१ साउन २०७५, काठमाडौं
सन् १९३० देखि प्रत्येक ४/४ बर्षमा हुँदै आएको विश्वकपको २१ औं सस्करणको खेल रसियामा भर्खरै मात्र सकिएको छ। विश्वकपमा ब्याक्तिगत सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अर्थात सुनको जुत्ता दिइने प्रचलन रहदै आएको छ।
जस अन्तर्गत रसियामा भर्खरै सम्पन्न भएको विश्वकप २०१८ को निम्ति इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल्डेन बुट अर्थात सुनको जुत्ता प्राप्त गरेका छन्। केनले जारी खेलमा ब्याक्तिगत ६ गोल गर्दै उत्कृष्ट स्टाइकर बन्दै गोल्डेन बुट प्राप्त गरेका छन् ।
सन् १९३० को पहिलो विश्वकपमा अर्जेन्टिनाका फरवार्ड गुइलेर्मो स्टाबिले ब्याक्तिगत ८ गोल गर्दै गोल्डेन बुट प्राप्त गरेका थिए। त्यसै गरी सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपमा भने चेकोस्लोभाकिया ओल्डरिच नेजेड्लीले सर्वाधिक ५ गोल गरेर गोल्डेन बुट प्राप्त गरेका थिए।
फ्रान्समा सन् १९३८ मा भएको विश्वकपमा ब्राजिलका लियोनिदासले ७ गोल गरेर बुट प्राप्त गरेका थिए भने सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा ब्राजिलकै फरवार्ड अडेमिरले सर्वाधिक ८ गोल गरेर गोल्डेन बुट आफ्नो बनाएका थिए।
सन् १९५४ मा भएको विश्वकपमा हंगेरीका सान्डोर कोसिसले सर्वाधिक ११ गोल गर्दै सुनको जुत्ता आफ्नो नाममा दर्ज गराएका थिए भने सन् १९५८ को विश्वकपमा फ्रान्सका स्टाइकर ज:ट फन्टेन १३ गोल गरेर बुट आफ्नो बनाएका थिए।
सन् १९६२ मा ६ जना खेलाडीले सर्वाधिक ४ गोल गरेका थिए । फ्लोरियन अल्बर्ट (हंगेरी), ग्यारिन्चा (ब्राजिल), भ्यालेन्टिन आईभानोभ (सोभियत युनियन) ड्राजन जेर्कोभिक (युगोस्लाभिया), लियोनल सान्चेज (चिली) र भाभा (ब्राजिल) का खेलाडीले समान ४–४ गोल गरेका थिए । त्यसैगरी सन् १९६६ मा पोर्चुगलका युसेबियोले ९ गोल गर्दै बुट प्राप्त गरका थिए।
१९७०मा जर्मनीका गर्द मुलरले १० गोल गरेर गोल्डेन बुट आफ्नो बनाएका थिए भने सन् १९७४ मा पोल्यान्डका गर्जे लाटोले ७ गोल गरेर प्राप्त गरेका थिए. त्यसैगरी सन् १९७८ मा अर्जेन्टिनाका मारियो केम्पसले ६ गोल हानेर बुट कब्जा गरेका थिए। १९८२ मा भने इटालीको रोसी ले ६ गोल गरेर आफ्नो बनाएका थिए।
सन् १९८६ मा इंग्ल्यान्डका ग्यारी लिनेकरले ६ गोल हानेर सुनको जुत्ता आफ्नो बनाएका थिए भने सन् १९९० मा इटालीका साल्भाटोर सिलाची र सन् १९९४ मा क्लेगीरियाका ह्रिस्टो स्टोइचकोभले ६ गोल गरेर जुत्ता आफ्नो बनाएका थिए। त्यसैगरी सन् १९९८ मा क्रोएसियाका डेभोर सुकोरले पनि ६ गोल गरेर जुत्ता आफ्नो बनाएका थिए।
सन् २००२ मा ब्राजिलका रोनाल्डोले ८ गोल र सन् २००६ मा जर्मनीका मिरोस्ला क्लोजले ५ गोल गरेर सुनको बुट आफ्नो बनाएका थिए। त्यसैगरी सन् २०१० मा जर्मनीका थोमस मुलरले ५ गोल गरेर सुनको जुत्ता प्राप्त गरेका थिए। हुनत उनीसँगै उरुग्वेका डिएगो फर्लान, नेदरल्याण्ड्सका वेस्ली स्नैज्डर र स्पेनका डेभिड भिल्लाले पनि समान ५–५ गोल गरेका थिए । त्यसैगरी सन् २०१४ मा कोलम्बियाका जेम्स रोड्रिगेजले ६ गोल गरेर गोल्डेन बुट प्राप्त गरका थिए।