१८ औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) का लागि खेलाडीहरू वैदेशिक प्रशिक्षणमा : अध्यक्ष जीवनराम श्रेष्ठ



१५ साउन २०७५, काठमाडौं

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले परिषद, एनओसी र संघको पहलमा खेलाडीहरू वैदेशिक प्रशिक्षणमा रहेको जानकारी दिएका छन् । ‘वैदेशिक प्रशिक्षणमा जान एनओसीले पनि सहयोग गरेको छ, परिषद् र सम्बन्धित संघले पनि यसका लागि व्यवस्था मिलाएका छन्,’ श्रेष्ठले भने, ‘हाम्रो पहलमा केही खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा छन् ।’

१८ औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) नजिकिँदै छ । भदौको पहिलो साता इन्डोनेसियाको जकार्तामा एसियाड खेल हुनेछ । ४० एसियन राष्ट्रका खेलाडीले ४० खेलअन्तर्गत ४ सय ६५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । एसियाडका लागि सहभागी राष्ट्रका खेलाडी सम्भवत: अन्तिम तयारीमा जुटेका छन् ।

सन् १९६४ को टोकियो एसियाडदेखि सहभागिता जनाएको नेपालले जकार्ता एसियाडमा उच्च नतिजा निकाल्ने तयारीलाई तीव्रता दिएको छ । नेपालले २९ खेलमा भाग लिनेछ । आधाजसो खेलका खेलाडी नेपालमै प्रशिक्षण गरिरहेका छन् । अन्तर्रा्ष्ट्रिय जगत्मा राम्रो सम्बन्ध भएका संघका खेलाडी भने वैदेशिक प्रशिक्षणमा छन् । सोमबारै मात्र गल्फका खेलाडी थाइल्यान्डमा प्रशिक्षण गर्न हिँडेका छन् । कुन खेलका खेलाडी कहाँ प्रशिक्षणमा छन् ?

तेक्वान्दो (दक्षिण कोरिया)
एसियाडमा अहिलेसम्म नेपाललाई उत्कृष्ट नतिजा दिलाएको खेल तेक्वान्दो हो । सन् १९९८ को बैंकक एसियाडमा सविता राजभण्डारीले नेपाललाई रजतपदक दिलाएकी थिइन् । राजभण्डारीले जितेको रजत नै अहिलेसम्म एसियाडमा नेपालको उच्च प्रदर्शन हो । दीपक विष्टले ब्याक टु ब्याक एसियाडमा कांस्य जितेका छन् । सन् २००६ मा दोहा एसियाडमा कांस्यपदक जित्दै दीपकले लगातार दुई कांस्य जित्ने रेकर्ड राखे । दोहा एसियाडमा आयुष शाक्य तथा मनीता शाहीले पनि कांस्य जिते । त्यसयता तेक्वान्दोका खेलाडीले एसियाडमा पदक जित्न सकेका छैनन् । १२ वर्ष उपाधिविहीन रहेको तेक्वान्दोबाट यसपटक पदकको आशा गरिएको छ । अहिले तेक्वान्दोका खेलाडी गत वैशाखदेखि दक्षिण कोरियामा प्रशिक्षणमा छन् । प्रशिक्षकका रूपमा संगीना वैद्य र दीपक छन् । दुवै प्रशिक्षकले खेलाडीलाई कोरियामा प्रशिक्षण दिइरहेका छन् । तेक्वान्दोको हेडक्वार्टर नै कोरियामा छ । नेपाल तेक्वान्दो संघका उच्चपदाधिकारी र कोरियन अधिकारीबीचको सम्बन्ध निकै राम्रो भएकाले नै समान पाँच पुरुष र महिला खेलाडीले एसियाडको तयारीका लागि चार महिना कोरियामा प्रशिक्षण गर्ने अवसर पाएका हुन् ।

बक्सिङ (थाइल्यान्ड)
सन् २०१० मा ग्वाङझाउ एसियाडमा दीपक महर्जनले बक्सिङमा अन्तिमपटक कांस्यपदक दिलाए । तर, इन्चोन एसियाडमा बक्सिङले कुनै पदक हात पार्न सकेन । अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुअघि बक्सिङका खेलाडी वैदेशिक प्रशिक्षणमा जाने गर्छन् । बक्सिङको वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्डको बैंकक उर्वर भूमि मानिन्छ । बैंककमा विश्वस्तरीय स्पारिङ तथा अभ्यास सुविधा उपलब्ध हुँदा नेपाली खेलाडीको पहिलो गन्तव्य नै बैंकक हुँदै आइरहेको छ । यसपटक पनि एसियाडमा भाग लिने खेलाडी बैंककमा असारको तेस्रो सातादेखि प्रशिक्षणमा छन् ।

