१० साउन २०७५, काठमाडौं
मैले शेरबहादुर तामाङको नाम सानैदेखि सुनेको हुँ । एसएलसी पश्चात कलेज पढ्न काठमाडौँ आउँदा बौद्ध महाँकालको पानीट्याङ्की तिर पहिलो उहाँलाई पटक देखेको हुँ । अलिक लामो कपाल पालेको फुर्तिलो युवा देखिनुहुन्थ्यो । त्यस पश्चात खासै सम्पर्क भएन । तत्कालीन अनेरास्ववियुको केन्द्रीय नेतृत्वमा र पछि तत्कालीन प्ररायुसंघको नेतृत्वमा रहनुभएको भन्ने जानकारीसम्म मलाई थियो । राजनीतिमा केही सक्रिय रहेका कारण पार्टीका नेताहरुको बारेमा सामान्य जानकारी र चासो मलाई पनि रहने गर्थ्यो ।
२०५४ सालको पार्टी विभाजन पश्चात केही निष्कृय भएँ, जिल्लाको पार्टी गतिविधिमा समेत खासै सहभागी भइएन । २०६४ सालसम्म म व्यक्तिगत र पारिवारिक काममै व्यस्त भएँ । काठमाडौँको जोरपाटीमा रहँदा आफूले सकेसम्म राजनीतिक गतिविधिहरुमा सक्रिय रहँदै पार्टीको समर्थक, शुभचिन्तक रहिरहेँ । २०६४ सालमा ९८ मतले कमरेड शेरबहादुर तामाङ पराजित भए पछि राजनीतिमा मेरो चासो पुन: बढ्यो । म आफैँ पनि सिन्धुपाल्चोकमा खट्न सकेको भए परिणाम हाम्रो पक्षमा आउँथ्यो कि भन्ने समेत मलाई पर्यो । त्यसपछि भने म मेरो गाउँ थाङ्पालधाप (हाल : पाँचपोखरी थाङ्पाल गाउँपालिका–६) का पार्टी समर्थक साथीभाइहरुसँग सम्पर्क बढाउँदै क्रियाशील हुन थालेँ । त्यतिबेला मलाई हालका गाउँपालिका अध्यक्ष क. टासी लामा र हालका जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ लगायतका साथीहरुको सल्लाहले मेरो संगठित सदस्यता समेत उतै सारेँ । काठमाडौँमा पनि सम्पर्क मञ्चमा आबद्ध भई आफ्नो क्रियाशीलतालाई बढाउँदै लगेँ । यिनै भेटघाटहरुमा शेरबहादुर तामाङसँग पनि सम्पर्क र घनिष्टता बढ्दै गयो । उहाँबाट प्रशिक्षित हुने अवसर पनि प्राप्त हुँदै गयो ।
उहाँ अध्ययनलाई विशेष जोड दिनुहुन्छ । व्यस्त समयका बाबजुद पनि उहाँले हाल विद्यावारिधिको तयारी गरिरहनुभएको छ । तत्कालीन नेकपा (एमाले)को संघीयता सम्बन्धी विषयमा उहाँले धेरै अध्ययन र विश्लेषण गर्नुभयो र पार्टीको संघीयता सम्बन्धी कार्यदलको संयोजक समेत हुनुभई सफलतापूर्वक कार्यसम्पादन गर्नुभयो । अहिलेको ७ प्रदेशको संघीयता खाका समेत प्रस्तुत गर्नु भयो ।
२०७० सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. ३ का उम्मेदवार रहनुभएका उहाँसँगको मेरो सामिप्यता धेरै भयो । मैले उहाँको प्रचारप्रसारको सचिवालयमा बसेर काम गर्ने मौका समेत पाएँ । त्यस क्रममा उहाँको बारेमा अझ धेरै बुझ्ने मौका पाएँ । उहाँ सरल, मेहनती र मैले बुझेभन्दा पनि बढी अध्ययनशील रहेको पाएँ । पहाडी बाटो भएकाले धेरै समय हिँड्दै प्रचार गर्ने समयमा पनि प्रचारको कार्य सकिए पछि रातिको १–२ बजेसम्म अध्ययन गरेर मात्र सुत्नुहुन्थ्यो र बिहानको ४–५ बजेतिर पुन: हिँड्न तयार भइहाल्नुहुन्थ्यो । उहाँ आफ्ना कार्यकर्ताहरुलाई समेत अध्ययन गर्न र कुनै न कुनै विषयमा विशेषज्ञता हासिल गर्न उत्साह प्रदान गर्नुहुन्थ्यो । २०७४ सालको निर्वाचनमा पनि उहाँको क्षेत्रको भूगोल पहिले भन्दा धेरै भए पनि सकेसम्म सबै ठाउँमा पुग्नु परेछ भनेर आराम गर्ने समय कम गर्नुभयो तर अध्ययनलाई सकेसम्म छोड्नुभएन । यो निर्वाचनमा पनि उहाँको नजिकमा रहेर काम गर्ने अवसर मैले प्राप्त गरेँ । दुबै निर्वाचनमा उहाँले जित हासिल गर्नुभयो ।
