विमस्टेकमा पुरानै गाडीको तयारी गर्दै सरकार



०४ साउन २०७५, काठमाडौं

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले सम्मेलनका लागि आवश्यक नयाँ गाडी किन्नेभन्दा पनि पुरानैलाई प्रयोगमा ल्याउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचारछापिएको छ ।

सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको आवत–जावतका लागि विभिन्न सरकारी निकाय मातहतका सुविधा सम्पन्न गाडी प्रयोग गर्ने तयारी गरिएको हो । विमस्टेक राष्ट्रका विशिष्ट पाहुनालाई पूर्वराजा र राजपरिवारका सदस्यले विगतमा प्रयोग गरेका, परराष्ट्र र अन्य मन्त्रालय मातहतका ‘बुलेट फ्रुफ’ गाडी उपलब्ध गराउने तयारी अघि बढाइएको छ ।

शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकारप्रमुख सहभागी हुने प्रचलन छ, चौथो सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदै छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो ।

‘सबै राष्ट्रप्रमुख र सरकारप्रमुखलाई बुलेट फ्रुफ गाडी उपलब्ध गराइनेछ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘कुन निकायमा के कति बुलेट फ्रुफ गाडी छन् भनेर खोजविन भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्