०३ साउन २०७५, काठमाडौं
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज प्रहरीले लाठीचार्ज गरेको छ। लाठिचार्ज गर्दा १ प्रहरी सहित दुई दर्जन घाइते भएका छन्।
चिकित्सा शिक्षा अध्यादेश अनुरुप सरकारले चिकित्सा विधेयक नल्याएको विरोधमा विगत २० दिन देखि अनसनरत डाक्टर गोबिन्द केसीलाई राजधानी ल्याउन भन्दै गएको प्रहरीलाई केसीका समर्थकले अवरोध गरेपछि प्रहरीले बाध्य भएर लाठीचार्ज गर्नु परेको थियो। लाठीचार्जमा बिरामीका कुरुवा पनि घाइते भएको बुझिएको छ।
अनसनरत डाक्टर केसीको स्वास्थ्य नाजुक हुदै गएको मेडिकल रिपोर्टपछि केसीलाई लिन गएको सरकारी टोलीलाई रोक्न जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरु चेन गेट लगाएर भर्याङ्गभरि बसेर अवरोध गरेका थिए।
अनसनमा रहेका केसीलाई सरकारको निर्देशनमा बिहिबार राजधानी ल्याउन पुगेका कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोलि अस्पतालबाट फर्किएसंगै प्रहरीलाई रोक्न बसेका समूह र प्रहरीबीच झडप भएको थियो।