भरियादेखि विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म



१२ भदौ २०७५, काठमाडौं

ताप्लेजुङमा जन्मिएका पूर्ण कुमार शेर्पा अर्थात् पिके शेर्पा बाल्यकाल देखि नै फरक सोच राख्थे । गाउँघरमा महिला र पुरुषले गर्ने काम छुट्टै हुन्थ्यो । जुन कुराले उनलाई असह्य पीडा दिन्थ्यो ।

मेलापातजाने, ढाडमा भाइबहिनीबोकेर घरका विभिन्न काम गर्ने,चोयाका डोका बुन्ने जस्ता गाउँघरका थुपै्र काम गरेका छन् उनले ।

सानैदेखि काममा विश्वास गर्ने पिके प्रकृतीप्रेमी थिए । त्यसकारण घर वरिपरि बँगैचा बनाउँथे र त्यसको सरसफाईमा विशेष ध्यान दिन्थे ।

घरको कामको व्यस्तता र पढनुपर्छ भन्ने मान्यता नबोकेको समाज हुर्किएका पिके वर्षमा एक महिना जति मात्रै विद्यालय जाने गर्थे । उनी भन्छन्, ‘शेर्पा समुदायमा पढ्ने खासै मानिस थिएनन् । गाउँमा पढ्नेले पनि खाएकै छ नपढ्ने पनि खाएकै छ , किन पढ्नु भन्ने कुरा आउँथ्यो । तर म चाहिँ घरमै बसेर अध्ययन गर्थे ।’

स्वअध्ययनलाई प्राथामिकतामा राखेका पिकेले स्कुल र कलेजमा भर्ना भए पनि विशेष गरी घरमै बसेर अध्ययन गरे । तथापी उनले स्नातकसम्म अध्ययन गरेका छन् ।

कक्षा ८ मा पढ्दा पढ्दै २०५२ सालमा काठमाण्डौ झरेका पिकेले शहरमा चिनेजानेका मानिस नहुँदा भारी बोक्ने काम सुरु गरे  । गाउँघमा भारी बोकेको अनुभव संगालेका पिकेलाई त्यो काम अप्ठेरो लागेन् । त्यसैले विदेशी पर्यटकको भारी बोकेर उनी मुक्तिनाथ, अन्नपूर्ण क्षेत्र र लाङटाङका विभिन्न स्थानमा पुगे ।

उनलाई मामाको छोराले काठमाण्डौ ल्याएका थिए । जाँडरक्सी खाएर हिड्ने मामाको छोराले उनलाई बेवारिसे जस्तो बनाइदिए । भन्छन्, ‘कोठामा खानेकुरा नहुँदा ५–६ दिन भोकै बस्नुपरेको छ ।’

भारी बोकेर विभिन्न स्थानमा पुगेका पिकेलाई शिक्षा चाहिने रहेछ भन्ने बोध भयो । भन्छन्, ‘त्यतिबेला शिक्षाको महत्व खड्कियो र पुनः गाउँ फर्किएँ ।’ त्यसपछि २०५४ सालमा एसएलसी उत्तीर्ण गरेर उनी पुनः काठमाण्डौ फर्किए र भारी बोक्ने कामलाई निन्तरता दिन थाले । 

सोहि क्रममा उनी गलैँचा कारखानमा काम गर्न पुगे । त्यहाँ उनी गलैचाँ मात्रै बुन्दैनथे, प्रौढलाई र बालबालिका पढाउँथे पनि। त्यो क्रमलाई जारी राख्दै उनले सरस्वती क्याम्पसमा भर्ना गरे र घरमै पढेर चार वर्षमा प्लसटु उत्तीर्ण गरे ।

प्रौढ कक्षा र बालबालिकालाई पढाउँदै गर्दा उनको स्तरोन्नति हुँदै गयो । त्यसपछि केहि समय भारत बसेर आएका बौद्घमा बस्ने परिवारसँग उनको भेटघाट भयो । उक्त परिवारमा ५ अशिक्षित छोरी थिए ।त्यसपछि उनले पाँच जनालाई पढाउने अवसर पाए , जसबापत उनले कोठाभाडा तिर्नुपर्दैनथ्यो ।

