१ कक्षाको मासिक सत्र हजार शुल्क असुल्ने ड्याफोडिल स्कूलले स्थानीय सरकारलाई तिर्ने करिव ८ लाख तिर्दैन
०८ भदौ २०७५, काठमाडौं
सुन्दै अचम्म लाग्न सक्छ ! अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाको रुपमा दावी गर्ने बू.न.पा. वडा नं. १० कपन स्थित ड्याफोडिल पब्लिक स्कूलले स्थानीय सरकारलाई तिर्ने सम्पति कर विगत ५ वर्षदेखि तिरेको छैन ।
विद्यालयको लेखा शाखाले दिएको जानकारी अनुसार कक्षा १ मा भर्ना शुल्क ४८७५० र मासिक शुल्कमा डे बोडर्सको १७५१० तथा डे स्कलरको ५९७० शुल्क बुझाउनुपर्छ । पक्कै पनि विद्यालयका अभिभावकले तिर्ने कुनै शुल्क बाँकी छैन तर विद्यालयले भने सरकारलाई बुझाउने सम्पत्ति कर ५ वर्षदेखि बुझाएको छैन ।
काठमाडौंका महँगा विद्यालयको कोटीमा पर्ने ड्याफोडिल स्कूलको शैक्षिक गुणस्तर राम्रो भएपनि विद्यार्थीलाई नैतिक शिक्षा दिने विद्यालय प्रशासन भने आफ्नो नैतिकतामा चुकेको देखिन्छ । विद्यालयले प्रयोग गरेको जग्गा र भवन व्यक्तिको नाममा छ । यद्धपी विद्यालयको संचालक पनि सोही व्यक्ति भएकोले सम्पत्ति कर स्थानीय सरकारले गरेको मुल्याङ्कन करिब साँढे ८ करोड सम्पत्तिको जरिवाना, छुट सहित सात लाख छ्यात्तर हज्जार चार सय बुझाउन बाँकी रहेको वडा कार्यालय श्रोतले परिवर्तन खबरलाई बताएको छ ।
त्यति मात्र हैन, स्थानीय सरकारले आयोजना गर्ने शिक्षा सम्बन्धिका बैठक तथा कार्यक्रममा समेत विद्यालयले प्रतिनिधि पठाउँदैन । शिक्षा नियमावली अनुसार गठन गर्नुपर्ने विद्यालय व्यवस्थापन समिति समेत गठन नभएको बुझिएको छ । व्यवस्थापन समितिमा राख्नुपर्ने जनप्रतिनिधिलाई समेत वास्ता नगरेको वडा कार्यालय श्रोतले बतायो । नियमित शैक्षिक कार्यक्रम आयोजना गर्ने विद्यालयले आजसम्म स्थानीय जनप्रतिनिधिलाई विद्यालयमा निमन्त्रणा गर्न समेत आवश्यक ठानेको देखिएन ।
परिवर्तन खबरबाट सम्पादक आफैं उपस्थित भई जरुरी काम भएकोले प्रिन्सिपललाई ५ मिनेट मात्र भेट्ने वातावरण मिलाउन अनुरोध गर्दा समेत विद्यालय प्रसाशनले प्रिन्सिपलको व्यस्तातको कारण देखाउंदै सोमबार मात्र भेट्न सकिने जानकारी दियो । निकै अनुरोध पछि विद्यालयको रिसेप्सनबाट प्राप्त मोबाईल नम्बरमा म्यासेज र पटकौं फोन गर्दा समेत विद्यालयको जिम्मेवार व्यक्तिबाट कुनै प्रतिक्रिया पाउन सकिएन । हुनत स्थानीय सरकारको अनुरोध र निमन्त्रणा समेत वास्ता नगर्ने विद्यालय प्रशासनले एउटा पत्रकारलाई भेट्नु त किन प्राथमिकतामा पार्थ्यो र ?
ड्याफोडिलको विषयमा बुझ्न खोज्दा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले स्थानीय सरकारले सबैलाई करको दायरामा ल्याउने भएकोले ड्याफोडिल समेत नछुट्ने बताए ।
ड्याफोडिल स्कूलका बसहरु :