उहाँसँग जति समय काम गरेँ, उहाँमा रिस, आवेग, डाहा, पूर्वाग्रह केही पाइनँ मैले । सादा जीवन बिताउने चाहने उहाँ खानामा पनि सादा नै परिवार रुचाउनुहुन्छ । खानाको पहिलो प्राथमिकता ढिँडो रहन्छ भने त्यसपछि मात्र अन्य चिज रोज्नुहुन्छ । धुमपान, मद्यमान त परै जाओस् कोल्ड ड्रिङ्क्स वा चियासम्म पनि पिउनुहुन्न । साथीहरुलाई चियाको बन्दोबस्त गरिदिएर आफूले तातोपानी लिनुहुन्छ र सकेसम्म बाहिरको खानालाई भन्दा घरकै खाना रुचाउनुहुन्छ । घरायसी काममा चासो राख्ने उहाँ भान्छाको व्यवस्थापन र सरसफाइमा आफैँ अग्रसर रहनुहुन्छ ।
उहाँकी जीवनसाथी प्रदेश नं. १ प्रदेश सभा सदस्य क. उषाकला राई प्रतिनिधि सभामा सदस्य रहँदा सँगै राजनीतिका अलावा घरपरिवारलाई समय व्यवस्थापन गर्ने सन्दर्भमा समेत उहाँले उत्तिकै समय मिलाउनु हुन्छ । जीवनसाथीलाई तपाइँ, हजुर भनेर सम्बोधन गर्ने उहाँ महिला र पुरुष बराबरको हैसियत हुन्छ भन्ने धारणा राख्नुहुन्छ । समूहमा खाना खानु पर्ने अवस्थामा सँगैका सबैले खाना खाने व्यवस्था गरेर र सम्भव भएसम्म सबैसँग सँगै बसेर मात्र खाना खानुहुन्छ । पर्खेरै भए पनि साथीहरु जम्मा भए पछि मात्र अरुसँगै आफू पनि खाना खाजा खान थाल्नुहुन्छ ।
२०७४ चैत २ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी प्राप्त गरे पछि सबैभन्दा पहिला आफ्नो सम्पत्ति विवरण पेश गर्नुभयो र सार्वजनिक पद धारण गरेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्न नैतिक दवाव समेत दिनुभयो । अझ न्यायधीश लगायतका व्यक्तिहरुको सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा पेश गर्ने परिपाटीलाई सार्वजनिक पनि गर्नु पर्छ भन्दै त्यसका लागि कानुन निर्माणमा समेत क्रियाशील रहनुभयो । मन्त्री क्वार्टरमा सरेपछि त्यहाँ रहेको बाँझो रहेको जग्गामा तरकारी र फलपूmलको विरुवा रोप्ने अभियान चलाउनुभयो । भवन विभाग र बागबानी विज्ञको समन्वयमा अन्य मन्त्रालयमा समेत यस्तो काम गर्न सुझाव दिँदै मलाई आवश्यक सहयोगको समेत जिम्मा दिनुभयो, हाल सो काम भइरहेको छ ।
उहाँ अरु समयमा पनि जनसम्पर्कलाई विशेष महत्व दिनुहुन्थ्यो नै मन्त्री रहँदा समेत कसैले पनि मलाई भेट्न सकिएन भनेर गुनासो नगरुन् भन्नुहुन्थ्यो, अहिले पनि उहाँको यही धारणा छ । यतिसम्मकी भेटघाटको दायरा कम गरौँ भन्यो भने हामीलाई नै भेटघाटलाई जसरी पनि व्यवस्थापन गर्नुहोस् तर भेट्नु पर्छ भन्नुहुन्थ्यो । पत्रकारहरुलाई सहजै पहुँच दिन भन्नुहुन्थ्यो, पत्रकारले भेट्न नपाएको गुनासो गर्दा हामीलाई सचेत समेत