११ साउन २०७५, काठमाडौं
संसारमा जतिनै ख्याति कमाउन सकेता पनि अन्तत: पदभन्दा नैतिकता हजारौ गुणा ठुलो हो। पदको पदको लोभमा यदाकदा नैतिकताको खडेरी नलाग्ने पनि होइन तर पनि नैतिकता बचाउन सके पद केहि हैन भन्दै संसारका धेरै सफल ब्याक्तिहरुले पद त्याग गरेका छन्।
आफुलाई सामाजिक काममा समर्पित गर्नेहरुको लागि त अझ नैतिकता सियोको टुप्पामा रहेको हुन्छ। खासमा नैतिकता भनेको के हो भन्ने कुरालाई नेताहरुले पटक पटक प्रुष्टि पार्दै आइरहेको उदाहरणहरु प्रशस्त मात्रामा पाउन सकिन्छ। नेपाली राजनीतिमा अलि कमै मात्र भेट्न र देख्न सकिने नैतिकता भएको व्यक्ति मध्ये पछिल्लो समयमा कानुन मन्त्री शेरबहादुर तामाङले देखाएका छन्।
नेपाली राजनीतिमा नैतिकताको खडेरी लागिरहेको समयमा नैतिकताको आधारमा मन्त्री पदबात राजिनामा दिएका कानुन मन्त्री तामाङ नैतिकताका आधारमा मन्त्री पद छाड्ने पहिलो मन्त्री भने होइनन्। आफु प्रतिको आलोचनापछि नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिनेहरु प्रधानमन्त्री देखि मन्त्री र राज्यमन्त्रीसम्म रहेका छन्।
२००७ साल यता पदभन्दा प्रतिष्ठा ठुलो भन्दै आफ्नो पदबाट राजिनामा दिने र जना आक्रोशलाई थेग्न नसकेर पदबाट राजिनामा दिने धानमन्त्री देखि मन्त्री र राज्यमन्त्रीसम्म गरि करिव १९ जना रहेका छन्। यसले के संदेश दिनछ भने जनताले चुनेर शासन गर्न पठाएका व्यक्तिले जनताको मर्म र भावना विपरित गलत कार्य गरेमा उक्त पदबाट हटाउन पनि जनता त्यतिकै सक्षम छन्।
यी हुन् नेपाली राजनीतिमा नैतिकताको आधारमा आफ्नो पदबाट राजिनामा दिने प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरु :
विपी कोइराला
२००७ सालपछि मोहन शमशेर राणाको प्रधानमन्त्रीतवमा बनेको सरकारको गृहमन्त्री विपीले विद्यार्थी नेता चिनियाँकाजी श्रेष्ठको मृत्यु भएपछी नैतिकताको आधारमा राजिनामा दिएका थिए।
कल्पना बिष्ट
विश्वकपमा सहभागी हुने विषयमा अनौपचारिक अभिव्यक्ति दिएकी मन्त्री कल्पना बिष्टले नैतिकताको आधारमा २०३६ सालमा पदबाट राजिनामा दिन बाध्य भएकी थिइन्।
बद्री मण्डल
वीर अस्पतालकी एक नर्सलाई अपशब्द बोलेको आधारमा २०३६ सालमा स्वास्थ्य राज्यमन्त्री बद्री मण्डलले पनि नैतिकताको आधारमा राजिनामा दिनु परेको थियो।
किर्तिनिधि विष्ट
वि. सं. २०३० सालमा सिंहदरबारमा आगलागी भएपछी तत्कालिन प्रधानमन्त्री किर्तिनिधि विष्टले नैतिकताको कारण देखाउदै प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए। त्यसै गरी २०३६ साल बैशाख ९ गते विद्यार्थी आन्दोलनको कारण शिक्षामन्त्रीको जिम्मेवारीबाट पनि आफ्नो नैतिकता देखाउदै राजिनामा दिएका थिए।
पशुपति शमशेर राणा
२०३६ साल बैशाख ९ गते विद्यार्थी आन्दोलनको कारण शिक्षा राज्यमन्त्रीको जिम्मेवारीबाट आफ्नो नैतिकता देखाउदै पशुपति शमशेर राणाले राजिनामा दिएका थिए।
केशर बहादुर विष्ट
२०४५ सालमा दशरथ रंगशालामा फुटबल खेल चलिरहेको अवस्थामा आएको हावाहुरिमाका कारण ७१ जना दर्शकको ज्यान गएपछि तत्कालिन शिक्षा तथा खेलकुद मन्त्री केशर बहादुर विष्टले नैतिकताको आधारमा शिक्षा तथा खेलकुद मन्त्री पदबाट राजिनामा दिएका थिए।
शैलजा आचार्य
२०४८ सालमा कृषिमन्त्री बनेकी शैलजा आचार्यले कृषि मन्त्रालयमा ब्यापक भ्रष्टाचार छ भन्ने अभिव्यक्ति दिएपछि आलोचित बनेसँगै नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएकि थिईन।
डा. रामशरण महत
२०५२ सालमा शेर बहादुर देउवा नेतृत्वको सरकारको अर्थमन्त्री बनेका डा. रामशरण महतले विविध आरोपका कारण पदबाट राजिनामा दिएका थिए। पछि संसदीय समितिको छानविनमा निर्दोस देखिएसँगै पुन: बहाली र सपथ लिएका थिए।
गोविन्दराज जोशी
२०५८ साल दुनै / होलेरी काण्डमा आर्मीले सहयोग नगरेको कारण देखाउदै गिरिजाप्रसाद कोइराला नेतृत्वको गृहमन्त्री गोविन्दराज जोशीद्वारा नैतिकताको आधारमा पदबाट राजिनामा दिएका थिए।
