२१ साउन २०७५, काठमाडौँ
अध्ययन र अध्यापनमा रमाउने “कालिका सर” शिक्षण पेशाबाट अवकाश हुँदा समेत आफ्नो रुचिमा अडिग छन् । कालिकाप्रसाद तिमिल्सिना जसलाई माया र सम्मानले धेरैले सम्वोधन गर्दै भन्ने र चिन्ने नाम हो “कालिका सर”।
२०२७ बाट औपचारिक रुपमा शिक्षण पेशा अंगालेका कालिका सर ६८ वर्षको उमेरमा समेत निरन्तर पढाई रहेका छन् । २०६८ सालमा जागिरे जीवनबाट अवकाश पाएका उनले केही समय विश्राम लिएपछि हाल जोरपाटीमा रहेको पिस नेपाल एकेडेमीमा अध्यापन गराइरहेका छन् । कक्षा ९–१० मा २ घण्टी पढाउने कालिका सर पौने तीन देखी साढे चारसम्म पिस नेपाल एकेडेमीमै भेटिन्छन् ।
काठमाण्डौको चाबहिलमा मध्यम वर्गीय परिवारमा जन्मिएका कालिकाले ५ वर्षको उमेरमा शारदा निमाविबाट अक्षर आरम्भ गरेका हुन् । परिवारको कमजोर आर्थिक स्थितीका कारण कक्षा ८ बाट नै महालेखा परिक्षकको कार्यालयमा टाइपिस्टको भूमिकाबाट जागिरे जीवनको सुरुवात गरेका हुन् कालिकाले ।
दिउँसो जागिर र बेलुकी विद्यालयमा अध्ययन गर्दै २०२६ सालमा मित्र रात्री माध्यमिक विद्यालयबाट एसएसलसी उतिर्ण गरका कालिकाले २०२७ मा शिव पार्वती माध्यमिक विद्यालयबाट औपचारिक रुपमा शिक्षण पेशाको सुरुवात गरे । ०२७ सालमा शिक्षक बन्दा उनी मात्रै १८ वर्षका थिए । त्यतिखेर उनले धेरै जसो सेना,प्रहरीमा आवद्ध विद्यार्थीहरुलाई कक्षा ९–१० मा पढाउँथे ।
जगिर र अध्ययनलाई सँगसँगै अघि बढाएका कालिकाले २०३१ सालमा त्रिचन्द्र क्याम्पसबाट बिए तथा २०३५ सालमा बिएड गरेका हुन् । त्यस्तै २०३८ सालमा अर्थशास्त्र तथा २०४५मा नेपाली बिषयबाट स्नातकोत्तर उतीर्ण गरेका हुन् ।सरकारी तथा निजी विद्यालयमा विहान केही घण्टा अध्यापन गराएपछि रानीपोखरीमा रहेको संस्कृत माध्यमिक विद्यालयमा पूर्ण समय अध्यापन गराउथेँ कालिका सरले । बेलुका भने अध्ययन गर्न कलेज पुग्थे ।
२०३९ सालमा स्थायी भएका कालिका सरले नेपाली विषयमा स्नाकोत्तर गर्दा भने अध्ययन बिदा लिएर गरेका थिए । कालिका सरले सरकारी र निजी विद्यालय मात्रै नभएर कलेजमा पनि अध्यापन गराएका छन् । शिव पार्वती माविपछि उनले सरकारी विद्यालय अन्तर्गत चाबहिलमा रहेको पशुपति माध्यमिक विद्यालयमा केही समय अध्यापन गराए । दिउँसो सस्कृत माध्यमिक विद्यालयमा पूर्ण समय पढाउने कालिका सरले पद्मकन्या माध्यमिक विद्यालय र ग्राम शिक्षा मन्दिरमा विहान अध्यापन गराउँथे ।
त्यस्तै निजी विद्यालय अन्तर्गत प्रेरणा स्कुल, आइडियल स्कुल, मञ्जुगोक्सा एकेडेमी र पिस नेपाल एकेडेमीमा केही समय मिलाएर विहान पढाउँथे । त्यस्तै उनले अमृत साइन्स कलेज र नमुना मछिन्द्रमा समेत पढाएका छन् । विशेष गरी उनी अंग्रेजी, नेपाली, सामाजिक र नेपाली विषय पढाउँथे ।
एक समय कालिका सरले दिनभरमा १८ घण्टीसम्म पढाए । तर हाल केही घण्टा मात्रै पढाए पनि उनीमा त्यो समयको जोश अझ पनि घटेको छैन् ।सरकारी र निजी विद्यालयमा पढाउने शैलीमा उनको कहिल्यै भिन्नता आएन् । प्रधानाध्यापकको जिम्मेवारीमा कहिल्यै नरहे पनि उनी सहायक प्रधानाध्यापकको भूमिकामा रहे ।
