११ भदौ २०७५, काठमाडौं
बंगलादेशको ढाकामा सेप्टेम्बर ०४ बाट सुरु हुने साफ सुजुकी कप फुटबलमा सहभागी जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विराज महर्जनको कप्तानीमा २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको हो । नेपाली टोलीको मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनौट गरेको नेपाली टोलीमा निराजन खड्गा र सुमन अर्याल टिममा स्थान बनाउँदा जर्ज प्रिन्स कार्की र कमल श्रेष्ठ टिम बाहिरिएका छन् । २९ सदस्यीय टोलीबाट अन्तिम टोलीको छनौट गरिएको हो ।
टोलीमा गोलकिपर किरणकुमार लिम्बु, विकेश कुथु र एलन न्यौपाने रहेका छन् । त्यस्तै दिनेश राजवंशी, देबेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, अदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल डिफेन्समा रहेका छन् । त्यसैगरि मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजन श्रेष्ठ र निराजन खड्गा रहेका छन्, भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् ।
सेप्टेम्बर १५ सम्म चल्ने सो खेलमा समुह ए मा परेको नेपालले दोस्रो खेलमा भुटानसँग सेप्टेम्बर ०६ मा खेल्नेछ । खेलमा समुहको शिर्ष दुई टोलीले अन्तिम स्थान बनाउनेछन् ।