‘कृष्ण पाउरोटी’का सारथि घनश्याम राजकर्णिकार



०२ भदौ २०७५, काठमाडौं

विहान चियासँग के खाने भन्ने प्रश्नमा धेरै मानिसहरुको उत्तर हुनुसक्छ, ‘पाउरोटी’ । सहज, सुपथ मूल्यमा खाजाको रुपमा उपलब्ध हुने पाउरोटीको माग शहरमा मात्र होइन हिजोआज गाउँमा पनि बढ्दो छ।

हामीले दिनहुँजसो खाजाको रुपमा प्रयोग गर्दै आएको पाउरोटी नेपालमा कसरी भित्रियो र त्यसक्रममा कस्ता घटना भए भन्ने कुराको जानकारी थोरैलाई मात्र होला । आज हामी उक्त कुराको जानकारी दिने प्रयत्न  गर्नेछौँ ।

नेपालमा वि.सं.२००५ सालमा कृष्ण बहादुर राजकर्णिकारले पाउरोटी भित्र्याएका हुन् । नेपालको इतिहासमा उनकै नामबाट राखिएको तथा केहि समय एकछत्र राज गरेको ‘कृष्ण पाउरोटी भण्डार’ कमलपोखरीमा हालसम्म कायमै छ । हाल उक्त पाउरोटी भण्डारका संञ्चालन कृष्णबहादुरका चार छोरामध्येका कान्छा छोरा घनश्याम राजकर्णिकारले गरिरहेका छन् । घनश्याम राजकर्णिकार व्यवसायीसँगै  नियात्राकारका रुपमा समेत परिचित छन् ।

घनश्यामका बराज्यू गजराज राजकर्णिकारको वीर शमशेरसँग निकटतम सम्बन्ध थियो । वीर शमशेरलाई जंगबहादरले थापाथली दरबारमा ल्याएर पालेका थिए । चकचके स्वभावका वीरशमशेर दरबार नजिकै रहेको घनश्यामका बराज्यू गजराज राजकर्णिकारको मिठाई पसलमा आएर जिलेबी,स्वारी जस्ता मिठाई सित्तैमा खाइदिन्थे ।

घनश्यामका बराज्यूको काम जंगबहादुरको दरबारमा मिठाई लग्ने हुन्थ्यो ,त्यहिबाट भएको चिनजानको आधारमा वीर शमशेर मिठाई सित्तैमा खाइदिन्थे  । तथापी घनश्यामका बराज्यू वीर शमशेर पछि ठूलो मान्छे बन्छ भन्दै उनलाई गाली गर्दैनथे ।

नभन्दै वीर शमशेर आफ्ना काका रणोद्वीपको हत्या गरी नेपालको इतिहासमा श्री ३ महाराज बने । उनी महाराज बने पनि घनश्यामका बराज्यूले सित्तैमा खुवाएको मिठाईको स्वाद बिर्सिएका थिएनन् ।त्यहि कारण गजराजका परिवारलाई हाम्रो परिवारले पाल्नुपर्छ भनी वीर शमशेरले आफ्ना सन्तानलाई भन्थे रे ,पछि आफ्ना पिताबाट सुनेका थिए घनश्याम राजकर्णिकारले ।

उनले एक रोचक घटना सुनाए, ‘मेरा बाजे हिरामान राजकर्णिकारसँग वीर शमशेर बाल्यकालमा खुव मिल्दा रहेछन् । एकदिन वीर शमशेरले श्री  ३ भएपछि प्रहरी पढाएर मेरा बाजेलाई पक्रेर ल्याउनु भनेछन् । केही गल्ती नगरेको बाजे डराउनुभएछ । श्री ३ले के चाहिन्छ भनि सोध्दा मलाई पुलिसबाट छुटकारा दिनु भन्नुभएछ । पछि वीर शमशेरले बाजेलाई हल्वाई (मठाई बनाउने काम गर्ने) को जागिर दिन पो बोलाएका रहेछन् । तत्पश्चात हाम्रो परिवारले दरबारमा हल्वाईको काम गर्ने अवसर पाएछ ।’

बराज्यूका कारण घनश्यामका बाजे हिरामान राजकर्णिकारले (वीर शमशेरका नेवार्नीपट्टीका छोरा ) तेजशमशेरको दरबारमा काम गर्थे ।