जुडो (जापान)
नेपाल जुडो संघले एसियाका लागि हंगेरीमा वैदेशिक प्रशिक्षण गर्ने निर्णय गर्यो । संघले हंगेरीमा प्रशिक्षण गर्नका लागि जर्मन दूतावासमा भिसाका लागि निवेदन दियो । तर, दूतावासले खेलाडीलाई भिसा उपलब्ध नगराउँदा जुडोको हंगेरीमा हुने भनिएको प्रशिक्षण अन्योलमा परेको छ । खेलाडीको बस्ने सुविधा हंगेरीले नै बन्दोबस्त गरेको थियो । जुडो खेलाडीको एक समूह हंगेरीमा प्रशिक्षण गर्नबाट वञ्चित भए पनि ओलम्पियन खेलाडी फुपुल्हामु खत्री भने जापानमा प्रशिक्षणमा छिन् । ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत फुपुले जापानमै एसियाड र ओलम्पिकको तयारी गर्ने्छिन् । गत वैशाखदेखि नै फुपु जापानमा वैदेशिक प्रशिक्षणमा छिन् । नेपाल ओलम्पिक कमिटी र जुडो संघको पहलमा फुपुले जापानमा प्रशिक्षण गर्ने अवसर पाएकी हुन् ।

टेबलटेनिस (भारत)
एसियाडमा टेबलटेनिसका लागि चीन, जापान, दक्षिण कोरिया, भियतनाम, भारत तथा मलेसिया राम्रा मानिन्छन् । नेपालले यिनै राष्ट्रका खेलाडीबीच उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । अहिलेसम्म एसियाडमा सन्तोषजनक प्रदर्शन गर्न नसकेको टेबलटेनिसका खेलाडी पनि वैदेशिक प्रशिक्षणमै छन् । टेबलटेनिसका खेलाडी गत महिना भारतमा एसियाडको तयारीका लागि निस्केका थिए । भारत उड्नुअघि उनीहरूले दुई महिना विराटनगरमै क्लोज क्याम्पमा प्रशिक्षण गरेका थिए । त्यसपछि मात्र उनीहरू भारतमा प्रशिक्षण गर्न गए । लगभग एक महिनाको प्रशिक्षणपछि खेलाडीहरूले सीधै जकार्तामा सहभागिता जनाउनेछन् ।

फुटबल (बैंकक जाने तयारी)
एसियाडको तयारीमा रहेका युवा खेलाडीहरूले अनुशासन तोडेको घटनाले अखिल नेपाल फुटबल संघ (एन्फा) गम्भीर बनेको छ । क्लोज क्याम्पमा रहेको अवस्थामै युवा खेलाडीहरू डिस्कोमा जाँदा एन्फाले अनुशासनको कारबाहीको तयारी गरेको छ । यद्यपि, एसियाडका लागि बन्दसत्रमा रहेका खेलाडीले अनुशासन तोडे पनि एन्फाले राष्ट्रिय फुटबल टोलीलाई वैदेशिक प्रशिक्षणमा सहभागी गराउनेछ । एन्फाले बैंककमा खेलाडीलाई दशदिने प्रशिक्षणको व्यवस्था मिलाएको छ । सन् १९८२ देखि फुटबलले एसियाडमा सहभागिता जनाएको थियो । अहिलेसम्म नेपालले १५ खेलमा ६५ गोल खाएको छ । विपक्षी पोस्टमा नेपालले १ मात्र गोल गरेको छ । यामबहादुर घलेले पहिलो अन्तर्रा्ष्ट्रिय गोल नयाँदिल्ली एसियाडमा गरेका थिए । त्यसयता कुनै पनि संस्करणमा नेपाली फुटबल खेलाडीले गोल गर्न सकेका छैनन् ।