सिजनमा विदेशी पर्यटकको भारी बोक्ने र उता पढाउने काम थालेका पिकेले हिमाल आरोहणको तालिम पनिलिन थाले ।  त्यसपछि पिके भरियाबाट स्पेयर, भान्छाको काम, भान्छे हुँदै सहायक पथ प्रदर्शक अनि पूर्ण पथप्रदर्शक बने । उता उनको हिमाल आरोहणको तालिम पनि चलिरहेको थियो ।

साथै उनी सामाजिक काममा पनि गर्थे । उनलाई शेर्पाभित्रको भेदभाव पाच्य भएन् । उनको २०५९–६० मा शेर्पाभित्र तल्लो जातका भनिने युवतीसँग प्रेम बस्यो । उनीहरुको प्रेमलाई समाजले मन पराएन ।

तत्पश्चात शेर्पा संरक्षण नेपाल नामक संस्था गठन गरेर उनी भेदभाव हटाउने अभियानमा लागे । सो संस्थामा सचिवको भूमिकामा रहेर काम गरेका पिके भन्छन्, ‘त्यो संस्थामा बिस्तारै शेर्पाहरुलाई जोड्दै ल्याएँ , त्यसैको फलस्वरुप अहिले शेर्पाभित्रको भेदभावको अन्य भएको छ ।’

विभिन्न काममा सक्रिय पिकेलाई कञ्चनजंघा क्षेत्र पयटकीय हिसाबले अन्य क्षेत्रभन्दा पछाडि पर्यो भन्ने लाग्यो । त्यसकारण कञ्चनजंघा पर्यटन प्रवद्र्घन केन्द्रको अध्यक्ष बनेर सरसफाई, पर्यटन र जनचेतनाको कार्यक्रम सञ्चालन गरे । भन्छन्, ‘अहिले कञ्जनजंघा क्षेत्रमा पर्यटन के हो भन्ने सबैले बुझेका छन् ।’

उनले ट्रेकिगं कम्पनी दर्ता पनि गरेका छन् । त्यस्तै असिमित प्राकृतिक अवसर नेपाल नामक संस्था मार्फत पर्यटकीय स्थान पहिचान गर्ने अभियानमा लागे ।सो संस्था मार्फत उनले हाल हिमाल सरसफाईको कार्य गर्दै आएका छन् ।

२७ वर्षको उमेरमा विदेशी पर्यटकको सहयोग र आफूले पथप्रदर्शन गर्दा कमाएको रकमले घर जग्गा जोडे । सानैदेखि महिलाको सम्मान गर्ने पिकेले समाजबाट अपहेलित महिलासँग विवाह गरे । जसका कारण परिवारबाट हेलित हुँदा समेत उनी विचलित भएनन् ।

त्यसपछि उनले २०६१ घर जग्गा धितो राखेर जग्गा भाडामा लिएर ३५०० सय कुखुरा अट्ने पोल्टी फर्म सञ्चालन गर्न थाले । र उनले तरकारी खेती पनि गर्न थाले । सामाजिक काम र विभिन्न सचेतना अभियानमा लागेका पिकेले व्यवसायको  जिम्मेवारीश्रीमतीलाई दिए । तर व्यवसाय ओह्रालो लाग्दै गयो र उनकी श्रीमती पोल्याण्ड लागिन् ।

आर्थिक अवस्था सुधारका लागि पोल्याण्ड गएकी श्रीमतीले पिकेलाई पनि विदेश आउन आग्रह गर्न थालिन् । देशमै केहि गनुपर्छ भनेर लागेका पिकेलाई सो कुरा पाच्य भएन् । तत्पश्चात उनीहरुको पारिवारिक सम्बन्ध बिग्रियो । पथ प्रदर्शकको काम गर्दा नै उनी ६००० मिटर हजार भन्दा माथिका हिमाल आरोहण गरिसकेका थिए । सानैदेखि पृथ्वीप्रति चिन्तित हुने पिके सरसफाईमा जोड दिन्थे ।

