शिक्षा र वासरकोफका उत्तराधिकारीहरु (भिडियो सहित)



२६ असोज २०७५, काठमाडौं

मानव जीवनमा शिक्षाको महत्व हामी सबैले स्वीकार गरेका छौँ । शिक्षाको आवश्यकता, महत्व र अपरिहार्यताबारे गुणगान कसले गर्दैन र ? धर्मगुरु होस् वा कुनै नास्तिक, कलाकार होस् वा कुनै कारिन्दा, नेता होस् वा अभिनेता, सामन्त होस् वा सर्वहारा, प्रजातन्त्रवादी होस् वा तानाशाह, शिक्षाको महिमा मण्डन गर्न कोही पनि हिचकिचाउँदैनन् ।

लाखौँ लाख नेपालीहरुले प्रत्येक बिहान चण्डिपाठ गर्दा ‘या देवी सर्वभूतेषु विद्या रुपेन संस्थिता’ भनेर भट्याएकै छन् । देवीका अनेक रुपमध्ये विद्या रुपलाई हामी पटक–पटक श्रद्धाभावका साथ नमन गर्दछौँ ।

संयुक्त राष्ट्र संघले पनि शिक्षाको अधिकारलाई एक मूलभूत मानव अधिकारको रुपमा स्वीकार गरेको छ । नेपाल समेत विश्वका धेरैजसो देशमा शिक्षाले राष्ट्रिय बजेटको ठूलो भाग ओगट्ने गरेको छ । तर चाखलाग्दो के छ भने हामी सबैको मानसपटलमा शिक्षा शब्दको अर्थ र शिक्षाबाट पाउने परिणाम वा हासिल गर्ने उद्देश्यबारे भिन्नभिन्न अवधारणा र अपेक्षा छ ।

लेखक तथा विश्लेषक अजय धर्मदास वानप्रस्थीको शिक्षा सम्बन्धी भिडियो :

सानै उमेरबाट जब बालबालिकालाई शिक्षा दिने प्रक्रियाको सुरुवात गरिन्छ, हामीमध्ये धेरै जसोलाई हामी कुन उद्देश्यले, कुन लक्ष्य हासिल गर्न खोजेको हो भन्नेबारे स्पष्टता नै हुँदैन । हामीभित्र स्पष्टताको अभाव मात्र होइन, भ्रम छ, अज्ञानता छ । शिक्षाबारे तेत्रो महिमामण्डन गरेर पनि बालबालिकालाई के लक्ष्य प्राप्तिका लागि शिक्षित गर्न खोजिएको हो हामीलाई खासै थाहा छैन ।

जब विभिन्न मुलुकका सरकारहरुले विशेष गरी विकासशील देशहरुमा शिक्षाबारे दुखेसो पोख्छन्, उनीहरुको चिन्ताको विषय जनसङ्ख्याको ठूलो हिस्सा निरक्षर रहनु हो भन्ने ठानिन्छ । सबै सरकारहरुले सबै नागरिकहरु साक्षर होउन् र आधारभूत गणना गर्ने क्षमता भएका होउन् भन्ने लक्ष्यबाट प्रेरित हुन्छन् । हुन पनि हो विद्यालय शिक्षाका प्राथमिक वर्षहरुको एक मुख्य उद्देश्य विद्यार्थीहरुलाई साक्षर बनाउने, सामान्य लेखपढ र गणितको जस्तै जोड, घटाउ, गुणा, भाग इत्यादि सिकाउनु हो ।

सरकारहरुको चिन्ताको अर्को विषय हो, ठूला विद्यार्थीहरुलाई सीपमूलक शिक्षा अर्थात् कुनै विशेष सीप हस्तान्तरण गर्ने ताकि प्रत्येक विद्यार्थीहरुले जीविकोपार्जन गर्न सकून् ।

यसरी हेर्दा शिक्षा भनेको विभिन्न उमेर समूहका बालबालिकालाई जानकारी र सीप हस्तान्तरण गर्ने एक प्रक्रिया बन्न पुग्छ । हाम्रा सबै विषयका पढाइलाई जानकारीको हस्तान्तरण भन्न मिल्छ । भाषाको पढाइ होस् वा विज्ञान वा सामाजिक अध्ययन यी सबैमा शिक्षकले गर्ने कामलाई छोटकरीमा शिक्षकमार्फत विद्यार्थीलाई गरिने जानकारीको हस्तान्तरण भन्न सकिन्छ ।

यसका साथै शिक्षाको प्रक्रियामा मूल्य, मान्यता, विश्वास, बानीव्यहोरा, सामाजिक–सांस्कृतिक कथा, वर्णन र दृष्टिकोण तथा पूर्वाग्रहहरुको पनि हस्तान्तरण हुन्छ । यो हस्तान्तरण प्रक्रिया औपचारिक तवरमा शिक्षकबाट विद्यार्थीहरुलाई र घरपरिवार समाजका सदस्यहरुबाट एक पुस्ताबाट अर्को पुस्तालाई गरिन्छ ।

संक्षेपमा भन्ने हो भने प्रचलित शिक्षाको अवधारणामा ती सबै जानकारी र प्रभावहरु सामेल छन्, जसले व्यक्ति विशेषले सोच्ने र अनुभव गर्ने तरिकालाई प्रभावित गर्दछ । यस सोच्ने र अनुभव गर्ने तरिकाले व्यक्तिमा खास किसिमको दुष्टिकोण र प्रतिक्रिया गर्ने तरिका विकसित गर्दछ जो जीवनपर्यन्त रहन्छ र मानव जीवनको प्रत्येक पक्षलाई प्रभावित गर्दछ । बाल्यकालमा साक्षर हुने, गणना सिक्ने, विस्तारै लेख्नपढ्न सिक्ने, विभिन्न विषयबारे जानकारी संगाल्ने, अनि कुनै शैक्षिक उपाधि वा प्रमाणपत्र प्राप्त गरेर जागिर खान वा व्यापार गर्न लागि पर्ने अहिलेको शिक्षा व्यवस्थाले तयार गर्न खोजेको हो । होइन र ?

