२२ साउन २०७५, काठमाडौं
नेपालका ४ खेलाडी अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को बरियतामा पर्न सफल भएका छन् । आईसीसीले भर्खरै जारी गरेको नया बरियता अनुसार ट्वान्टी -ट्वान्टी क्रिकेट तर्फ नेपालका दुई बलर र दुई ब्याट्सम्यान शिर्ष १०० भित्र अटाएका हुन्।
शिर्ष १०० भित्र अटाएका मध्धे ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी रहेका छन्।
१२ अन्तराष्ट्रिय खेलमा पारसले २३६ रन बनाएका थिए भने भेषावाकरले ११ अन्तराष्ट्रिय खेलमा १९९ रन बनाएका थिए। त्यसैगरी रेग्मीले १२ अन्तराष्ट्रिय खेलमा १६ विकेट लिएका छन् भने कामीले पनि १२ अन्तराष्ट्रिय खेलमा १३ विकेट लिएका छन्।
ट्वान्टी -ट्वान्टी ब्याट्सम्यानको बरियतामा २६५ अंकसहित पारस ९० औँ स्थानमा छन् भने २३८ अंकसहित शरद ९८ औँ स्थानमा छन्। जहाँ अष्ट्रेलियाका आरोन फिन्च शिर्ष स्थानमा छन् भने पाकिस्तानका फकर जमान दोस्रो र भारतका लोकेश राहुल तेस्रो स्थानमा रहेका छन्।
त्यसैगरी बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औँ स्थानमा छन् भने ३३८ अंकसहित सोमपाल ९२ औँ स्थानमा छन्। जहाँ अफगानिस्तानका रासिद खान शिर्ष स्थानमा छन् भने पाकिस्तानका सहादाब खान दोस्रो स्थानमा रहेका छन्।