विद्यालयमा अलिक कडा शिक्षकको रुपमा गनिने कालिका सरलाई विद्यार्थीले निकै सम्मान पनि गर्थे । अन्य शिक्षकलाई हेप्ने विद्यार्थी उनी आएपछि भने साइड लाग्थे । तथापी उनी स्कुलेदेखी कलेजका विद्यार्थीसम्म कालिका सरको नामले परिचित छन् । शिक्षणलाई पेशाभन्दा पनि रहरको रुपमा लिएका कालिका सर सरकारी र निजी विद्यालयको पढाइको स्तरमा खासै अन्तर देख्दैनन् ।
उनी भन्छन्,‘सरकारी विद्यालयमा आँखा चिम्लने प्रवृती हावी छ, उनीहरु आफूलाई जागीरे मात्रै सम्झन्छन् र खासै समय दिँदैनन् । तर निजी विद्यालयका प्रधानाध्यापकहरु वढी समय दिने बच्चाहरुको हेरचाहमा धेरै समय दिन्छन् । व्यवस्थापन राम्रो भएमा सरकारी र निजी विद्यालयमा खासै अन्तर देखिँदैन ।’
उनले भने, ‘शिक्षामा सुधार गर्ने हो भने जसलाई पायो उसलाई विद्यालय खोल्ने अनुमति दिनुहुँदैन । त्यस्तै सैद्घान्तिक भन्दा पनि व्यवहार उपयोगी शिक्षामा ध्यान दिनुपर्दछ ।कालिका सरको विभिन्न साहित्यिक पत्रिकामा कथाहरु पनि प्रकाशित छन् । साथै उनले विद्यालयबाट निस्कने पत्रिकामा सम्पादकको भूमिका पनि निवार्ह गरेका छन् ।
उनले पढाएका विद्यार्थीहरु प्राध्यापक, राजनीतिज्ञ,बैकंको म्यानेजर लगायत थुप्रै क्षेत्रमा स्थापित भएका छन् । उनी भन्छन्,‘उनीहरु ठूलै ओहदामा पुग्दा पनि मलाई विर्सिएका छैनन् । सायद त्यो मेरो माया र आत्मियताले होला ।’ डा. नवराज लम्साल पनि मेरै विद्यार्थी हुन् । गत गुरुपूर्णिममा उनले फोन गरेर मलाई सझिए । मैलै कमाएको सम्पति नै यहि त रहेछ नि भन्ने लाग्छ र आफूले पढाएका विद्यार्थीले यसरी सम्झँदा आत्मसन्तुष्टी मिल्दो रहेछ ।
सरकारी कार्यलयको अधिकृत बन्ने रहर पनि थियो उनको । तर त्यो रहर पूरा नभएपछि शिक्षक बनेका कालिकालाई कहिल्यै अन्यत्र जाने सोच पलाएन । हाल उनी विहान योगा गर्छन्, पुजापाठ गर्छन् भने स्वअध्ययनलाई पनि निरन्तरता दिदैँ आएका छन् । साथै विद्यालयमा त जानु छँदै छ । सबै कुराले साथ दियो भने अब २ वर्ष पढाउने रहर छ उनको ।
उनले एक अनुभव सुनाउँदै भने, ‘२०४६ सालको परिवर्तनपछि विद्यार्थीहरुमा अनुशासनको स्तर खस्किएको छ । त्यस्तै २०६२/०६३ को आन्दोलनपछि त झनै विद्यार्थी छाडा भएको महशुस गरेको छु । पढ्ने भन्दा पनि चिट चोरेर पास गर्ने मानसिकताको विकास भएको देखिन्छ । उनीहरु शिक्षकलाई गुरु होइन मानिस भनेर पनि स्थान दिन छाडेका छन् ।’
हाल उनले अध्ययापन गराइरहेको विद्यालयका व्यवस्थापक दावा तामाङले भने,‘कालिका सरले यो विद्यालयमा पढाउन भएको ५ वर्ष भयो । उहाँसँग विद्यार्थीहरु खुसी हुन्छन् र उहाँको पढाउने शैलीको पनि प्रसंशा गर्छन् । ६ महिना अमेरिका बसेर फर्कदाँ पनि विद्यार्थीहरुको मागले उहाँ फेरी यहि विद्यालयमा आउनुभएको छ ।’