पेनकेक सिलात (सिंगापुर)
राष्ट्रिय खेलकुद परिषद्ले नयाँ खेलको अनुभव तथा अन्तर्रा्ष्ट्रिय एक्सपोजरका रूपमा सहभागिता जनाउन लागेको खेल पेनकेक सिलात हो । पेनकेक सिलातले पहिलोपटक एसियाडमा भाग लिँदै छ । छनोटमा रहेका खेलाडीमध्ये विवेककुमार विक मात्र वैदेशिक प्रशिक्षणमा छन् । उनले सिंगापुरमा प्रशिक्षण लिइरहेका छन् । विश्व पेनकेक सिलातका निर्देशक सेख अलाउद्दिनको सहयोगमा विवेककुमारले सिंगापुरमा प्रशिक्षण गर्ने अवसर पाएका हुन् ।

स्केटबोर्ड (हङकङ)
पेनकेक सिलातजस्तै स्केटबोर्ड पनि पहिलोपटक सहभागी हुन लागेको खेल हो । यस खेलका एक मात्र खेलाडी हङकङमा प्रशिक्षणमा व्यस्त छन् । उनी पोखरामा भएको दोस्रो राष्ट्रिय च्याम्पियनसिपबाट छनोट भएका थिए । बाँकी छनोट भएका खेलाडी नेपालमै प्रशिक्षणमा छन् । फेन्सिङ (दक्षिण कोरिया) राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको छोटो अवधिमै फेन्सिङले थुप्रै अन्तर्रा्ष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाइसकेको छ । फेन्सिङको अन्तर्रा्ष्ट्रिय पहुँच राम्रो मानिन्छ । फेन्सिङका खेलाडी गत साता मात्रै दक्षिण कोरियाको सोलमा वैदेशिक प्रशिक्षणमा गए । पुरुष र महिलामा समान चार खेलाडीले जकार्ता एसियाडमा भाग लिनेछन् । १५ अगस्टसम्म सोलमा प्रशिक्षण गरेपछि खेलाडीहरू सीधै जकार्ता जानेछन् ।

गल्फ (थाइल्यान्ड)
घरमै आयोजना हुने अन्तर्रा्ष्ट्रिय गल्फ प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न नसके पनि गल्फका खेलाडीले एसियाडको तयारी थाइल्यान्डको बैंककमा गर्ने भएका छन् । सोमबार एक कार्यक्रमबीच बैंककमा वैदेशिक प्रशिक्षणमा रहने खेलाडीहरूको बिदाइ भएको छ ।

कराते खेलाडी जापान जाने कुरै मात्र करातेमा दुई समानान्तर संघ हुँदा खेलाडीहरूको वैदेशिक प्रशिक्षण अन्योलमा परेको छ । राष्ट्रिय मान्यताको नेतृत्व दावा गुरुङ तथा अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त कराते संघको नेतृत्व पुरेन्द्रविक्रम लाखेले गरिरहेका छन् । दुई संघ भए पनि एसियाडमा सहभागी खेलाडीको तयारी राष्ट्रिय खेलकुद परिषद्ले गरिरहेको छ । परिषद्ले पोखरामा करातेका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो । तर, १ साउनदेखि खेलाडीहरू काठमाडौंमै प्रशिक्षणमा छन् । परिषद्ले करातेका खेलाडीलाई जापानमा प्रशिक्षण गराउने वाचा गरेको थियो । तर, परिषद्ले अहिलेसम्म उनीहरूलाई जापान पठाउने कुनै सुर नकस्दा वैदेशिक प्रशिक्षण अन्योलमा परेको छ ।

अहिलेसम्म १ रजत, २३ कांस्य एसियाडमा नेपालले अहिलेसम्म १ रजत र २३ कांस्यपदक जितेको छ । सन् १९५१ देखि १९९४ सम्म नेपालले ११ कांस्य हात पारेको थियो । सन् १९९८ मा नेपालले रजत जित्यो । सन् १९९८ देखि नेपाल पदकविहीन हुनुपरेको छैन । एसियाडमा एक मात्र रजतपदक तेक्वान्दोले जितेको थियो । लगातार कांस्यपदक जित्ने रेकर्ड पनि तेक्वान्दोले राखेको छ । परिषद्, एनओसी र संघको पहल खेलाडीले वैदेशिक प्रशिक्षणमा रहँदा त्यहाँ बस्नदेखि खानसम्मको व्यवस्था गर्नुपर्छ । परिषद्, संघ तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)को पहलमै खेलाडीहरू वैदेशिक प्रशिक्षणमा छन् ।

प्रतिक्रिया दिनुहोस्