विश्वकै सर्वोच शीखर सगरमाथामा १९५३ देखि फालेको फोहोर अझै त्यहि नै रहेको बताउछन् उनी  । सरसफाई अभियानमा लागेका पिके २०६७ सालमा विभिन्न उतारचढावकाबीच सगरमाथाका आरोहण गर्न पुगे । त्यसक्रममा २० जनाको टोलीमा सामेल भएका पिकेलेसगररमाथाको फोहोर सरसफाई र लाश ओह्राल्न काम गरे ।

जीवनमा अनेकन दुख कष्ट आइपर्दा समेत अविचलित रुपमा अघि बढिरहेका पिकेलाई सगरमाथाको वृत्त चित्र बनाउने रहर जाग्यो र २०६८ सालमाहातमा क्यामेरा बोकेर  दोस्रोपटक सगरमाथा आरोहण गरे ।विभिन्न संघर्षका बावजुद समगरमाथाको आरोहण गरेका शेर्पाले त्यतिबेला लाश ओह्राल्ने काम गरे । दोश्रो पटक समगरमाथा आरोहण गरेर फर्किएका पिकेले अनन्त यात्रा नामक डकुमेन्ट्री निमार्ण गरेर आफ्नो इच्छा पूर्ति गरे ।

९ पटक हिमाल चढेका स्वर्गीय नाम्गेल शेर्पाबाट प्रेरित भएर हिमाल आरोहण गर्न थालेका पिकेले उनको लाश ओह्राल्न विभिन्न प्रत्यन नगरेका होइनन् ।  तथापी हालसम्म असफल छन् ।

उनी जीवनमा ३ पटक मृत्युको मुखबाट बचेको बताउँछन् । भन्छन्, सगरमाथाको टुप्पोमा अक्सिजन सकिँदा पनि बाँचे । अर्कोपटक सामाजिक काममा दौँडिदा मोटरसाइकल  दुर्घटनामा परेर पनि बाँचे । अनि पेटको आन्द्रा फुटेर गरिएको अप्रेशनमा २४ घण्टापछि होस आएर बाँचे ।’

संघर्षशील पिकेका १४ वषीय छोरा पनि छन् । बावु छोरा मिलेर ग्लोवल कन्सन्र्ट सेन्टर फर क्लाइमेट चेन्ज नामक संस्थाबाट विश्वकै सातै वटा महादेशको उच्च हिमाल आरोहण गर्ने तयारी गरिरहेका छन् । भन्छन्, ‘बावु छोरा जलवायु परिवर्तनको महाअभियान लिएर सातैवटा महादेशको अग्ला हिमाल आरोहण गर्ने तयारीमा जुटेका छौँ ।’ साथै उनको नेतृत्वमा टानको आयोजनामा धौलागिरी सरसफाई अभियानमा छिट्टै जाने तयारी पनि भइरहेकोे छ ।

यस्तै महिलाहरुले घरको मात्रै होइन सगरमाथाको पनि सफाई गर्न सक्छन् भन्ने सोचका साथ सन् २०१९ मा एभरेष्ट क्लाम्बस फर विमेन कन्फिडेन्स एण्ड क्लिनिङ क्याम्पियनको नेतृत्व गर्दैैछन् ।

अभियानकर्ताको  रुपमा जीवन समपर्ण गर्ने योजनामा रहेको ४० वर्षीय पिके शेर्पाको जीवनी कक्षा सातको मीठो नेपाली श्रृंखला भन्ने नेपाली पुस्तकमा प्रकाशित छ ।

जलवायु परिवर्तको अभियानकर्ता पिके भन्छन्, ‘हाम्रो गौरव हाम्रो शान, जीव प्राणीका लागि हिउ बचाउँ भन्ने नारासहित हिमाल जोगाउने अभियानमा अघि बढ्ने छु ।साथै हिमालको वकालतमा लाग्ने छु ।सायद, मेरो जीवन यसैमा व्यतित हुन्छ ।’

उनलाई विदेश जानका लागि थुप्रै प्रस्ताव नआएका होइनन् । ५० लाख भारतीय रकममा जीवन कथा सुनाउनका लागि प्रस्ताव पनि आयो पिकेलाई । तर उनले ती प्रस्ताव अस्वीकार गरे । भन्छन्, ‘राष्ट्रप्रेमले गर्दा ती काम गरिन्ँ ।’

प्रतिक्रिया दिनुहोस्