१६ साउन २०७५, काठमाडौं
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुर्याउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ ।
निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुर्याउने निर्णय गरेको हो ।
यो योजना निगम सञ्चालक समितिबाट स्वीकृत गराएपछि कार्यान्वयनमा जाने निगममा महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । अहिले निगमसँग एक बोइङ ७५७, दुई न्यारोबडी ए ३२०–२०० र दुई वाइडबडी ए ३३०–२०० विमान छन् । करिब तीन दशक पुरानो बोइङ भने निगमले बेच्ने प्रक्रिया थालेको छ ।
अबको पाँच वर्षभित्र थप आठ न्यारोबडी र पाँच वाइडबडी जहाज किन्ने निगमको योजना छ । ‘दुई वाइडबडी जहाज भित्रनु निगमको रणनीति परिवर्तनको पहिलो पाइला हो,’ महाप्रबन्धक कंसाकारले भने, ‘अब आक्रामक रुपमा अगाडी बढ्नुको विकल्प छैन ।’यो खबर आजको नयाँ पत्रिकामा छ ।