०७ भदौ २०७५, काठमाडौं
रौतहटको चन्द्रनिगाहपुरमा बन्ने नेपालकै पहिलो महिला फुटबल एकेडेमी भवनको ढाँचा तयार भएको छ ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाको स्वीकृतीमा रौतहटमा सुविधा सम्पन्न भवन बनाउन लागिएको हो । कुल ४ करोड ३५ लाखको लागतका बन्न लागेको भवनमा सुविधा सम्पन्न होस्टलसहित फुटबल मैदान रहने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सामाजिक संजालबाट एकेडमीको भवनको ढाँचा सार्वजनिक गरेका छन् । अध्यक्ष शेर्पाले ट्वीटरबाट भवनको ई(बिल्डिङ सार्वजनिक गरेका हुन् ।
एकेडेमीको काम आजैबाट सुरु भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन् । उनका अनुासार ६ महिना देखि ८ महिनासम्ममा भवन बनिसक्ने भएको छ । एन्फाले आर्थिक नियामावली अनुसार ३५ दिने खुल्ला टेन्डर आह्वान गरेर भवन निर्माण गर्न लागेको हो।
उक्त एकेडेमीमा करिब ४० महिला अटाउन सक्ने जनाईएको छ । भवनको लागि चन्द्रनिगाहपुर उपमहानगरपालिकाले ६ विघा जग्गा उपलब्ध गराईसकेको एन्फाले जनाएको छ ।