घनश्यामका बाजे हिरामानको मृत्यपछि तेजशमशेरको लालदरबारमा घनश्यामका पिता कृष्ण बहादुर राजकर्णिकार काम गर्न थाले ।तत्पश्चात लालदरबारको मालिकका रुपमा तेजशमशेरका जेठा छोरा इन्दु शमशेर आए  ।श्री ३ जुद्ध शमशेरले ग श्रेणीका राणाहरुलाई उपत्यका बाहिर पठाउने योजना अनुरुप इन्दु शमशेरलाई बडाहाकिम बनाएर इलाम धपाए। घनश्यामका पिता कृष्णबहादुर पनि मालिक इन्दु शमशेरको  टोलीमा इलाम प्रस्थान गरे ।

‘तत्कालिन समयमा वीर शमशेरले  लखनौबाट लुटेर राखेको धेरै धनसम्पती उनीहरुको परिवारमा थियो भन्ने गरिन्थ्यो रे, घनश्यामले भने ।’‘त्यसैले इन्दु शमशेर आफ्ना हीरा जवारीले खचाखच भएका कन्तुर बोकी इलाम पुगेछन् । केहि दिनपछि ती  अमूल्य बस्तु भएको एउटा कन्तुर भने बेपत्ता भएछ । कतै पनि उक्त कन्तुर नभेटेपछि बुवाका एक साथीले खुसुक्क गोठमा पनि हेर्नु भन्ने सन्देश दिएछन् । परालमुनी लुकाइएको अवस्थामा उक्त कन्तुर भेटिएछ ।

सुचना दिने साथी भने त्यहिबाट बेपत्ता भएछन् । हीरा, जवारीसहितका मूल्यवान वस्तु भएको कन्तुर भेट्टाए वापत् पचास विघा जमिन वक्सिस दिने निर्णय भएछ , मेरा पिताले गरेको सो कार्यप्रति । पचास विघा जमिन पाउने आशामा रहनुभएको पितामाथि इन्दुशमशेरका ठकुरी जुवाइँले र्याल काढेछन् । लगत्तै उक्त जग्गा इन्दु शमशेरको. जुवाइँको नाममा लिखित पास भएपछि पिताजि मन थाम्न नसकी राणहरुको सेवा नगर्ने निर्णयसहित कलकत्ता प्रस्थान गर्नुभएछ ।

कलकत्तामा केहि  समय काम नपाएर भौतारिँनु भएका पिताजिले  कालीघाटको काली मन्दिरमा  ८–९ वर्षकी एक बालिका भिडमा च्यापिन लागेको देख्नुभएछ । उहाँले अगाँलो हाली उक्त बच्चा बचाउनुभएछ । ती बालिकाका पिताले मेरा पिताजिलाई  निकै सहयोग गरेछन् । उनी पाउरोटी बनाउने एक प्रख्यात उद्योगको मिश्र्ती रहेछन् । उनीसँग १०–१२ दिन पाउरोटी बनाउन सिकेपछि पिताजि नेपाल फर्कनुभएछ ।

नयाँ आशा लिएर फर्कनुभएका पिताले २००५ सालबाट आफ्नै निवासमा कृष्ण पाउरोटी नामक उद्योग सञ्चालन गर्न थाल्नुभएछ ।’यस्तै रोचक र दुखदायी कुराबाट जन्मिएको थियो कृष्ण पाउरोटी । र यसरी भित्रिएको थियो नेपालमा ,कृष्ण बहादुरका कान्छा छोरा घनश्याम राकर्णिकारले सुनाए ।

 

सुरुवातमा १०–१२ पाउण्ड पाउरोटी बनाउने र चिया पनि राख्ने  कृष्ण पाउरोटीमा विश्वेश्वर प्रसाद कोइराला चिया पिउन आउने गर्थे । तत्कालिन समयमा कमलपोखरी काँग्रेसहरुको गड जस्तै थियो ।राणबाट धोका पाउनुभएका पिताजि काँग्रेससँग मिल्नुभएछ । राजा त्रिभुवनको कपाल काट्ने बलदेव ठाकुर पनि हाम्रै पसलमा आउने गर्थे । अनि उनीबाट राजाका कुरा पत्ता लगाउने भने यता काँग्रेसका योजना बन्ने गर्थ्यो हाम्रो पसलमा, उनले भने ।’

