१८ साउन २०७५, विराटनगर
विराटनगरका पानी उद्योगहरुले उत्पादन गरेको प्रशोधित पानीमा दिसामा पाइने हानिकारक ‘कोलीफर्म जिवाणु भेटिएको छ । विराटनगरबाट पानी उत्पादित हुने ११ उद्योगहरुले उत्पादन गरेको पानीमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको हो ।
सामाजिक विकास मन्त्रालयको नेतृत्वमा साउन पहिलो साता विराटनगरमा सञ्चालित पानी उद्योगहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ६ वटा पानी उद्योगमा सिलबन्दी गरिएको थियो भने २० वटा उद्योगहरुको पानी परीक्षणका लागि नमूना संकलन गरिएको थियो । नमूना संकलन गरिएका २० मध्ये ११ वटा उद्योगले उत्पादन गरेको पानीमा कोलिफर्म भेटिएको छ । जसमा गंगाजल उद्योग विराटनगर ५, गोमारानी जल उद्योग विराटनगर ४, शुभजल उद्योग बुढीगंगा १ मोरङ, पुजा फुड एण्ड बेभरेज इन्डष्ट्रिज प्रालि विराटनगर ६, तिरुपती जल उद्योग विराटनगर २, माउन्टेन वाटर ईन्डष्ट्रिज विराटनगर ११, हाइमल जल उद्योग विराटनगर १०, श्रीजल उद्योग विराटनगर १३, दिव्यश्री जल उद्योग विराटनगर १२, गंगाजल उद्योग विराटनगर ५, शितल जल उद्योग विराटनगर ८ ,जोनसोन जल उद्योग विराटनगर १४, दिव्यश्री जल उद्योग विराटनगर १२ मा दिशामा पाइने जिवाणु कोलीफर्म भेटिएकाले तत्काल बन्द गर्न निर्देशन दिइसकेको बताउदै ऐन अनुसार मुद्दा दर्ता गरी कार्वाही गरिने प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताए ।
मंगलम जल उद्योग विराटनगर ९, एस.एस.एस जल उद्योग विराटनगर ५, भूमि जल उद्योग विराटनगर १२ ले उत्पादन गरेको पानीमा लो पिए पाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जार र बोतलमा प्रशोधित पानी उत्पादन गरी बिक्री गर्दै आएका उद्योगहरुको पानीमा कोलिफर्म भेटिएको हो । मन्त्रालयले गरेको अनुगमनका क्रममा नमूना संकलन गरिएको पानी परीक्षण गर्दा ११ वटा उद्योगको पानीमा कोलिफर्म भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।
चार वर्षअघि खानेपानी संस्थानले वितरण गरेको पानीमा कोलिफर्म भेटिएको थियो । पानी कै कारण विराटनगरमा कमलपित्त ‘जण्डिस’ को प्रकोप फैलिएको थियो । प्रकोपका कारण १२ जनाको मृत्यु भएको थियो भने धेरै मानिस बिरामी परेका थिए । विराटनगरमा कमलपित्तको प्रकोप फैलिएसँगै जार तथा बोतलको पानी खानेको संख्या ह्वात्तै बढेपछि पानी उद्योगहरु पनि थपिए । तर त्यसपछि खासै पानी उद्योगको अनुगमन भएको थिएन । प्रदेश १ सामाजिक विकास मन्त्रालयमा गोपीप्रसाद घिमिरे सरुवा भएर आएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले अनुगमनको जिम्मेवारी दिएका थिए । घिमिरेको नेतृत्वमा भएको अनुगमन समितिले अनुगमनका क्रममा पानीको नमूना संकलन गरेको थियो ।
सुधार नभएसम्म बन्द
प्रयोगशाला परीक्षणबाट प्राप्त रिपोर्टका बिषयमा बिहीबार साँझ सामाजिक विकास मन्त्रालयमा छलफल भएको थियो । छलफलका क्रममा कोलिफर्म भेटिएको र समस्या भएका उद्योगहरुलाई तत्काल बन्द गर्ने निर्णय गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । कोलिफर्म जीवाणु भेटिएका उद्योगहरु मध्ये अधिकांश मापदण्ड पूरा नगरेका कारण शिलबन्दी गरिएकाहरु छन् । त्यस बाहेक अनुगमनका क्रममा सामान्य देखिएका उद्योगहरुको पानी परीक्षण गर्दा पनि कोलिफर्म भेटिएको थियो ।
कोलिफर्म भेटिएका उद्योगलाई बन्द गर्ने र सुधार नभएसम्म सञ्चालन गर्न नदिने निर्णय सामाजिक विकास मन्त्रालय गरेको छ । मोरङमा ४२ वटा पानी उद्योगहरु संचालन रहेका छन् भने विराटनगरमा मात्र ३५ वटा उद्योगहरु संचालनमा रहेका छन् ।