१४ साउन २०७५, काठमाडौं
प्रस्तावित प्रधानन्यायधीस दिपकराज जोशीबारे निर्णय नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । सोमबार बसेको समितिको बैठकमा कांग्रेस नेताहरुले छलफलका लागि समय माग गरेपछि बैठक २ दिन पर सारिएको समितिका सदस्य तथा नेकपाका सांसद योगेश भट्टराईले जानकारी दिए ।
बैठकमा नेकपाको सबैजसो नेताले अनुमोदन गर्न नसकिने धारणा राखेका थिए भने प्रतिपक्ष दल कांग्रेसले अनुमोदन गर्नुपर्ने भनाई राखेका थिए । सुनुवाई सकिएको ४ दिन बित्दा पनि अनुमोदन नहुनुको कारण प्रस्तावित प्रधानन्यायधीसको जवाफ चित्तबुझ्दो नहुनु भएको प्रधानमन्त्री निकट स्रोतको दावी छ ।
४ महिनादेखी सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायधीसमा रहनुभएको जोशीको शैक्षिक प्रमाणपत्र विवाद परेको छ । सुनुवाईको क्रममा सांसदले झन्डै ४० मिनेट प्रश्न उठाएका थिए तर जोशीले १३ मिनेट मात्र जवाफ दिएको भन्दै सांसदहरु रुष्ट बनेका हुन् ।सुनुवाईको क्रममा जोशीकोे प्रमाणपत्र नै बुझाएपनि विवाद नटुंगिएको समितिका सदस्यहरुले बताएका छन् ।
समितिको अर्को बैठक १६ गतेको लागि फेरी बोलाईएको छ ।