विपीले उनका पितालाई पजातन्त्र आउँछ अनि मानिसमा पाउरोटीको चाहना बढ्छ भन्दै ढाडस दिन्थे भने एक राणाले  पनि पाउरोटी नछोड्न आग्रह गर्थे ।उनले एक प्रसंग सुनाउँदै भने, ‘इस्ट मसला नहुँदा पाउरोटी फुलाउनका लागि हब्सको  प्रयोग गरिन्थ्यो । हामीले यो मसला प्रयोग गर्दा यसको सोतो झोल भएकाले  पाउरोटीमा जाँड मिसाएर बेच्न थाले भन्ने आरोप खेप्नुपर्यो । तर पछि मसला हो भनेर सम्झाएपछि भने उक्त आरोपबाट मुक्त भइयो, केहि समय पाउरोटीको व्यापारमा कमि आयो, घनश्यामले भने ।’

त्यस्तै भारतमा पाउरोटी खुट्टाले मुस्ने गरिन्छ ।  पिता धार्मिक भएकाले हामीले चाहिँ हातकै प्रयोग गर्यौ । खुट्टाले मुसेको हामी खादैनौँ भनेर ब्राह्मणहरुले हल्ला फिजाएपछि विक्रीमा कमि आयो । तर पछि होचो टेबलमा हातले मुछेको देखेपछि भने सकारात्मक परिस्थितीको श्रृजना भयो र चिया पाउरोटी खाने चलनको सुरु भयो , उनले भने ।’

त्यसपछि पाउरोटी मुछ्नका लागि कृष्णबहादुरले साथीभाइको सहयोग लिएर बेलायतबाट मेशिन झिकाए । ‘२०१६ सालमा मेशिन त आयो, पिताले मेशिन मात्रै देख्नुभयो तर मेशिनबाट पाउरोटी बनेको देख्न पाउनुभएन उहाँको निधन भयो ।‘

कृष्ण बहादुर नभएपनि उनका चार छोराले उक्त व्यवसायलाई अघि बढाउन थाले । २०१८ सालमा राजा महेन्द्रले  पनि  कृष्ण पाउरोटी खान थाले  ।

राजा महेन्द्रले खाने पाउरोटी भनेपछि कृष्ण पाउरोटीको माग पनि बढ्दै गयो । सोही मागलाई मध्यनजर गर्दै २०२१ मा  २ लाख ५० हजार बराबरको मेशिन कृष्ण पाउरोटीमा भित्रियो ।२०२९ सालमा एनआइडिसीबाट १६ लाख ऋण लिई जर्मनीबाट सेमीअटोमेटीक मेशिन ल्याउने तयारी भइरहेको बेला घनश्याम भने छात्रवृत्तीमा बेकरी म्यानेजमेन्ट को १० महिने तालिमका लागि जर्मनी नै गए 

त्यसपछि नेपाल फर्किएका घनश्यामले त्यहाँबाट १६ लाख पर्ने मेशिन १२ लाखमै झिकाउने कुरा दाजुभाइलाई बताए । साथै उनले १२ लाखमा उक्त मेशिन पनि पनि ल्याए ।त्यतिबेलासम्म ठिकठाक चलिरहेको व्यवसायबाट उनका माइला दाजुले आफ्नो अशं लिएर छुट्टिए ।अब तीन दाजुभाइले उक्त व्यवसाय अघि बढाउन थाले ।

करिब ४४–४५ सालसम्म उच्च स्थानमा रहेको व्यवसाय विस्तारै ओह्रालो लाग्न थाल्यो ,जव उनका जेठा दाजुको निधन भयो । उनका दाजुको स्थानमा भतिजा प्रवेश गरे । ‘भतिजालेसँगै काम गर्ने मनस्थिती नदेखाएपछिे सबै हिसाव गर्दा हामीले १५ वर्ष कमाइ गरेको सम्पूर्ण रकम उनलाई दियौँ  । त्यसपछि हामीले शुन्यबाट पुनः व्यवसाय सुरु गर्यौँ , घनश्यामले भने ।

दुई दाजुभाइले व्यवसाय अघि बढाइ रहेका थिए । ०५३ सालमा घनश्यमका साइला दाजुको पनि निधन भयो । त्यसपछि साइला दाजुका छोरासरुँग केही समय सहकार्य गरे । घनश्यामले दाजुका छोरालाई तिमी कमर्स पढेको मान्छे हिसाब किताब हेर म आर्टस पढेको मान्छे अन्य कुरा हेर्छु भनि सम्झाएका थिए । ‘तर केही समयपछि धमिलो पानीमा माछा मार्ने काम भयो, अफिसमा नयाँ मान्छे भित्रन थाले घनश्यामले, भने ।

