फाइनलमा गोल गर्ने पेले पछिको दोस्रो युवा खेलाडी समेत बनेका छन्।

रसिया विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको स्पेनले फिफा प्ले अवार्ड हात पार्न सफल भएको छ। अन्तिम १६ सम्म आइपुग्दा ४ खेल खेलेको स्पेनले अनुशासन पालना गरेको भन्दै फिफाले अनुशासित टिमलाई प्रदान गर्ने फिफा प्ले अवार्डबाट स्पेनलाई पुरस्कृत गरेको हो।

प्रतिक्रिया दिनुहोस्