आज राति शताब्दीकै लामो चन्द्रग्रहण लाग्दै



११ साउन २०७५, काठमाडौं

आज राति शताब्दीकै लामो चन्द्रग्रहण लाग्दै छ । जोतिष शास्त्र अनुसार आज खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपालमा मध्य रातको १२ बजेर ९ मिनेट जाँदा यो ग्रहण देखिनेछ भने रातिको ४ बजेर ४ मिनेटमा समाप्त हुनेछ । नेपालबाट पनि यस्तो ग्रहण देख्न सकिन्छ । नेपाललगायत भारत, चीन मंगोलिया, पूर्वी अफ्रिका, युरोप, रसियालगातका ठाउँबाट देख्न सकिन्छ ।

जोतिष शास्त्र अनुसार चन्द्रग्रहण दुई प्रकारका हुन्छन् । एउटा खग्रास र अर्को खण्डग्रास चन्द्रग्रहण । शुक्रबार लाग्ने चन्द्रग्रहणचाहिँ खग्रास हो । यस्तो अवस्थामा चन्द्रमाको पूरै भाग छेकिएको रूपमा देखिन्छ । पृथ्वीको छायाले चन्द्रमालाई पूरै छेक्दा यस्तो ग्रहण लाग्ने गर्छ ।

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई हाम्रो आँखाभित्र पस्न नदिन विभिन्न खालका सावधानी अपनाउनुपर्ने हुन्छ । तर, चन्द्रग्रहणलाई भने नांगो आँखाले पनि सजिलै हेर्न सकिन्छ । टेलिस्कोप, बाइनाकुलर, क्यामेरा वा अरू कुनै सामग्रीले चन्द्रग्रहणलाई हेर्दा मानिसको स्वास्थ्यमा असर पुर्याउदैन । किनकि यस्तो वेला मानिसलाई हानि पुर्याउने खालका किरण आएको हुँदैन । त्यसैले यसबारे भ्रम पाल्न जरुरी छैन ।

ज्योतिष विज्ञानले यो चन्द्रग्रहण मेष, सिंह, वृश्चिक तथा मीन राशिका मानिसले मात्र हेर्न हुने सुझाब दिएको छ । त्यस्तै वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशिका मानिसलाई भने नहेर्न सल्लाह दिइएको छ । धर्ममा आस्था राख्नेले ग्रहणको स्पर्शकाल तथा मोक्षकालमा विभिन्न नदी, कुण्ड आदिमा पुगी ग्रहण नुहाइ गर्छन् ।

सूर्य, पृथ्वी र चन्द्रमा जस्ता ठुला ग्रह आफनो गतिमा रहेका बेला उत्पन्न हुने परिस्थितिबाट ग्रहण लाग्ने हुन्छ । र सो ग्रहणबाट पृथ्वीमा रहने मानिस प्रभावित हुन्छ । ग्रहणका बेला उत्पन्न हुने विकिरणले मानिसलाई प्रत्यक्ष रुपमा असर पार्ने हुन्छ ।

चन्द्रग्रहण भएकाले यसको सिधा सम्बन्ध व्यक्तिको मनमा समेत पर्ने हुन्छ । त्यसकारण ग्रहणका बेला केही विषयमा सतर्क हुनै पर्दछ । त्यसकारण यस अवस्थामा निश्चित कार्य गर्न बर्जित गरेर त्यसलाई सर्वसाधारणले अनुशरण गरुन भन्ने उद्देश्यले पूर्विय दर्शनका ऋषिमुनी विद्धानहरुले यसलाई धर्मसंग जोडेको देखिन्छ ।

अर्थात धार्मिक विश्वास सहित अबलम्बन गर्नकालागि उत्प्रेरित गरेको हुन सक्छ । तर ग्रहणका बेला निश्चित निश्चित विषय नगर्नु भन्ने मान्यता भित्र वैज्ञानिक कारण रहेको स्पष्ट छ । यस भित्रको वैज्ञानिक असरलाई आँकलन गर्दै यसको नकारात्मक असरबाट आम सर्वसाधारण बचुन भन्ने हेतुले ऋषिमुनीहरुले यस्तो व्यवस्था गरेका हुन । यसलाई आत्मासाथ गर्ने वा नगर्ने व्यक्तिको निर्णयको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्