२०६० सालबाट भने घनश्याम एक्लैले उक्त उद्योग अघि बढाए । एक्लै भएका घनश्यामले कृष्ण पाउरोटीमा केक, कुकिज, फेन्सी आइटम बढाउन थाले ।‘०६० सालपछि पाउरोटी थोरै मात्रामा बन्न थाल्यो । १२ लाखमा किनेको मेशिन कबाडीमा बेच्यौँ । छोरीहरुमध्ये विशेषगरी साइली छोरी प्रज्ञा श्रेष्ठले व्यवसाय हेर्दै आएकी छिन् । अरु छोरीहरु पनि व्यवसाय हेर्ने क्रममा छन् । मैले पिताजिको नामलाई बचाउने काम चाहिँ गरिरहेको छु, घनश्यामले भने ।’

बाल्यकालमा अरु दाजुभाइ भन्दा सोझा थिए घनश्याम । पढ्नमा जाँगरिला घनश्यामले  २०१५ सालमा जुद्दोदय पब्लिक स्कुलबाट एसएलसी उत्तीर्ण गरे ।त्यसपछि २०२१ मा त्रिचन्द्रबाट बिए पास गरेका घनश्यामले अर्थशास्त्र बिषयमा एमए उत्तीर्ण गरेका छन् ।

पुस्तक पढ्न रुची राख्ने राजकर्णिकार कवि गोकुल जोशीको दयनीय अवस्थाबाट कवि हुनुहुँदो रहेनछ भन्ने सोचमा पुगे । तर नाटककार बालकृष्ण सम देख्दा भने उनी जस्तै बन्नु पर्ने रहेछ भन्ने निष्कर्षमा पुगे ।

२०२०–२१ सालबाट एकाङ्की लेखनको सुरुवात गरेका घनश्यामको ‘मिलनको क्षण’नामक एकाङ्की,नाटक २०२४ सालको गोर्खापत्रमा छापिएको थियो ।त्यसपछि कथा, एकाङ्की, निबन्ध लेख्न थालेका घनश्यामले जर्मनीबाट फर्किएपछि नियात्रा पनि लेख्न थाले । उनले पहिलो कोशेली स्वरुप २०३५ मा  ‘केही चिन्तन केहि मन्थन’ नामक पुस्तक प्रकाशन गरे ।

साथीहरुले उनको प्रशंसा गर्न थाले । वरिष्ठ समालोचक माधवलाल कर्मचार्यले एउटै विधामा लाग्नु भन्ने सुझाव दिए उनलाई । हालसम्म उनका नियात्रा, संस्मरण, धार्मीक गरी ११ वटा पुस्तक प्रकाशित छन् ।

‘व्यवसाय र साहित्यलाईसँगै अघि बढाइरहेका ७७ वर्षीय राजकर्णिकार भन्छन्, व्यवसायले अहिले बचाउँछ भने साहित्यले मृत्यु पर्यन्त बचाई राख्छ । व्यवसायमा धेरै समय दिँदा साहित्य खस्किन्छ , साहित्यमा दिँदा व्यवसाय त्यसैले दुवैको व्यस्थापनमा पनि ध्यान दिन्छु ।’

उनले भने, ‘व्यवसायमा अझ सफल बन्थेँ साहित्यमा नलागेको भए । साहित्य यस्तो चिज हो यसमा लागेपछि छाड्न गाह्रो छ । त्यसैले कहिले मन मिच्छु त कहिले धन ।’ ‘सफल अरुले देख्ने हो तर आफूले भने सन्तुष्ट देख्छु आफैँलाई, घनश्यामले भने ।

२०२८ सालमा विवाह गरेका कर्णिकारको पाँच छोरी छन् । समयसमयमा विपश्यना गर्ने राजकर्णिकारलाई गौतम बुद्व भगवान जस्ता लाग्दैनन् ।‘उनी भन्छन्, पहिले बुद्वलाई भगवानको रुपमा हेर्थेँ । ध्यान गर्न थालेपछि भने बुद्वलाई कसैसँग दाँज्न नमिल्ने मानिसको रुपमा हेर्न थालेको छु । म पैसामुखी नभएको कारण ध्यानले गर्दा हो । ध्यानले मन बलियो बनाउन सिकाउँदो रहेछ । अब छोरीहरुले व्यवसाय सञ्चालन गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्