गराउनुहुन्थ्यो । कानुन मन्त्री रहँदा मेरो कार्यकालमा न्यायालय लगायतका सार्वजनिक क्षेत्रमा भएका विकृति र विसंगतिलाई जरैदेखि निमिट्यान्न पार्छु भन्ने उहाँको अठोट थियो । नियुक्ति, सरुवा, बढुवामा हुने आर्थिक चलखेललाई विशेष चासोका साथ हेर्नुभयो । नियमित सम्पत्ति विवरण नबुझाउने न्यायाधीशहरुलाई जरिवाना लगाउनुका साथै न्यायाधीश नियुक्तिमा समेत गैरसंवैधानिक दवावलाई अस्वीकार गर्नुभयो ।
सबै आमन्त्रणलाई स्वीकार नगर्न हामीले दिएको सुझावलाई अस्वीकार गर्दै सम्भव भएसम्मका कार्यक्रमहरुमा सहभागी हुनुपर्छ भन्ने उहाँको धारणा रहेको थियो भने सामाजिक कार्यहरु विवाह, व्रतबन्ध, पूजा आदिमा हृदयदेखि नै निमन्त्रणा गरिने हुनाले सकेसम्म उपस्थित हुनुपर्छ, आत्मियता बढ्छ भनेर हामीलाई समेत सम्झाउनुहुन्थ्यो ।
२०७५ साउन ४ गते प्राक्सिस एकेडेमीको एसइइ सम्मान कार्यक्रममा उहाँले बोल्नुभएको विषयलाई नकारात्मक रुपमा बढी चर्चा गराइयो । मेडिकल शिक्षा त के सबै शिक्षा नेपालमा नै हुनुपर्छ र अध्ययनका लागि विदेशीहरु नेपालमा आउने वातावरण बनाई नेपाललाई शिक्षाको केन्द्र बनाउनु पर्छ भनेर हामीलाई समेत उत्साह प्रदान गर्ने उहाँ त्यही विषयको पक्षपोषण गर्दा सामान्य त्रुटीका कारण विवादमा पर्नुभयो । मैले यस्तो पनि सुनेको छु भन्ने वाक्यांशलाई वेवास्ता गरियो । बोलेका विषय प्रमाणित गर्न लगाइएन, बरु बोलेको विषय नै गलत थियो भन्ने आसयले उहाँले बोलेको शब्दलाई नै बढी हाइलाइट गरी नकारात्मक प्रचार गरियो । उहाँले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षालयहरु खुल्नु पर्छ भन्ने आसय नकारात्मक प्रचारबाजीले छोपियो ।
उहाँ आफैँ अरुणिमा एजुकेशनल फाउन्डेशनको संस्थापक र सञ्चालक एवं विविध शैक्षिक तथा सामाजिक संघसंस्थामा आबद्ध भएको र सरकारको विद्यार्थी भर्ना अभियानमा विद्यार्थीलाई सहयोग गरेकाजस्ता कुराहरु समेत ओझेलमा पारिए । केही अनलाइन र पत्रिकाहरु यसरी प्रस्तुत भए कि उनीहरुका प्रमुख शत्रु भनेकै शेरबहादुर तामाङ हुन् । क्लिन्टन–मोनिका काण्डमा समेत माफी स्वीकार्य भएको देखेका हामीले शेरबहादुरको भाषिक त्रुटीको माफीलाई समेत केही पत्रकारले स्वीकार गर्न सकेनन् नै आफ्नै पार्टीका प्रतिस्पर्धीहरुले यसैलाई मौका समेत ठाने र राजिनामा दिन बाध्य पारियो ।
अहिले पनि उहाँका सहयात्री सहयोगीहरु उहाँका सकारात्मक कुराहरुलाई बढी महत्व दिइरहेका छन् भने विरोधी प्रतिस्पर्धीहरु नकारात्मक विषयहरुलाई बढी खोजबिन गरिरहेका छन् भन्ने समेत सुनिन आएको छ ।
अन्त्यमा,
यो प्रकरणले कमरेड शेरबहादुर तामाङलाई केही समय विवादमा पारे पनि उहाँको सकारात्मक सोच, विकासप्रेमी सक्रियता र समृद्धिको अठोटले आगामी दिनमा आउने चुनौतिहरुलाई परास्त गर्दै राजनीतिक जीवन उज्वल हुने विश्वास लिएको छु ।
(लेखक निवर्तमान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको स्वकीय सचिवालयमा रहेका थिए । )