३० साउन २०७५, काठमाडौं
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) ले करोडौं चन्दा उठाएको स्वीकार गरेका छन् ।
अनुसन्धानमा खटिएका अधिकारीका अनुसार उनले करीब ७ करोड ५६ लाख चन्दा उठाएको विवरणसहितको आयव्याय रेकर्ड विशेष ब्युरोको टोलीले फेला पारेको छ । उनले २०७३ चैत्रदेखि चन्दा उठाएको विवरण बरामद भएको श्रोतको दावी छ ।
उक्त रकम चन्दा नभई सहयोग भएको उनको दावी रहेको छ । अनुसन्धान अधिकारी समक्ष बयान दिने क्रममा उनले “हामीले भौतिक,आर्थिक तथा नैतिक हिसाबले सहयोग लिएका छौं ।” भनेका छन् ।
गैर–कानुनी रुपमा थुनामा राखिएको भन्दै उनका छोरा नरेन्द्रबहादुर विकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाई गर्दै अदालतले प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सोही आदेश बमोजिम उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
उनी साउन २३ मा हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रहरीले नियन्त्रनमा लिएको थियो ।