१५ साउन २०७५, काठमाडौं
आज साउन १५ अर्थात खीर खाने दिन। आजको दिन घरघरमा खीर खाएर रमाईलाे गरि यो पर्व मनाइँदैछ । नेपाली संस्कृतिका विभिन्न चाडपर्व मध्ये साउन १५ पनि एक मानिन्छ ।
नेपाली संस्कृतिक चलनचल्तीमा असार १५ गते दही च्युरा खाने चलन भएजस्तै साउन १५ गते खीर खाने चलन रहेको छ । नेपाल कृषि प्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खीर खाने परम्पराको विकास भएको बुढापाकाकाे भनाई रहि आएको छ।
खीरमा रहेको दूध, घिउ, चामल, अलैंची–सुकमेल, नरिवल, काजु, काजी–बदाम, किसमिस, केशर, चिनीलगायतको मिश्रणले शरीररलाई न्यानो तथा बर्खायाम भरि खेती गरेर थाक्ने किसानहरुलाई स्फुर्ति समेत दिने भएकाले पनि खिर खाने चलन रहदै आएको छ । खीर खाएमा हाम्रो शरीरलाई स्वस्थ्य र फुर्तिलो बनाउन सहयोग पुर्याउने विश्वास रही आएको छ ।
आजको दिन घरपरिवार, ईष्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खिर खाएर रमाइलो गर्ने प्रचलन समेत रहेको छ । यसै रमाइलोका लागि देशका विभिन्न ठाउमा विभिन्न जातजातिहरुको समुहहरुले याे पर्व मनाउदै छन् ।