०८ साउन २०७५,चितवन
भरतपुर महानगरपालिकाले धुर्मुस-सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।
महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको जानकारी दिइन् ।
विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको छ ।
प्रमुख दाहालले फाउण्डेशनका तर्फबाट छिटोजग्गाको टुंगो लगाउन ताकेता भइरहेको जानकारी दिँदै मंगलबार रामपुरको जग्गा नापजाँच गर्ने काम भएको बताइन् ।
दाहालका अनुसार झण्डै रु तीन अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्नेछ जसका लागि २५० मिटर चौडाइ र ५५० मिटर लम्बाइ भएको एउटै जग्गा आवश्यक पर्छ ।
महानगरका अन्य क्षेत्रमा रहेको सार्वजनिक जग्गा आवश्यक लम्बाइ चौडाइ मिल्ने गरी नभएपछि विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण गर्न लागिएको हो ।
त्रिविले विश्वविद्यालयको परिसरमा रहेको जग्गामध्ये ४० बिघामा इञ्जिनीयरिङ कलेज सञ्चालन गर्दैछ । सँगै रहेको जग्गामा रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले महानगरले सट्टा जग्गा दिने गरी रंगशालाको प्रस्ताव गरेको बताए।महानगरले जग्गा दिने ठाउँमा भैंँसी प्रजनन केन्द्र स्थापना गर्ने तयारी विश्वविद्यालयले गरेको छ ।