सुत्केरीले अब चार महिनाको तलब,९८ दिन विदा पाउने



०७ भदौ २०७५, काठमाडौं

सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले चार महिना आठ दिनको तलब पाउने भएका छन् ।

९८ दिन सुत्केरी विदासहित थप एक महिनाको तलब पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ ।

सरकारी, गैरसकारी वा निजी संघसंस्थामा कार्यरत महिलालाई विशेषज्ञ चिकित्सकको रायबमोजिम प्रजनन स्वास्थ्य रुग्णताका कारणले जटिल शल्यक्रिया गर्नुपर्ने भएमा अघि वा पछि एक महिनाको तलबसहिको बिदा दिने व्यवस्था विधेयकले समेटेको छ ।

पुरुष कर्मचारीको हकमा श्रीमती सुत्केरी भएको बेला हेरविचारका लागि १५ दिन बिदा दिने प्रस्ताव पनि गरिएको छ । विधेयकअनुसार सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्म तलबसहित प्रसूति बिदा पाउनेछन् । दफा १३ मा भनिएको छ, ‘कुनै गर्भवती महिलालाई बिदा अपुग हुने भएमा स्वास्थ्यकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहित प्रसूति बिदा पाउने अधिकार हुनेछ ।’

पत्नी सुत्केरी हुने भएमा पुरुष कर्मचारीलाई समेत प्रसूति स्याहारका लागि १५ दिन पारिश्रमिकसहित बिदा दिनुपर्ने व्यवस्थालाई विधेयकमा निरन्तरता दिइएको हो । रोजगारदाता संघसंस्थाले पनि महिला कर्मचारीलाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने विधेयकमा उल्लेख छ ।

मृतक शिशुलाई जन्म दिएमा वा जन्मिएपछि शिशुको मृत्यु भएमा पनि बिदा पाउने अधिकार कटौती नहुने व्यवस्था विधेयकमा छ ।

प्रतिक्रिया दिनुहोस्