दिपेन्द्रको शतकमा नेपालद्वारा ब्लुमफिल्डलाई ३२४ रनको लक्ष्य



०८ भदौ २०७५, काठमाडौं

एसिया कप छनौटको लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ब्लुमफिल्डलाई ३२४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपाली टोलीले पुरै ५० ओभर खेल्दै ८ विकेट घुमाएर ३२३ रन बनायो । श्रीलंकाको फस्ट क्लास टिम ब्लुमफिल्डविरुद्ध नेपाली टिमका दिपेन्द्र सिंह ऐरिले शतकीय इनिङस खेले । उनले ९६ बलमा ११२ रन बनाए । यस्तै सागर पुनले ८२ बल खेल्दै ९२ रनको योगदान दिए । त्यसबाहेक नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले २३ बलमा २३ रन खेले भने करण केसीले २६ र अनिल कुमार शाहले १७ रनको योगदान दिए ।

मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा अभ्यास खेल खेलिरहेको हो । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको थियो । ब्लुमफिल्डपछि नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा आइतबार खेल्ने छ ।

तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्