१० साउन २०७५, संखुवासभा
आर्थिक बर्ष २०६६/६७ तिर संखुवासभालीमा एउटा खुशी छाएको थियो । संखुवासभालाई सहजरुपमा धनकुटा जोड्ने बसन्तपुर चैनपुर सडक खण्ड कालोपत्रे भयो । कालेपत्रे गर्दा सम्बन्धित निकायको अनुगमनमा उदासिनता र ठेकेदारको लापरबाहीका कारण संखुवासभालीको उक्त खुशी केहि समयमा नै स्खलित भयो । हाल संखुवासभालाई बाहिरी जिल्ला र धनकुटा जोड्न दुईवटा सडक भएता पनि दुबै सडक जिर्ण हँुदा संखुवासभालीले जोखिमको यात्रा गर्नु परेको छ । माथिल्लो बाटो बसन्तपुर चैनपुर सडक खण्डको टुटेदेउराली देखी मुडे सम्मको बाटो हिलाम्मे छ भने वर्षायाम सुरु भएसंगै संखुवासभा र धनकुटाको हिले जोड्ने तुम्लिङटार–हिले सडक खण्डमा यात्रुहरुले मार खेप्नु परेको छ । कच्ची सडकका कारण सवारी आवातजावतमा समस्या परेको छ ।
सडकको अवस्था जिर्ण बन्दै जाँदा संखुवासभालीले यात्रा गर्दा ज्यान माया मारेर यात्रा गर्नुपर्ने बाध्यता छ भने सवारी धनीले समेत सवारी साधन जोखिममा राखेर सञ्चालन गर्नु परेको छ । आफ्नी काकी बिरामी भएर बिराटनगर लिएर उक्त बाटोको यात्रा गरेका मादीका मनोज भट्टराई अस्पताल नै नपुगिने हो कि भन्ने अवस्था सिर्जना भएको बताउँछन् । उनले भने ‘५ घण्टाको बाटोमा १० घण्टा नै लाग्यो, जंगलमा गाडी फस्दा बिरामी त बिरामी सवल मान्छेको समेत कन्तबिजोक ।’ समयमा बाटोको मर्मत नहुँदा हिउँदमा आवतजावत सहज भएपनि बर्खामा बयस्क बाहेक अरु उक्त सडको यात्रा गर्न असम्व जस्तै देखिन्छ । माथिल्लो बाटोको मुडे देखी चैनपुर सम्मको सडकमा केहि मर्मत भएतापनि टुटे देउरालीबाट मुडेसम्मको बाटोमा सुधार आउन सकेको छैन । पथरीमा रहेकी आफ्नी छोरीलाई भेट्न हिँडेकी मादीकी हरिमाया गुरुङले पैदल हिड्न समेत गाह्रो हुने बाटोमा गाडीमा कुद्दा डर लागेको बताइन् । उनले भनिन् ‘यो बाटोमा गाडी चढ््दा जवान केटाकेटी त बिरामी हुने रहेछन, म त झन् ढाड दुख्ने बिमार भएकी मान्छे बिथ्थामा आए जस्तो भो, यसै आर्थीक बर्षमा काम सक्ने गरी ठेक्का लगाएको भएतापनि काममा खासै प्रगति भएको छैन । गत बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेलमा शिलान्यास गरीएको अरुण तेस्रो निर्माणका समाग्री बोक्ने दुबै मार्ग जिर्ण हुदा उक्त परियोजना निमार्णमा समेत असर पर्ने देखिन्छ ।
अरुण तेस्रो शिलान्यासले संखुवासभालीलाई बिद्युत बारेको भन्दा बाटो राम्रो हुने कुराले खुशीयाली छाएको थियो । संखुवासभा धर्मदेवी नगरपालिका आँखीभुईका टिकाराम बस्नेतले भने ‘बिजुली त जसोतसो बालिएकै छ, बन्दा राम्रो तर सामान ओसार्न बाटो बन्छ की भनेर चै खुशी लागेको छ ।’ यता डिभीजन सडक कार्यालय तुम्लीङटार भने काम भईरहेको र त्यसको नियमित अनुगमन गरिरहेको बताउँछ ।
तुम्लिङटार–हिले सडकको हालत पनि उस्तै
यो सडक खण्डको केही स्थानमा बाटो राम्रो भए पनि लेगुवा–हिले खण्डमा सडकको दुर्दशाका कारण यात्रुहरुले सास्ती भोग्नु परिरहेको छ । कच्ची सडक भएकाले पानी पर्ने बित्तिकै यातायात ठप्प हुन्छ । साँघुरो सडक त्यसमा पनि ठूला मालबाहक गाडीहरुको आवतजावतले सडकको स्थिति झनै कम्जोर बन्दै गएको हो ।
सरोेकारवाला निकायले ध्यान नदिदा र जनप्रतिनिधिहरुले यस विषयमा चासो नराख्दा सास्ती खेप्नु परेको स्थानीयहरु बताउँछन् । जनप्रतिनिधहिरुले सडकको स्थितिको बारेमा अहिलेसम्म चासो नराखेको र सम्बन्धित निकायलाई खबरदारी नगर्दा यात्रुहरु बिचैमा अलपत्र पर्ने गरेको उनीहरु बताउँछन् । हिउँदमा सडक धुलाम्मे भएपनि तीन घण्टामा पार गरिन्थ्यो तर अहिले दिन भरीमा पनि नसकिने र कष्टकर यात्रा हुने खाँदबारीका मोहन तामाङले बताए । उनले भने–अकरको बाटो त्यसै नै सानो छ, त्यसमाथि वर्षायामको वर्षासंगै यात्रा गर्न जोखिम हुने र अरु विकल्प नहुँदा जोखिम यात्रा गर्न बाध्य भएका छौं ।
चुनावका बेला यी सडकखण्डहरु बाह्रै महिना सञ्चालन गर्ने मुख्य एजेन्डा लिएर निर्वाचनमा होमिएकाहरु अहिले बेखबर छन् । निर्वाचनमा हारेकाको त कुरै छाडौं जितेकाहरुले मुख बाएका छैनन्, देवराज पुरीले भने ।
सडकमा परेको खाल्डोमा सवारीसाधन फस्दा दुई घण्टाको दूरी पार गर्न ६ घण्टासम्म लाग्ने गरेको छ । हिलो सडकमा सवारी साधन गुड्न नसक्दा संखुवासभाबासीले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत वर्षैपिच्छे सास्ती ब्यहोर्नु परेको व्यवसायीहरु बताउँछन् । हिउँदका समयमा धनकुटाको हिलेबाट सामान लोड गरेर दुई दिनमा सदरमुकाम खाँदबारी पुग्ने भए पनि वर्षायाममा एक सातासम्म लाग्ने गरेको डम्बर श्रेष्ठले बताए ।
सडकको दुर्दशाका कारण यसरी यात्रुहरुले सास्ती भोग्नु परिरहेको पनि यहाँका यात्रुहरुलाई नौलो कुरा भने होइन । हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने यो सडकमा वर्षै पिच्छे छुट्याइएका मोटो रकम यसरी नै धुलो र हिलोमा परिणत हुने गरेको छ । लेगुवा–हिले र टुटेदेउराली–मुडे गरी दुई ओटै संखुवासभा प्रवेशमार्गका सडकको यस्तो अवस्थाका कारण यात्रुहरुले कहिलेसम्म दुख पाउने हो भन्ने टुंगो छैन ।