०७ भदौ २०७५, काठकाडौं
यत्तिबेला मेस्सीको सन्यासको बारेमा चर्चा चलिरहेको छ । आगामी ग्वाटेमाला र कोलम्बिया विरुद्ध हुने मैत्रीपूर्ण खेल खेल्ने अर्जेन्टिनाको टिममा नपरेपछि उनको सन्यासले चर्चा पाएको हो । सन् २०१६ मा कोपा अमेरिका फुटबलको फाईनलमा चिलीविरुद्ध पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सन्यास लिएका थिए ।
तर, चौतर्फी दवावपछि मेस्सी फेरी अर्जेन्टिना टिममा फर्किएका हुन् । भर्खरै रसियामा सम्पन्न विश्व कपमा राम्रो प्रदर्शन दर्शकले हेर्न नपाएपछि उनले चर्को आलोचना सहनुपरेको थियो । त्यसपछि अब मेस्सीले खेल खेल्ने की नखेल्ने भन्ने बारे खुलाईएको छैन ।
अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनीले पनि मेस्सीबारे केही बोलेका छैनन् । मैले मेस्सीसँग कुरा गरेको छु, उक्त कुराकानी पछिनै उनलाई टिममा नराखिएको हो, इमान्दार भएर भन्नुपर्दा हामीले भविष्यको बारेमा कुरा भने गरेनौं, उनले भने ।
स्कलोनीको अनुसार मेस्सीले सन्यास लिने अनुमान लगाउन सकिन्छ ।
उनले स्पेनिस क्लब बार्सिलोनाको सबै उपाधिमा राम्रै योगदान दिएपनि राष्ट्रिय टोलीलाई भने केही दिन नसकेको आरोप लाग्दै आएको छ । रसिया विश्वकप लगत्तै अर्जेन्टिनाका मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीले राजीनामा दिएका थिए । यस सँगै मेस्सीले पनि राजीनामा दिने चर्चा चलेको थियो ।