अठारौं शताब्दीका डेनमार्कका प्रख्यात अस्तित्ववादी दार्शनिक सोरेन किर्केगार्डले निकै कटाक्षपूर्ण रुपले भनेका थिए, लाग्दछ जीवनको अर्थ भनेको आजीविकाको उपार्जन मात्र हो । दुःखको कुरा वर्तमान शिक्षा पद्धतिले मानव जीवनको उच्चताको कुरा त परै जाओस् राम्रोसँग जीविकोपार्जन गर्न पनि सिकाउन असफल छ । व्यक्ति र समाजमा व्याप्त निराशा, विषाद, भ्रष्टचार तथा हिसांत्मक प्रवृति यस कुराको ज्वलंत प्रमाण हो ।

त्यसो भए शिक्षा भनेको वास्तवमा के हो त ? अनि यो के का लागि ?

किर्केगार्डको कटाक्ष अहिले पनि त्यत्तिकै सान्दर्भिक छ र धेरैजसो हामी वासरकोफका उत्तराधिकारी बन्न पुगेका छौँ ।

एक सानो प्रसङ्ग वासरकोफ बारे । वासरकोफ हंगेरीका बीसौँ शताब्दीको पूर्वार्धका प्रख्यात लेखक फ्रिजेस कोरियन्ति एकांकी नाटर्क ‘रिफण्ड’ को एक पात्र हो । विद्यालय उत्तीर्ण गरेर छोडेको १८ बर्षपछि वासरकोफ पुनः विद्यालयका प्रधानाध्यापकलाई भेट्न जान्छ र विद्यालयमा रहँदा तिरेको सबै शुल्क फिर्ता माग्छ । उसले तर्क दिन्छ कि विद्यालयको पढाइबाट उसले केही सिक्न सकेन र जीविकोपार्जन गर्न पनि असफल भयो । त्यसकारण उसले तिरेको सम्पूर्ण शुल्क फिर्ता पाउनुपर्छ ।

विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु मिलेर पुनः परीक्षाको आयोजना गर्दछन् । वासरकोफको बकवास उलजलूल जवाफलाई पनि शिक्षकहरुले छक्याएर सही प्रमाणित गरिदिन्छन् र वासरकोफले विद्यालयमा सिकेको प्रमाणित हुन्छ । वासरकोफले शुल्क फिर्ता पाउँदैन र निराश भएर फर्कन्छ ।

किर्केगार्डको कटाक्ष आज पनि उत्तिकै सान्दर्भिक छ । हाम्रा शिक्षितहरुमध्ये निकै ठूलो समूह अहिले पनि वासरकोफकै जस्तो स्थितिमा छ । शिक्षाबाट कतै न कतै छक्किएको र शिक्षाले जीवनमा कुनै उध्र्वगमनको त कुरै नगरौं, जीवनयापन गर्न पनि राम्र्रोसँग नसिकाएको भावना लिएर ऊ जीवन गुजारिरहेको छ ।

त्यसकारण शिक्षा के हो र के का लागि हो भन्ने दुई प्रश्न मूलभूत हुन् ।

कुनै पनि क्षेत्रमा जबसम्म समस्याको पहिचान हुन्न समाधानको दिशामा अग्रसर हुन सकिन्न । जबसम्म रोगको सही चिनारी हुन्न चिकित्सकले सही औषधी निर्धारण गर्न सक्दैन । समस्या र लक्ष्यको पहिचानबिना मार्ग अबलम्बन गर्न सकिँदैन । शिक्षामा राज्य, परिवार र व्यक्तिको पनि धेरै ठूलो लगानी छ । तर लगानी अनुरुप प्रतिफल आइरहेको देखिन्न । यसर्थ शिक्षाबारे सबै स्तरमा गहन चिन्तनमनन अति आवश्यक र अपरिहार्य छ । आखिर शिक्षाको सन्दर्भमा हामी सबै सरोकारवाला र साझेदार हौँ ।

यसर्थ शिक्षाबारे केही यक्ष प्रश्नबारे हामीले घोत्लनै पर्छ । शिक्षा के हो, के का लागि हो, उद्देश्यहरु के हुन् र शिक्षा कुन लक्ष्य हासिल गर्नका लागि हो ? यी यक्ष प्रश्नहरुको सही जवाफले मात्र समाधानको मार्ग ठम्याउन सक्छ । अन्यथा जीवनको विषादले हामीलाई गाँजिरहने देखिन्छ । शिक्षाबारे यी यक्ष प्रश्नको सही उत्तरबिना वासरकोफका उत्तराधिकारीलाई किर्केगार्डको व्यग्ङ्यबाट उन्मुक्ति छैन ।

प्रतिक्रिया दिनुहोस्