गिरिजा प्रसाद कोइराला
२०५८ सालमा रोल्पाको हलेरी प्रहरी चौकीमा ठुलो संख्यामा प्रहरीहरु माओवादीको कब्जामा परेपछि प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले राजा समक्षा सेना परिचालन गर्न आग्रह गर्दा राजाले नमानेपछि कोइरालाले नैतिकताको आधारमा राजिनामा दिएका थिए।
पुष्पकमल दाहाल “प्रचण्ड”
सरकारको निर्णय विरुद्द चलेको भन्दै २०६६ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले प्रधान सेनापति रुक्माङ्गत कटुवाललाई हटाएसँगै राष्ट्रपति रामवरण यादवले आफ्नो अधिकार प्रयोग गर्दै निर्णय रद्दा गरेपछि प्रचण्डले नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।
मातृका यादव
२०६६ सालमा पुष्पकमल दाहाल “प्रचण्ड नेतृत्व सरकारको मन्त्री मातृका यादवले आफुले सोचे र चाहे अनुरुप काम गर्न असहज भएको भन्दै नैतिकताको आधारमा मन्त्री पदबाट राजीनाम दिएका थिए।
शरतसिंह भण्डारी
देश टुक्रिने अभिव्यक्ति दिएअपछि चर्को आलोचनाको पात्रा बनेका बाबुराम भट्टराई नेत्तृत्वको रक्षामन्त्री शरतसिंह भण्डारीले २०६८ सालमा आफ्नो पार्टी मधेशी जनअधिकार फोरमको निर्देशन अनुरुप नैतिकताको आधारमा राजिनामा दिएका थिए।
हरि प्रसाद पराजुली
२०७२ साल असार १५ गते धान दिवसको दिन काठमाडौंको मुलपानीमा धान दिवस मनाउदै गर्दा महिलाहरुमाथि अशिष्ट व्यवहार गरेका फोटो र भिडियो सार्वजानिक भएसंगै सुशील कोइराला सरकारको तत्कालिन कृषिमन्त्री हरि प्रसाद पराजुलीले पार्टीको निर्देशन अनुरुप नैतिकताको आधारमा राजिनामा दिएका थिए।
राधा ज्ञावाली
२०७२ सालमा तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारको मंत्री राधा ज्ञावालीले सोलु करिडोर प्रसारण लाइन बनाउदा अनियमितता गरेको आरोप लागेको र राजिनामा माग्दा नदिएपछि आफ्नै पार्टी एमालेले उनलाई बर्खास्त गरेको थियो।
पुरुषोत्तम पौडेल
२०७२ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति गर्ने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछी खेलकुद मन्त्री पुरुषोत्तम पौडेलद्वारा पदबाट राजिनामा दिएका थिए।
दिलनाथ गिरी
पार्टी अध्यक्ष कमल थापासँग विवाद चर्किदै गएपछि आफु हेपिएर पदमा बास्ना उचित नभएको महसुस गर्दै शेर बहादुर देउवा नेतृत्वको सहरी विकासमन्त्री दिलनाथ गिरीद्वारा २०७४ सालमा नैतिकताको कारण देखाउदै मन्त्री पदबाट राजिनामा दिएका थिए।
शेर बहादुर तामाङ
२०७५ सालमा एक विद्यालयको कार्यक्रममा बोल्ने क्रममा बंगलादेशमा पढ्न जाने छात्राको बारेमा नकारात्मक टिप्पणी गरेर आलोचित भएका कानुन मन्त्री शेर बहादुर तामाङद्वारा नैतिकताको आधारमा पद भन्दा प्रतिष्ठा ठुलो भन्दै सरकारलाई सहज पार्न मन्त्री पदबाट राजिनामा दिएका थिए।
देवी ओझा, प्रभु शाह र मोहम्मद रिजवान अन्सारी
कृषिमन्त्री भएको बखत देवी ओझालाई नैतिकताको आधारमा बर्खास्त गरिएको थियो भने सहरी विकास मन्त्री प्रभु शाहले पनि नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएका थिए। त्यसैगरी गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले पनि नैतिकताको आधार देखाउदै पदबाट राजिनामा दिएका थिए।
नैतिकताको आधारमा राजिनामा दिएका यी मध्धे कतिले आफै राजिनामा दिएका थिए भने कतिले राजिनामा दिन बाध्य बनाएर राजिनामा दिएका थिए। सार्वजानिक पदमा बसेरकाहरु विविन्न तवरमा सधै नैतिकतावन बन्न सक्नुपर्छ भन्ने संदेश पनि हो यो।
देश चलाउने अधिकार लिएर मन्त्रालयको जिम्मेवारी सहित मन्त्रालयमा बस्दै गैरजिम्मेवार अभिव्यक्ति दिने र कार्य गर्ने अन्य मन्त्री तथा सरकारी निकायाका कर्मचारीहरुले पनि नैतिकताको आधारमा राजिनामा दिने यी मन्त्रीहरुको नैतिकताबाट अझ गहिरिएर नैतिकताको पाठ पढ्न र सिक्न जरुरि छ।