१३ साउन २०७५, काठमाडौं
सभामुख र उपसभामुख एउटै दलको भएको भन्ने विषयमा बहस नगर्न सभामुख कृष्णबहादुर महराले रुलिङ्ग गरेका छन्।
कांग्रेस सांसद लक्ष्मी परियारले आजको बैठकमा उक्त विषय उठाएपछि सभामुख महराले अदालतमा विचाराधीन रहेको विषयलाई संसदमा छलफल र बहस गर्न नमिल्ने जनाएका हुन्।
प्रतिनिधिसभामा बोल्दै सभामुख महराले भने, “अदालतमा विचाराधीन रहेको विषयलाई संविधानको धारा १०५ मा भए अनुसार नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा न्याय निरुपण प्रतिकुल असर पर्ने कारण यस सम्बन्धमा छलफल गर्न नमिल्ने जानकारी गराउँछु।” भन्दै सबै सांसदहरुलाई रुलिङ्ग गराएका थिए।
अधिवक्ता अच्युत खरेलले एउटै पार्टीको सभामुख र उपसभामुख भएकोले त्यो संबिधान विपरित भएकोले पुन निर्वाचन गरेर फरक फरक दलको सभामुख र उपसभामुख बनाइनुपर्छ भन्दै गत जेष्ठ ११ गते रिट निवेदन दर्ता गराएका थिए। यस अघि तत्कालिन एमाले र माओवादीबाट सभामुख र उपसभामुख निर्वाचित भएपनि पार्टी एकीकरण भएसँगै एउतै पार्टीको भएको थियो।