२० साउन २०७५,पशुपति
भाइ फूल लैजाने हो ? विगत २० वर्षदेखी पशुपतिनाथ मन्दिर नजिकै फूल व्यापार गरिरहेकी बेलमाया खड्काले प्रश्न गरिन् ।
फूल लैजाउँ, फूल यता, मन्दिर जाने हो ? फूल लैजानुहोस भन्ने वेलमायाका जस्ता थुप्रै आगह मिश्रित प्रश्न भेटिन्छन् प्राय: मन्दिरहरुका छेउछाउ । हिन्दु धर्मावलम्वीहरुको प्रमुख गन्तव्यस्थल पशुपति आसपासमा त यस्ता प्रश्नहरु झन् धेरै सुनिन्छन् नै ।
मन्दिर जाँदा फूल चढाउने परम्परा अनुसार धर्मावलम्वीहरु फूलपाती बोकेर मन्दिरतर्फ लाग्छन् । धेरै मानिसहरुको जीविकोपार्जनको बाटो समेत बनेको छ, पुष्प व्यापार ।
नाङ्लोमा फूल व्यापार गरिरहेकी रामेछापकी ७० वर्षीय ती वृद्धाले सायद नजिकै उभिएको देखेर प्रश्न गरिन् । उनको त्यही प्रश्नले केहीबेर गन्थन गर्ने ढोका खुल्यो मेरा लागि ।
रामेछापमा उनीहरुको खेतिपाती ठिकठाक चल्दै थियो । एक दिन बेलमायाका श्रीमान् घाँस दाउरा गर्न जाँदा भीरबाट लड्न पुगे ।उक्त घटनापछि उनका श्रीमान् घरको काम गर्न नसक्ने गरी घाइते भए ।त्यसपछि भने बेलमायाको परिवार खेतीपाती छोडेर काठमाण्डौ पस्यो ।
उनले परिवारको बारेमा भनिन्,‘ हाम्रा ६ जना छोरीहरु विवाह गरी आफ्नै घर गइसके । श्रीमान् घर भित्र–बाहिर हिड्न सके पनि काम गर्न सक्नुहुन्न् । यहीँ नजिकै कोठा भाडामा लिएर दुई जना बसिरहेका छौँ ।’
बेलमायाले फुल पसलको सुरुवात गर्दा एक दुईवटा मात्रै फूल पसलहरु सञ्चालन भएका थिए । उनले थपिन् ‘अहिले फूल पसल च्याउसरी भइसके ।बूढीको पनि पसल रहेछ भन्ने दयाहुनेहरुले किन्न आउँछन्, अरु त त्यस्तै हो ।’
बेलमाया हाल पशुपति नजिकै एक घरमा महिनाको ८ हजार कोठाभाडा तिरेर श्रीमानसँग बसोबास गर्दै आएकी छिन् । शरिर बुढो हुँदै आएकाले अब धेरै समय व्यापार गर्न सक्दिन जस्तो लाग्छ बेलमायालाई ।
म धेरै समय बस्दिन दिउसो १ बजेतिर कोठामा फर्कन्छु । व्यापार धेरै नभएपनि दुई जना पालिन गाह्रो छैन् । एक दिन बिक्रि नभएको फूल अर्को दिन बेच्ने गरेको छु । उनले भनिन् ।’
यस्तै सिन्धुलीका केदार पूरी पनि पशुपति आसपासमा २०५६ बाट फूलमालको व्यापार गर्दैै आएका छन् । बिहान ४ बजेदेखि बेलकी ७ बजेसम्म व्यापारमै रमाउछन्,उनी । ‘अहिले त पानी परेर जतातै हिलो भएकाले व्यापार घटेको छ ।
अरु दिन लगभग ४–५ हजार बराबरको फूलमाला बिक्री हुने गरेको छ,उनले भने । उक्त व्यापारले उनका श्रीमती र २ छोरीसहित चार जनाको परिवार पालेको छ ।
‘कहिलेकाँही नगरपालिकाले पसल उठाउँदा भने असहज हुन्छ । फूल कुहिरएर फ्याँक्नुपर्छ ,मालाको फूल चुँडेर कुहिएको फाल्दै अरु फूलको रुपमा बेच्नुपर्छ उनले गुनासो गर्दै भने ।’
फरक प्रसंगमा पूरीले भने ‘सानोमा पढ्नुपर्छ भन्ने लागेन्, त्यतिखेर भागेर हिँडियो अहिले आएर पछुतो भएको छ । जे काम गरे पनि शिक्षा चाहिने रहेछ भन्ने बुझेको छु । त्यसै अध्ययन गर्न चाहिँ कसैले न छुटाओस् भन्ने चाहन्छु ।’
त्यस्तै ६० वर्षीय प्रेम बहादुर खड्काले फूलमालाको व्यापार गर्न थालेको २३ वर्ष पुगिसकको छ । ‘कहिले ४–५ हजार व्यापार पनि हुन्छ भने कहिले २–४ सयमा पनि चित्त बुझाउनुपर्छ, खड्काले भने ।’ उनको परिवारमा सात सदस्य छन् । भन्छन्,‘ यो कमाइले त के परिवार पालिन्थ्यो र । १७ हजार कोठा भाठा तिर्नुपर्छ , छोरा छोरीहरुले पनि कमाइ गर्छन् ।’
४ वर्ष नेपाली सेनामा समेत जागिरे भएका खड्काले भारी बोक्ने, नाली सोहोर्ने काम समेत नगरेका होइनन् । ‘छोराछोरी साना छँदा हुर्काउन, बढाउन निकै संघर्ष गर्नुपर्यो अहिले भने सुखै छ, उनले भने । फूलमाला व्यापार गर्न थालेपछि भने अरु गरौँ भन्ने लागेन उनलाई र यसैलाई निरन्तरता दिन थाले ।
कमाई नभएको त होइन साउनमा जंगलबाट वेलपत्र ल्याएर बेच्दा दिनको ३ हजार पनि कमाएको छु ।’ उनले छोराछोरीलाई शिक्षा दिनुपर्छ भन्ने सोचेर सबैलाई १२ कक्षासम्म पढाएका छन् ।
‘कतिपय मानिसले फूल बेचेरै घर बनाएको पनि सुनेको छु । अन्य कुरामा खर्च नगरी वचत गरेको भए मैले पनि काठमाण्डौमा घर बनाउने थिएँ, उनले भने ।’
मन्दिर आसपासका विभिन्न स्थानमा फूल व्यापार गर्ने धेरैे मानिसहरुको पेशा एक भएपनि बेलमाया खड्का ,केदार पूरी र प्रेमबहादुर खड्काजस्तै कथा भने अनेक छन् ।