विषेश संसदीय सुनुवाईबाट अस्वीकृत जोशी आजदेखि बिदामा



२० साउन २०७५, काठमाडौं

विषेश संसदीय सुनुवाईबाट अस्वीकृत कामु प्रधानन्यायधीस दीपकराज जोशी आजबाट बिदामा बस्ने भएका छन् । १५ दिनका लागि बिदा मागेका जोशीको बिदा राष्ट्रपतिबाट स्वीकृत पनि भईसकेको छ ।

संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायधीस नियुक्तिका लागि सिफारिस नगरेसम्म उनी बिदामा बस्न लागेका हुन् । उनी बिदामा बसेपछि सर्वोच्चको वरिष्ठतम् न्यायधीस ओमप्रकाश मिश्रले पेशी तोक्ने छन् । मिश्रले पनि जोशीको जस्तै कतिपय विवादास्पद फैसला गरेपनि उनी नै भावी प्रधानन्यायधीस बन्ने सम्भावना रहेको छ ।

संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायधीसको टुङ्गो लगाएपछि मात्र जोशीको राजीनामाबारे कुरा गर्ने स्रोतले जनाएको छ । साथै उनलाई आधिकारिक अध्ययनबिना नै अस्वीकृत गरेको भन्दै आफ्नो शैक्षिक प्रमाणपत्रमाथि छानबिन हुनुपर्ने उनको माग रहेको छ ।

शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै उनले यो घटनालाई ‘स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई बिस्तारै कमजोर बनाई आफ्नो अभिष्ट पूरा गर्ने तत्वहरु सक्रिय भएको चरम अवस्थाको रुपमा समेत बुझेको’ उल्लेख गरेका छन्।

विज्ञप्तिमा उनले प्रमाणपत्रबारे प्रस्ष्टिकरण दिएपनि आफ्ना विवादास्पद फैसलाहरुबारे भने केही बोलेका छैनन्।

प्रतिक्रिया दिनुहोस्