०८ भदौ २०७५, काठमाडौं
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो पटक जीपीएस ट्रयाकरको प्रयोग गरेको छ । बंगलादेशमा सेप्टेम्बरमा हुने साफको तयारीमा रहेका नेपाली टोलीले शुक्रबार जीपीएस ट्रयाकर प्रयोग गरेर प्रशिक्षण गरेका हुन् । जुन, नेपाली फुटबलमा पहिलो पटक प्रयोग गरिएको हो । आधुनिक फुटबलमा धेरै अगाडीबाट यसको प्रयोग भएपनि नेपालले यसअघि प्रयोग गरेको थिएन् ।
पहिलो पटक नेपालमा भित्रिएको यो प्रविधिले साफको लागि मात्र हैन नेपाली फुटबलको विकासमा पनि ठुलो सघाउ पुग्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए । नेपाली फुटबल इतिहासमा पहिलो पटक यो प्रविधि प्रयोग गरिएको हो, प्रशिक्षक महर्जनले भने, यसले खेलाडीको सम्पूर्ण रेकर्ड राख्ने गर्छ, अभ्यासमा खेलाडीको रियाक्सन र स्पिडबारे जानकारी दिन्छ । यस प्रविधिले नेपाली फुटबलको विकासमा ठुलो योगदान दिन्छ ।
थाइल्याण्डमा १० दिने प्रशिक्षण र एसियन गेम्सपछि नेपाली टोलीले बिहिबारबाट अभ्यास सुरु गरेको हो । साफको लागि २९ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा सेप्टेम्बर ४ बाट सुरु हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा भुटानसंग सेप्टेम्बर ६ मा खेल्नेछ । यस्तै नेपालले अन्तिम खेलमा आयोजक बंगलादेशसँग सेप्टेम्बर ८ खेल्नेछ । सेप्टेम्बर १५ सम्म हुने च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह बि मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।