०३ भदौ २०७५, काठमाडौं
सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले १८ औं एशियाली खेलकूद प्रतियोगिताको तामझामका साथ भब्य उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा सहभागी राष्ट्रका सबै खेलाडीले आफ्नो देशको राष्ट्रियता झल्कने पोशाकमा मार्चपास गरेका थिए । एशियाली महादेशको सबैभन्दा ठूलो खेल एशियाली खेलकूद अर्थात एशियाडको उद्घाटन समारोहलाई दशौं हजारले प्रत्यक्ष र टेलिभिजनमार्फत लाखौंले हेरेको बताइएको छ ।
उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुने एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा १८५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
इण्डोनेसियामा सन् १९६२ मा पनि एशियाडको चौथो संस्करण भएको थियो ।