३१ साउन २०७५, म्याग्दी
म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा बस्ती माथिबाट खसेको पहिरोका कारण पूर्णरूपमा क्षति पुगेका छ घरपरिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत उपलब्ध गराउने भएको छ । मङ्गलबार राति भएको पहिरोको घटनालगत्तै बुधबार दिउँसो बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बिलबाङका सबै घरबारबिहीन पहिरोपीडितलाई रु २० हजारका दरले राहत दिने निर्णय गरेको हो ।
गाउँ माथिबाट खसेको पहिरोले स्थानीय नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नुटबहादुर पुन, श्यामलाल पुन र भुवन पुनको घर पूर्णरूपमा क्षति भएकोे थियो । पहिराका कारण बिलबालका एक दर्जन बढी घर उच्च जोखिममा परेकाले उनीहरूलाई समेत सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।
विपद् व्यवस्थापन समितिको बैठकले कालीगण्डकी नदीको कटानले बगाएको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीमा रहेको धौलागिरि आधारभूत विद्यालयको पूर्वाधार निर्माण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकार समक्ष अनुरोध गरिएको उनले बताए ।
बैठकले बाढी पहिरोको जोखिममा रहेका अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका गुइठे, काभ्रेभीर, फगाम, सुवा, कोप्चेपानीलगायत दर्जनौँ स्थानका घर नदीको कटान र पहिरोको जोखिममा रहेकाले संरक्षणको लागि प्रदेश सरकारसमक्ष अनुरोध गरी पठाउने निर्णय गर्नुका साथै स्तरोन्नति भइरहेको बेनी–जोमसोम सडक आयोजनालाई पनि बस्तीको संरक्षणको उपाय अबलम्वन गर्न निर्देशन दिइएको छ ।